जोन डिलिंगर: जसले लुटपाट र हत्या गरी नागरिकलाई त्राशमा राखे

सन् १९२० काे दशकमा अमेरिकाले व्यापक आर्थिक मन्दीकाे सामना गरिरहेको थियो। सबै राज्यमा निषेधाज्ञा थियाे। सबैतिर चाेरी, डकैती तथा हत्याकाे बढ्दाे रूप। त्यसमाथि पत्रपत्रिकामा बन्ने समाचारकाे हेडलाइनले मानिसहरूमा त्राश उत्पन्न भएकाे थियाे।

समाचारमा हेडलाइनकाे पात्र बनेका मेसिन गन केली, बेबी फेस नेल्सन, अल क्यापोन र बोनी-क्लाइड जस्ता 'गुण्डा'हरू दैनिक रूपमा झन सक्रिय बन्दै थिए। इन्डियाना राज्यमा पनि यी अपराधीहरूकाे चङ्गुलबाट काेही मुक्त थिएनन्। जसका नाइके थिए, जोन हर्बर्ट डिलिंगर।

जोन हर्बर्ट सन् १९३० काे दशकमा इन्डियानाकाे सबैभन्दा कुख्यात चाेर थिए। उनले छाेटाे समयमा अमेरिकी बैंकहरूमा लुटपाट मच्चाउनेदेखि मान्छे मार्नेसम्मका अपराध गरे।

जोनकाे जन्म सन् १९०३ मा अमेरिकाकाे इन्डियानाकाे एक मध्यम वर्गीय परिवारमा भएकाे थियाे। जब जाेन तीन वर्षका थिए, उनकी आमाकाे दुर्घटनामा परी निधन भयाे। आमाकाे मृत्युपश्चात विक्षिप्त बनेका जाेन असामान्य बन्न थाले। उनी एक्लै बस्न रूचाउने, एकाेहाेराे कराइरहने गर्थे।

उनले पढाइ पनि छाडे। उनी झन बेचैन बन्न थाले। जाेनकाे यस प्रकारकाे व्यवहार देखेर उनका बुवाले इन्डियानामा रहेको आफ्नो सम्पत्ति बेचेर परिवारलाई मूरेस्भिल नजिकै फार्म हाउस किनेर त्यहीँ बस्न थाले। तर जाेनले फरक परिवेशमा पनि बस्न रूचाएनन्। उनी घर छाडी जंगलमा गएर बस्न थाले।

घर छाडेपछि जाेन अमेरिकी नाैसेनामा भर्ना भए तर उनकाे मनस्थिति भने फरक थियाे। उनी चाेरी गर्ने मनसायका साथ नाैसेनामा भर्ना भएका उनकाे याेजना सफल भएन। त्यसपछि उनी जागिर छाडेर घर फर्किए।

त्यसपश्चात उनी पुन: जागिरकाे खाेजीमा लागे। तर जाेनले कतै काम पाउन सकेनन्। अन्त्यमा उनी एक लुटेराकाे ग्याङमा आवद्ध भए। जाेन विभिन्न याेजनासहित इन्डियानाकाे पसल लुट्न गएका थिए। तर उनी पहिलाे पटकमै पक्राउ परे।

उनीमाथि मुद्धा चल्याे र साढे ८ वर्षसम्मकाे सजाय पाए। चाेरी मुद्धामा ७ वर्षकाे जेल जीवन कटाएर बाहिर निस्किएका जाेनकाे चाैतर्फी बदनामी भइसकेकाे थियाे। तर उनले बदनामीकाे कुनै मतलब नगरी ब्लफटन, ओहायोमा फेरि एक बैंक लुटे। त्यसपछि उनी पुनः पक्राउ परे।

डेटन पुलिसले जाेनलाई मुद्धा पेशीकाे पर्खाइमा ओहायोको काउन्टी जेलमा राखेकाे थियाे। तर जब उनकाे मुद्धा पेशीकाे दिन आयाे, तब उनी जेलबाट फरार भए। त्यहाँ एउटा चिठी मात्र थियाे, जसमा जेलबाट भाग्ने सम्पूर्ण याेजना थियाे।

सुरूमा त प्रहरीले उनीहरूकाे बारेमा कुनै सुराक पत्ता लगाउन सकिरहेकाे थिएन। तर जाेनसँगै राखिएका एक जना व्यक्ति देखा परे, त्यसपश्चात भने जाेन पुन: समातिए र पेशीकाे लागि अदालतमा लगिए।

जब न्यायाधीशले जाेनकाे मुद्दा हेर्दै थिए, उनका ग्याङमध्येकै एकजनाले ती न्यायाधीशलाई गाेली हानेर घाइते बनाए। त्यसपछि उनीहरूकाे ग्याङ झनै सक्रिय बन्दै गयाे। कहिले बैंक लुट्ने त कहिले पुलिसका बन्दुकहरू लुटेर जनताहरूमा त्राश मच्चाइरहे।

उक्त गिराेह यति शक्तिशाली बन्दै थियाे कि उनीहरूले प्रहरीकाे समेत हत्या गरी बाटाे पन्छाइरहेका थिए। यसपश्चात जाेनकाे समूहले इन्डियानामा मात्र सीमित नभई फ्लाेरिडा, एरिजोनामा पनि लुटपाट गर्न थाल्याे।

उनीहरूकाे ग्याङकाे लुटपाट तथा हत्याहिंसा बढ्दै जान थालेपछि अमेरिकी सिआभीले व्यापक रूपमा खेजी गर्न थाल्याे। त्यसपछि उनीहरूकाे अड्डाबारे पत्ता लग्याे।

जाेनकाे ग्याङ म्यानहट्टन मेलोड्रामा थिएटरमा थियाे। पुलिसले चारैतिरबाट उनीहरूलाई घेरा हाल्याे र काेही भाग्ने काेसिस गरे मात्र पनि गाेली चलाउने चेतावनी दियाे। तर जाेन प्रहरीकाे भनाई बेवास्ता गर्दै भाग्रे काेसिसमा लागे। प्रहरीले त्यति नै बेला जाेनलाई गाेली हान्याे। उनी भुइँमा लडे। जाेनलाई त्यसैदिन अस्पतालले मृत घाेषणा गर्याे।

प्रकाशित मिति: : 2023-04-12 20:32:00

प्रतिकृया दिनुहोस्