दाङको थारु संग्राहलय: कसरी बन्यो पर्यटन र अनुसन्धनको केन्द्र ? 

अवलोकनका लागि चहलपहल बढ्दै

पर्यटन र अनुसन्धानको केन्द्र बन्दै गएको दाङको दंगीशरण गाउँपालिका– ३ मा रहेको थारु संग्राहलयमा दैनिक दर्जनौँको संख्यामा मानिसहरु पुग्ने गरेका छन। थारु संस्कृति बुझ्न यहाँ पर्यटक तथा अनुसन्धानकर्ताहरु पुग्ने गरेका छन।

कोरोना महामारीपछि थारु संग्राहलयमा पुग्नेको संख्यामा कमी आएको भए पनि अहिले क्रमश: पर्यटकहरु बढ्दै गएका छन। तुलसीपुर बजारदेखि पश्चिम (दक्षिण)मा रहेको यो संग्राहलयमा थारु समुदायको दैनिक जीवनमा प्रयोगमा आउने (जन्मेदेखि मृत्युसम्मका संस्कारमा चाहिने) सामाग्रीहरु छन।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले थारु संग्राहलयको प्रचारप्रसारमा थप सहयोग पुगेको छ। सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतमा देखेरै संग्राहलय अवलोकन गर्न आउनेहरु धेरै छन। कञ्चनपुरबाट संग्राहलय अवलाेकन गर्न आएकी गीता चौधरीले फेसबुकबाट संग्राहलयको बारेमा थाहा पाएको बताइन। ‘संग्राहलयको बारेमा फेसबुकमा देखेकी थिएँ। त्यसपछि हेर्ने इच्छा जाग्यो,’ गीताले भनिन्, ‘सामाजिक सञ्जालमा देखेको दृश्य आज आफ्नै आँखाले देख्दा रमाइलो लागेको छ।’

संग्राहलयमा थारु समुदायको भूयारथान (मन्दिर) कसैको घरमा पाहुना आउँदा वा गाउँभरिका मान्छे जम्मा हुँदा छलफल गरिने ठाटीघर (सामुदायिक भवन) र एक गाउँदेखि अर्को गाउँ वा खेतबाट घरसम्म पुग्नको लागि बनाइएको लरु (बयलगाडा) लगायतका विभिन्न गरगहना लत्ताकपडा देख्न सकिन्छ। दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर, चितवन, मोरङ लगायतका थारुहरुले प्रयोग गर्ने सबै सामान संग्रहालयमा छन।

थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०७५ सालमा संग्राहलय स्थापना गरिएको हो। संग्राहलयमा प्रदेश सरकारसँगै स्थानीय सरकारको लगानी रहेको छ। हालका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ‘ब्याक वार्ड सोसाइटी एजुकेसन (बेस)’को अध्यक्ष हुँदै गर्दा उनको अगुवाइमा संग्राहलय स्थापना भएको हो।

विशेष गरेर थारु समुदायका ब्यक्तिले सिकेका सिपलाई तालिम दिई दक्ष बनाएर उनीहरुले उत्पादन गरेका सामान गाउँ–गाउँमा पुर्‍याउने गरी काम गरेको थारु सांस्कृतिक संरक्षण केन्द्र तथा थारु संग्रहालय दंगीशरणका अध्यक्ष राजेश चौधरीले बताए। सुरुवाती दिनहरुमा सामाग्री खोज्नको लागि हरेको ठाउँ भौतारिएको अध्यक्ष चौधरीको अनुभव छ।

धेरै संघर्ष गरेर बनाइएको संग्रालयले पर्यटकको मन जितेपछि अहिले खुसी दिन थालेको उनी बताउँछन। उनकाअनुसार शून्य लगानीबाट संग्राहलय स्थापना गर्न चालिएकोमा बिस्तारै सहयोग माग्दै जाँदा अहिले थप व्यवस्थित भएको छ। पर्यटकहरुको आवागमन बढ्न थालेको छ।

संग्राहलय व्यवस्थापन गर्ने कर्मचारीको पारिश्रमिकका लागि घुम्न आउने पर्यटकसँग शूल्क लिन थालिएको छ। संग्राहलयमा १९ जना कर्मचारी रहेका छन। उनीहरुको पारिश्रमिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँका दरले प्रवेश शुल्क लिइने गरिएको छ। जेष्ठ नागरिक, विद्यार्थी, अशक्त, फरक क्षमता भएका र एकल महिलाको लागि ३० रुपैयाँ टिकट छ।

संग्रहालयभित्र प्रवेश गरिसकेपछि, थारु ड्रेस, थारु खानाको परिकार, थारु समुदायले उत्पादन गरेका हस्तकला, कोशेली इच्छाअनुसार किन्न, खान, ड्रेस लगाएर फोटो खिच्न सक्ने व्यवस्था छ। संग्राहलयमा दाङलगायत रोल्पा, रुकुम, प्युठान, सल्यान, बाँके, बर्दिया, बुटवल, कैलाली कञ्चनपुर, चितवन, मोरङलगायत जिल्लाका मानिस अवलोकनका लागि आउने गरेका छन।

संग्राहलयमा अवलोकन मात्र नभएर अध्ययन, अनुसन्धान गर्न पनि आउनेहरु धेरै रहेको थारु सांस्कृतिक संरक्षण केन्द्र तथा थारु संग्रहालय दंगीशरणका अध्यक्ष राजेश चौधरीले बताए। उनले आगामी दिनमा पूर्वदेखि पश्चिमसम्मका थारुहरुका रीतिरीवाजलाई समेटेर अध्ययन, अनुसन्धान केन्द्रकै रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए।

देशभर धेरै किसिमका थारुहरु रहेको भन्दै दङ्गहा थारु, देउखर्‍या थारु, राना, कठर्‍या, डगौरा, चितवन्या र मोरङञ्या थारुहरुको कला संस्कृति, भाषा, गरगहना, खानपानलाई समेटेर अनुसन्धान केन्द्र बनाउने अध्यक्ष चौधरीको भनाइ छ।

पछिल्लो समय संग्राहलयमा संरचना थपिँदै जानु र सम्पत्ति बढ्दै जाँदा सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ। संरचनाहरुलाई सुन्दर बनाउन तारबार भएको छ तर घुम्न आउनेले संरचना छुने, चलाउने, भाँचिदिने (नोक्सानी) गर्दा कतिपय सामान मर्मत गर्न समस्या भएको छ।

साढे पाँच बिगाह क्षेत्रफलमा फैलिएको संग्राहलयमा गत वर्ष १ करोड ६५ लाखमा काम भएको थियो। यस वर्ष पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले १ करोड ५ लाख उपलब्ध गराएको संग्रहालयका व्यवस्थापक शान्ता चौधरीले जानकारी दिइन। अहिले थारु संग्रहालयमा दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन। चाडपर्व र शनिबारको दिन दैनिक ५–७ सयसम्म पर्यटक अवलोकन गर्न आउने गरेका छन।

कोरोनाभन्दा पहिलेको समयमा वार्षिक करिब १ लाख पर्यटक अवलोकन गर्न आउने गरेका थिए। कोरोना पछिका वर्षमा पर्यटक घटेर वार्षिक ७० देखि ८० हजार घुम्न आउने गरका छन्।

प्रकाशित मिति: : 2023-05-07 12:25:00

प्रतिकृया दिनुहोस्