सिंजामा खाना महोत्सव

BreaknLinks
BreaknLinks

स्थानीय उत्पादनको उत्पादन, संरक्षण र बजारीकरणका लागि जुम्लाको सिंजामा खाना महोत्सवको आयोजना गरिएको छ।

महाेत्सवमा फापरको केक, फापरको रोटी, कोदोको रोटी, सिमीको गेडा, जौको रोटी, खुर्सानीको अचार, मार्सी चामलको भात र सिमीको दाल, स्थानीय कुखुरा र भेडाको मासु, पुदिनाको चटनी, फापरको कफी र चिया समेत राखिएको छ।

खाना महोत्सवले रैथाने खाद्यन्न उत्पादन गर्न किसानहरुलाई प्रोत्साहित गर्ने स्थानीय तिलाचन्द्र उपाध्यायले बताए।

'हामी अन्नको भण्डारमा हुर्कियौं। तर त्यही अन्न बजारसम्म सहजै पुर्‍याउन सकिरहेका छैनौं,' उनले भने, 'स्थानीय उत्पादनको प्रयोगले हुने फाइदाको बारेमा बुझेनौं। याे खाना महोत्सवले हाम्राे कृषि उत्पादनको महत्व र पोषणतत्वका बारेमा जानकारी दिएको छ।'

खाना महोत्सवमा सहभागी बन्न गाउँगाउँबाट किसानहरु नराकोट बजारमा झरेका छन्। कोदोको रोटी प्रतिगोटा २५ रुपैंयामा बिक्री भइरहेको छ। फापरको केक ३५० देखि ४ सय रुपैयाँमा बेच्ने गरेको उपाध्यायले बताए।

हरेक महिनाको १ गते हाटबजार चलाउँदै आएको सिंजाले जेठ १ गतेको दिनमा खाना महोत्सव आयोजना गरेको हो।

खाना महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परिवारहरुको स्वाद चखाउनेदेखि सांस्कृतिक प्रस्तुति देखाएर स्थानीय उत्पादनको संरक्षणमा लाग्न आग्रह गरिएको थियो।

मार्सी चामलको भात र दाल पकाएर खुवाइरहेकी स्थानीय होटल व्यवसायी रुपमा रोकायाले सिंजाको केन्द्र मानिएको नराकोटमा खाना महाेत्सव हुँदा स्थानीय उत्पादन र त्यसकाे उपयाेगिताबारे छलफल भइरहेकाे बताइन्।

'बजारका अधिकांश व्यवसायीहरु खाना महोत्सवमा सहभागी बनेर स्थानीय उत्पादन र परिकारहरुको प्रदर्शन गरिरहेका छन्,' उनले भनिन्, 'नयाँ परिकार बनाउनेले त्यसकाे उपयाेगिताबारे पनि छलफल चलाइरहेका छन्।'

रैथाने बालीहरु लोप हुँदै गइरहेको र आयातित खाद्यन्नले हाम्रो दैनिकी धानिरहेकाे गाउँपालिका उपाध्यक्ष सितली राेकायाले बताइन्। उनले भनिन्, 'आयातित खानाले जुम्लाबासीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको देखिन्छ,' उनले भनिन्, 'अब खाना महोत्सवले रैथाने खानाको महत्व बाेध गराएको छ।'

गाउँपालिकाले पनि बाँझो जमिन उपयोग गर्ने नीति लिएको छ। खाना महोत्सवमा सिंजा, कनकासुन्दरी, हिमा सँगै जुम्ला सदरमुकाम खलंगाबाट पनि मानिसहरु सहभागी भएका छन्।

आधा दर्जन स्टलहरु राखिएको महोत्सवमा स्थानीय पहिरनमा सांस्कृतिक देउडा, झाँकीहरु र सडक नाटक देखाइएको थियो।

आयतित खाद्यान्न गाउँबस्तीसम्मै पुगेकोले किसानहरुले खेती छाडेको, वास्तविक किसानहरुले अनुदान नपाउँदा सरकारी रकम दुरुपयोग भएको, रैथाने उत्पादन बजारसम्म पुग्न नसकेको र किसानको हक अधिकार गुम्सिएर बिचौलियाको हातमा कृषि क्षेत्र परेकोले समस्या भइरहेको महोत्सवमा आएका किसानहरुले गुनासो गरेका छन्।

उत्पादनमा ध्यान नदिँदा एक दिन देखाउने अन्न पाउन कठिन भएकाे सिंजा-४ का धनबहादुर बुढाले बताए। उनले भने, 'वर्षभर खाने अनाज कहाँ पाउने हो? स्थानीय सरकारले किसानमैत्री नीति बनाएर तल्लो तहका किसानहरुको मर्का बुझ्नुपर्ने हुन्छ।'

प्रकाशित मिति: : 2023-05-16 17:47:00

प्रतिकृया दिनुहोस्