मुगुकाे हिमपहिरोमा परेका १२ जना प्रहरीको सम्पर्कमा

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

यार्सागुम्बा टिप्नलाई मुगुका पाटन गएका जुम्ला पातरासी -२ का १४ जना च्यार्खु लेकमा हिमपहिरोमा परेका थिए। उनीहरु मध्ये १२ जना प्रहरीको सम्पर्कमा आएका छन्। 

उनीहरु दुई दिन लगाएर जिल्ला प्रहरी कार्यालय मुगुको सम्पर्कमा पुगेका हुन्। वैशाख ११ गते घरबाट यार्सा टिप्न पाटनतिर निस्केका उनीहरु वैशाख २२ गते हिमपहिरोमा परेका थिए। 

हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता रहेका मुगुका डिएसपी सुदर्शन पन्थीले जानकारी दिए। 

'पूर्णसिंह सार्कीको शव भेटिएको भनेर सम्पर्कमा आउनेबाट जानकारी मिलेकाे छ,' उनले भने, 'अब यताबाट टाेली उद्दारकाे लागि हिडिसकेकाे छ।'

तारासिंह सार्की र वीरबहादुर बोहोरा अझै बेपत्ता रहेका छन्। पूर्णसिंह र तारासिंह सार्की एकै घरका दाजुभाइ भएकाे आफन्त समीर नेपालीले बताए।

'एकै घरका पाँच जना यार्सा टिप्न गएकोमा दुई जना हिमपहिरोमा बेपत्ता भएका छन् भनी खबर आएकाे छ,' उनले भने, 'पूर्णसिंह सार्की, तारासिंह सार्की, प्रकाश सार्की, हर्क सार्की र रमेश सार्की पाटन गएका सबै एकै घरका हुन।'

आफूहरु हिँडेको बाटो भन्दा झन्डै डेढ सय मिटर माथिबाट हिमपहिरो आएकोले फुत्कन नपाएको यार्सा टिप्ने गएको टोलीमै रहेका कन्न सार्कीले बताएका छन्। उनका अनुसार पहिले पनि यार्सा टिप्न जाँदा त्यही बाटोको प्रयोग गरेर जाने गरिएको थियो।
 

प्रकाशित मिति: : 2023-05-07 10:51:00

प्रतिकृया दिनुहोस्