मन्त्रीको आडमा ‘सम्पर्क अधिकृत’को दादागिरी, सगरमाथामा विदेशीको मनपरी

जीवन डाँगी

काठमाडौं
BreaknLinks
BreaknLinks

वैशाख १० गते अमेरिकी नागरिक ड्यारेन जोन सगरमाथाको तेस्रो शिविरबाट प्याराग्लाइडिङ गरेर आधार शिविरमा झरे। सेभेन समिट ट्रेक्समार्फत सगरमाथा हिमालचुली आरोहणको अनुमति लिएका उनले प्याराग्लाइडिङको अनुमति लिएका थिएनन्।

नेपालको पर्यटन कानुनअनुसार आरोहीले प्याराग्लाइडिङ गर्न चाहे आरोहण बाहेक थप ११ हजार अमेरिकी डलर रोयल्टी तिरेर अनुमति लिनुपर्छ। नलिए अवैध कार्य हुने भएकाले कारबाही योग्य हुन्छ। तर आरोहीका गतिविधि अनुगमन गरेर नियम–कानुन उल्लंघन गरेको पाइएमा कारबाही गर्ने र आरोहण व्यवस्थापनको जिम्मेवारी पाएका सम्पर्क अधिकृत आधार शिविरमा नहुँदा विदेशीले गरेको मनपरी रोक्ने कोही नभएको अधिकारीहरू बताउँछन्।

सेभेन समिट ट्रेक्स कम्पनीको सम्पर्क अधिकृत तोकिएका डिजन भट्टराई (उपसचिव) भने त्यतिखेर सगरमाथाको आधार शिविरमा थिएनन्। सम्पर्क अधिकृत नभएपछि अमेरिकी नागरिक ड्यारेनले आधार शिविरमा वितण्डा मच्चाएको अधिकारीहरू बताउँछन्।

आधार शिविरबाट झरेलगत्तै ड्यारेनले ‘गिभ मी बियर’ भन्दै हो–हल्ला गरे। हिमाल सफाइ अभियानका लागि आधार शिविर पुगेको नेपाली सेनाले उनको प्याराग्लाइडिङ गियर जफत गर्‍याे। स्रोतकाअनुसार उनीहरूले नै पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेललाई ‘ड्यारेनको रबैया’बारे जानकारी गराएका थिए। त्योबेला सम्पर्क अधिकृत तोकिएका पर्यटन मन्त्रालयका उपसचिव भट्टराई आरोहण दल र विभागका महानिर्देशकको सम्पर्कमै थिएनन्।

पर्यटन विभागले सो आरोहण दलको लागि भनेर पर्यटनमन्त्री सुदन किराँतीको स्वकीय सचिवको रुपमा काम गरिरहेका भट्टराईलाई सम्पर्क अधिकृत नियुक्त गरिएकाे थियो। सम्पर्क अधिकृत भएवापत उनले २५ सय डलरसमेत बुझिसकेका थिए। तर डलर बुझेर पनि उनले आधार शिविर पुगेर खटाएको काम गरेनन्।

अनुमतिबेगर प्याराग्लाइडिङ गरेका विदेशी नागरिक ड्यारेनलाई पर्यटन मन्त्रालयले सगरमाथा हिमालचुली आरोहणको लागि लिएको परमिट रद्द गरेर तत्कालै अमेरिका पठाइदिने बताएको थियो। तर भट्टराईले विभागलाई त्यस्तो कुनै कठाेर निर्णय लिन दिएनन्। उनले पर्यटनमन्त्री किराँतीलाई समेत प्रभावमा पारे।

मन्त्रीको दबाबपछि ड्यारेनलाई तत्काल डिपोर्ट गर्ने बताउँदै आएकाे विभाग आफ्नाे अडानबाट पछि हट्यो। पर्यटन विभागका निर्देशक युवराज खतिवडाले अहिले आएर अमेरिकी नागरिक ड्यारेनको परमिट रद्द गरेर फेरि अर्को परमिट जारी गरेर उनलाई सगरमाथा आरोहणकाे अनुमति दिएको बताएका छन्।

‘अमेरिकी नागरिक ड्यारेन जोनले आरोहणको क्रममा गैरकानुनी काम गरेपछि उनको परमिट रद्द गरिएको छ। उनले नयाँ परमिटबाट आरोहण गर्न चाहेपछि फेरि ११ हजार डलर तिरेर जानुपर्ने हुन्छ,’ निर्देशक खतिवडाले भने।

विगतमा आरोहीले अवैध गतिविधि गरेमा आरोहण रद्द गरेर नेपालबाट निकाला गरिदिएको विभागका पूर्वकर्मचारी बताउँछन्। त्यस्तो अवस्थामा आरोहण कम्पानीलाई पनि ठूलो जरिवाना गर्नेुपर्ने कानुनी व्यवस्था छ। तर सम्पर्क अधिकृत भट्टराईले आरोहणको जिम्मा लिएको कम्पनी सेभेन समिटको प्रलोभनमा मन्त्रीलाई प्रभावित गरेर अवैध कार्य गरेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्न दिएनन्। उनले न त कम्पनीलाई कारबाही गर्ने कुनै निर्णय लिए।

‘यो घटनालाई राम्रोसँग नियालिरहेका छौँ। कानुनले नगर भनेको काम गर्ने व्यक्ति र कम्पनीलाई सामान्य चेतावनीले मात्र पुग्दैन। तर, यहाँ जे गरेपनि हुन्छ भन्ने मनोविज्ञान हाबी भएजस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘हामीकहाँ कम्पनीबाट आर्थिक लाभ लिने, स्थलगत रिपोर्टिङ नगर्ने, मन्त्रीको सचिवालयको मान्छे हुँ भन्दै फुर्तिफार्ती देखाउने, कम्पनीकै हेलिकप्टर चढेर आधार शिविर पुगेजस्तो गर्ने, आधार शिविरबाट मोडलिङ गरेर फर्किने जस्ता गलत प्रवृति पनि छन्।’

सगरमाथाको तेस्रो शिविरबाट अनुमतिबिनै प्याराग्लाइडिङ गरेका ड्यारेनलाई सगरमाथामा प्रतिबन्ध र सेभेन समिटको परमिट रद्द गर्नुपर्ने पर्यटन विभागका एक अधिकारीले बताएका छन्। ‘घटनालाई सामान्यकरण गरिनु हुँदैन। गल्ती गरेपछि कारबाही भोग्नुपर्छ,’ ती अधिकारीले भने।

वैशाख १० गते ड्यारेनले अनुमतिबिना प्याराग्लाइडिङ गरेको दुई दिनपछि सम्पर्क अधिकृत भट्टराई आधार शिविर पुगेर फर्किएको पर्यटन विभागका अधिकारी खतिवडाले दाबी गरेका छन्। तर विभागकै अर्का अधिकारी भन्छन्, ‘खतिवडाको दाबी गलत छ। सायद उहाँलाई डर लाग्यो होला, डिजनजी नाम्चेभन्दा माथि उक्लिएका छैनन्। उनी तीन–चार दिन नाम्चेमै बसे। विभागले कसरी भन्न सक्छ सम्पर्क अधिकृतले फिल्डमै गएर रिपोर्टिङ गरे भनेर?’

आधार शिविर नपुगी नाम्चेबाटै काठमाडौँ फर्किएका सम्पर्क अधिकृत भट्टराईले ड्यारेन र एजेन्सी सेभेन समिटबारे मौखिक टिप्पणी गरेपनि हालसम्म विभागमा प्रतिवेदन बुझाएका छैनन्। उनले मौखिक बयान दिएकै भरमा पर्यटनमन्त्रालयले सेभेन समिटलाई एउटा सामान्य सचेत पत्र थमाएको छ। स्रोतकाअनुसार टीम लिडरलाई पनि सचेत गराएको छ।

‘सम्पर्क अधिकृतजस्तो व्यक्तिले गैरजिम्मेवार काम गर्न मिल्दैन, त्योपनि मन्त्रीको आडमा। हेलिकप्टर चढेर सोलु पुगे तर मोडलिङ गरेर फर्के। योभन्दा लाजमर्दो हर्कत के हुन्छ,’ पर्यटक विभागकै अधिकृतले भने, ‘नामको मात्रै छानबिन समिति बन्यो। गहिरिएर अनुसन्धानसमेत गरेनन्। आधार शिविरमा पनि पुगेनन्।’

ड्यारेनलाई कारबाही र कम्पनीलाई सचेत बनाएको पर्यटन विभागले अवैध गतिविधि गरेको निष्कर्ष निकालेर सम्पर्क अधिकृत डा. भट्टराईमाथि छानबिन गरिरहेको छ। तर उनीमाथि कारबाही हुनेमा विभागकै सिनियर अधिकारी शंका व्यक्त गर्छन्।

‘सम्पर्क अधिकृत आधार शिविर जानका लागि काठमाडौँबाट मुभ हुनुभएको थियो। तर उहाँ त्यहाँ पुग्नुभयो या पुग्नुभएन भन्नेबारे खोजी गछौँ,’ निर्देशक खतिवडाले भने, ‘उहाँले हामीलाई प्रतिवेदन पनि बुझाउनुभएको छैन। आधार शिविरमा पुगेर फर्किनु भएको हो कि नपुगेर फर्किनुभएको भन्ने त्यसपछि थाहा हुन्छ।’

सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही गरिनेछ। विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो, भिडियो विभागमा बुझाउनुपर्छ भनिएको छ।

आधार शिविर नपुगेको भेटिएमा उपसचिव भट्टराईलाई नियामावलीअनुसार कारबाही गरिने विभागका अधिकारी खतिवडाको दाबी छ। अघिल्लो पटक आधार शिविर नपुगेका १५ जना सम्पर्क अधिकृतलाई विभागले कारबाही गरेकोसमेत उनले जनाएका छन्।

अमेरिकी नागरिक ड्यारेनले प्याराग्लाइडिङ गरेलगतै आफूले नै नेपाली सेनाको सहयोगमा विभागलाई त्याे सूचना दिएको सम्पर्क अधिकृत भट्टराईले दाबी गरेका छन्। ‘सबै मन्त्रालय र नेपाली सेनाको टीम बेस क्याम्पमा बसिरहेको छ। हामीहरू नियमित रुपमा सम्पर्कमै थियौँ,’ उनले भने, ‘सेनाको कर्लेलले ड्यारेन जोनले प्याराग्लाइडिङ गरेको मलाई जानकारी दिनुभयो। त्यो मान्छे, मैले हेरिरहेको समूहको एकजना सदस्य रहेछ।’

ड्यारेनले अनुमति बेगर प्याराग्लाइडिङ गरेको खबर सुन्दा आफू काठमाडौँमै भएकाे उनले बताएका छन्। लगतै उनले तीन–चार दिनमा आधार शिविरका पुगेको दाबीसमेत गरेका छन्। ‘म शिविर पुगेको हुँ। मैले विभागमा रिर्पोटिङ गर्नेछु। मानिसहरूले बाटाबाटामा जे–पनि भन्छन्। सत्य कुरा त आफैँलाई थाहा हुन्छ,’ भट्टराईले भने, ‘आधार शिविरमा म धेरै बसिनँ। एक/डेढ घण्टा बसेँ। नाम्चेमा एक/डेढ दिन बसेँ, अनि हेलिकप्टरबाट आधार शिविर गएँ।’

माओवादीनिकट भट्टराई मन्त्रीको आडमा पर्यटन मन्त्रालयमा सबै माथि शासन गरिरहेका छन्। सगरमाथा आरोहणको सिजन चलिरहेको बेला पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेललाई सरुवा गरेर माओवादीनिकट चक्रबहादुर बुढालाई ल्याएका छन्।

तर उनले महानिर्देशक सरुवामा आफ्नो भूमिका नभएको दाबी गरेका छन्। ‘विचरा म एउटा उपसचिवले एउटा सामान्य कर्मचारीले महानिर्देशकको सरुवा भन्ने त बेकारको कुरा हो। आरोप त जेपनि लगाउन पाइन्छ। मान्छेहरूले भने होलान्, के–के भन्छन्,’ भट्टराईले भने।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा हिमालचुली आरोहणका लागि झण्डै पाँच सय जतिले आरोहण अनुमति लिएका छन्। हालसम्म ४० भन्दा बढी समूहले आरोहण अनुमति लिएका छन्। प्रत्येक समूहका लागि एकजना सम्पर्क तोकिएको भएपनि हालसम्म तीन जना मात्रै बसेर काम गरिरहेका छन्। बाँकी धेरै काठमाण्डौँबाट गएनन् भने केही आरोहण कम्पनीको हेलिकोप्टरमा केही मिनेट आधार शिविर दर्शन गरेर काठमाडाैँमै फर्किएका छन्।

प्रकाशित मिति: : 2023-05-16 21:30:00

प्रतिकृया दिनुहोस्