शोषणविरुद्ध ४ वर्षदेखि सङ्घर्ष गरिरहेकी बिनुको चित्कार– न्याय नपाए बाँच्ने अवस्था छैन

सिराहाकी बिनु यादव विगत नौ दिनदेखि माइतीघर मण्डलामा आमरण अनशनरत छिन्। उनले आफूमाथि भएको बलात्कार र रामेछाप जिल्ला अदालतले गरेकाे सम्बन्धविच्छेदको फैसला बदरकाे माग गर्दै भाैँतारिएको पनि चार वर्ष भइसक्यो। तर चार वर्ष बितिसक्दा पनि न्याय नपाएपछि भने बिनु आफ्नो कुनै प्रवाह नगरी आमरण अनशनमा उत्रिएकी हुन्।

आफूमाथि भएको शोषणको कुनै पनि तहबाट न्याय नपाएको भन्दै बिनुले ५ बुँदे माग राखेकी छन्। २०७५ मा उनीमाथि भएको जबरजस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन डिएसपी (सुरज कार्की) लाई निलम्बन गरी कारबाही गर्नुपर्ने, बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गर्ने, बेवारिसे बनाउने र इच्छाविपरीत सम्बन्धविच्छेद गराउने, न्यायबाट बञ्चित गराउने न्यायाधीश बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने माग गरेकी छन्।

त्यसैगरी उनले पटकपटक बलात्कारको प्रयास गर्ने पवन कठायतमाथि कारबाही गरिनुपर्ने, आपराधिक क्रियाकलापबाट जोगिन सुरुमा बिहे गर्ने र सजिलै उन्मुक्ति पाउन सम्बन्धबिच्छेद गर्ने प्रदीप कठायत तथा आफ्नो मुद्धामा कमजोर अनुसन्धान गरिएकाले सुरुदेखि नै अनुसन्धान हुनुपर्ने माग राखेकी छिन्।

०००

न्यायको माग राख्दै आमरण अनशनमा रहेकी बिनु प्रदीपको कुनै धम्कीबाट नडराउने बताउँछिन्। ‘अनशनरत रहँदा मलाई प्रदीपका पक्षबाट धम्की नआएको पनि होइन, तर म डराउँदिन’, उनले भनिन्, ‘जति डराउनु छ डराएँ, उनीहरुको हिंसा धेरै सहेँ। उनीहरुले जिल्लामा नै १५ लाख खर्च गरेर आफ्नाे पक्षमा फैसला आएको बताएका छन्। अब उच्चमा ५० लाख खर्च गर्नुपरे पनि गर्छु भनेका छन्। तर म हार मान्दिनँ।’

उनी आफूले न्याय पाउनुपर्ने र न्याय नपाए बाँच्नुको कुनै अर्थ नभएको बताउँछिन्। ‘मेलै न्याय पाउनैपर्छ। उनीहरुलाई ठुलाे मान्छे भनेर जे गर्न पनि छुट छैन’, उनी भन्छिन्, ‘मेरो शरीर काम नलाग्ने भएको छ। मेरो जिन्दगी खत्तम बनाइदिए। अब मैले न्याय पाइनँ भने बाँच्नुको कुनै अर्थ नै छैन। म मरे सरह हुन्छु।’

अब बिनुको एउटै आशा छ, जिल्लाको अदालतले न्याय नदिएपनि उच्च अदालबाट न्याय पाउने।

०००

के थियो घटना?

सिराहा घर भएका बिनुकाे परिवार बसाइँ सरेर सोलुखुम्बु पुगे। उनका बुबा सोलुखुम्बुकै कृषि विभागमा काम गर्थे भने आमा भेटेनरीमा। बिनुका तीन दिदीबहिनी र एकजना भाई छन्। उनीलाई सबैकुरा पुगेकै थियाे। बिनु काठमाडौँमा बसेर पढिरहेकी थिइन्।

वि.स. २०६९ मा अचानक बुवाको मृत्यु भयाे। बुबाको मृत्युपश्चात भने बिनुले नै परिवारको लागि सबै खर्च जुटाउनुपर्ने बाध्यता आइलाग्याे। घर खर्च चलाउन बिनुले पढाउन थालिन्। यसै क्रममा एकदिन उनको भेट रामेछापका प्रदीप कठायतसँग भयाे।

पहिलो भेटघाटसँगै उनीहरु सामाजिक सञ्जालमा जोडिए। विस्तारै उनीहरु एकअर्काबीच नजिकिन थाले। कुराकानी नियमित जस्तै हुन थाल्यो। प्रदीप बिनुका हरेक कुरामा चासो राख्ने, भेट्ने तथा स–साना कुराहरुलाई समेत ध्यान दिन थाले। प्रदीपको यही स्वभाव मन परेको थियो, बिनुलाई।

प्रदीपको केयररिङ नेचर र परिवारप्रति गरेको माया देखेर प्रदीपसँग नजिकिएको बिनुको भनाई छ। ‘पहिला त म त्यति धेरै उसको वास्ता गर्दिन थिएँ, ऊ मेरो हरेक स–साना कुरालाई पनि ध्यान दिने गर्थ्याे’, उनी भन्छिन्, ‘उसको केयरिङको भने बानी परिसेकेको थियो। त्यसैले मेलै उसलाई सबै पारिवारिक कुरा भनेँ। त्यस कारण उसले मलाई अभिभावक जस्तै माया गर्न थाल्यो। जुन त्यस्तो माया मैले कहिल्यै पाएको थिइनँ। त्यसैले होला म ऊसँग नजिकिएँ।’

साथीको सम्बन्ध प्रेमी-प्रेमीकाे रुपमा परिणत भयो। प्रदीपले पनि बिनुलाई विवाह गर्ने बचनसम्म दिए। यसपछि उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयाे। यसै क्रममा बिनुको गर्भ बस्यो। बिनुले यसबारे प्रदीपलाई बताइन्। तर प्रदीप भने उक्त बच्चालाई जन्म दिने पक्षमा थिएनन्। उनले बारम्बार बिनुलाई फोन गरेर गर्भपतन गराउन भनिरहन्थे। तर, बिनु भने गर्भपतन नगराउने बताइरहेकी थिइन्।

बिनुलाई दैनिक स्वास्थ्य अवस्थाले दुःख दिँदै थियो। त्यसैले उनी स्वास्थ्य जचाउन महाराजगञ्ज शिक्षण अस्पातल गइन्। डाक्टरले बच्चा पाठेघरमा नबसी नलीमा बसेको हुँदा गर्भपतन गर्नुपर्ने र यदि नगरिए आमाको ज्यानैसमेत जोखिममा पर्ने बताए। त्यसकारण बिनुले चैत २० गते डाक्टरले भने अनुसार गर्भपतन गराइन्।

‘एकदिन धेरै पेट दुखिरहेको थियो। सहनै नसक्ने भएपछि भने म अस्पातल गएँ। अस्पताल पुगेपछि पो थाहा पाए बच्चा त दोब्रे पाठेघरकाे नलीमा बसेको रहेछ। अनि डाक्टरले अप्रेसन नगरे मेरो ज्यान नै जान सक्छ भने अनि अप्रेशन गराएँ। थाहा छैन, आमाले पैसा कहाँबाट ल्याउनुभयो। त्यसबेलासम्म पनि प्रदीप मेरो साथमा थिएन। मैले नै फोन गरेर बोलाएँ’, उनले भनिन्।

गर्भपतन गराएकाे भोलिपल्ट डिस्चार्ज भएपछि प्रदीपले बिनुलाई सिनामंगलको एक गेस्ट हाउसमा लगेर राखे। घरमा आफूहरुबारे कुरा बताउने भन्दै प्रदीप त्यहाँबाट निस्किए। बिनु प्रदीपले आफूलाई गेस्ट हाउसमा राखी बेपत्ता भएको र केही दिनपछि आएर जबरजस्ती गरेको बताउँछिन्।

‘उसले आमासँग हामीबाट गल्ती भयो म विवाह गर्न तयार छु भनेर अस्पतालबाट लिएर सिनामंगलको गेस्ट हाउसमा लगेर राख्यो। घरमा जानकारी गराउनुपर्ने भन्दै त्यहाँबाट हिँडे। त्यसपछि २४ गते मेरो टाँका काट्ने दिन थियो। तर ऊ कहाँ थियो, मलाई पत्तो थिएन’, उनले भनिन्, ‘२४ गते बिहानै आइपुग्यो र शारीरिक सम्बन्ध राख्न खोज्यो। म निरही थिएँ, अवस्था कमजोर थियो। धेरै प्रतिकार गरेँ तर उसले मलाई छाडेन। जसकारण पेटमा भएका टाँकाहरु खुस्कियो र रगत बग्न थाल्यो।’

प्रदीपले भर्याङबाट लडेर टाँका खुस्किएको भन्नु भन्दै अस्पातल लगे र उपचारपश्चात फेरि जडिबुटीको एक गेस्ट हाउसमा राखी प्रदीप बेखबर भए।

‘घरमा सबैकुरा भन्छु’ भनेर निस्किएको मान्छे बेखबर भएपछि बिनुलाई चिन्ता हुन थाल्यो। तर जब एकदिन बिनुले फेसबुकमा प्रदीप अरु केटीसँग नै रमाइरहेको देखिन्, त्यसपछि उनले आँखा देख्न छाडिन्। कहाँ जाउँ कसो गरुँ हुन थालिन्। आफ्नाे प्रेमी त्यसमाथि पनि त्यस्तो अवस्थामा अरु केटीसँग रमाइलो गर्दै हिँडेको देखेपछि उनी सहयोग माग्न प्रदीपको मामासमक्ष पुगिन्।

‘उसको मामा सुरज कार्की (हाल झापा अनारमनी ईलाका प्रहरी कार्यालयमा कार्यरत) डिएसपी भएकाले राज्यको एक जिम्मेवार ठाउँमा रहेको मान्छेबाट कसो मदत नहोला भन्ने हिसाबले मामासँग प्रदीपलाई सम्झाइदिनु भन्न गएकी थिएँ। तर त्यहाँ पुग्दा वातावरण विल्कुलै फरक भयो। प्रदीपका मामाले उल्टै तँ जस्ता त उसको कति धेरै छन्, तँ पैसामा बिक्ने केटी हो भनेपछि भने रुदैँ फकिएँ।’ उनले आफ्नो विगत बताइन्।

त्यसपछि उनी आफूविरुद्ध भएको शोषणकाे उजुरी गर्न बौद्ध, कपन, महाराजगञ्जका पुलिस चौकी धाउन थालिन्। तर कसैले पनि उनको उजुरी दर्ता गर्न मानेनन्। त्यहाँ प्रहरीले महिलाको केश हो भन्दै प्रहरी परिसर टेकु पठायो र टेकुले कालीमाटी महिला सेलमा पठायाे। त्यहाँ उनले प्रदीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिइन्।

जाहेरी दिएपछि पावरको आडमा आफ्नो मुद्धा कमजोर बनाउन खोजिएको बिनुकाे भनाई छ। ‘जब मैले प्रदीपविरुद्ध उजुरी दिएको उसको मामाले थाहा पायो, त्यसपछि उसले मलाई प्रलाेभनमा पार्न थाल्यो’, उनले भनिन्, ‘मामाले म बस्ने गरेको ठाउँमा आएर पैसाको बार्गेनिङ नगरेको पनि होइन। तर म आफ्नाे मुद्धामा अडिग रहेँ। त्यसपछि सुरजले महिला प्रहरी सेलको एक जना अधिकृतलाई सहमतिमा सम्बन्ध भएको भन्दै मुद्धा दर्ता नगर्न भन्यो। तर मैले सब प्रमाण दिएपछि भने प्रहरीले मुद्धा दर्ता गरिदिए।’

त्यसपछि पनि बिनुले चैनको आश फेर्न पाइनन्। केही दिनमा नै सुरज पेस्तोल देखाउँदै बिनुलाई तर्साउन उनकाे डेरामा पुगिहाले। ‘उजुरी फिर्ता लिन्छेस् कि तेरो भाइबहिनीलाई लागूपदार्थ ओसारपसारमा जेल हालिदिउँ। केटाहरु कसैलाई भन्यो भने तेरो भाइको ब्यागमा हिरोइन, चरेस हालिदिन्छन् र जेलमा गएर बस्छन्। तेरो बहिनी पढ्न स्कुल जान्छे, साँझमा घर फर्किने चान्स कमै होला। बाटोमा आजकाल गाडीहरु धरै हिँड्न थालेका छन्’, सुरजको भनाई उद्धित गर्दै बिनुले भनिन्।

उजुरी फिर्ता लिन सुरजले एकदिनको मात्र समय दिएका थिए। त्यसको भोलिपल्टै प्रदीपका परिवारले कालिमाटी लगी एउटा कागजमा हस्ताक्षर गराई चाबहिलमा लगेर छाडिदिएको र केही समयपछि ठिमीको घरमा लगी बन्धक बनाएकाे बिनु बताउँछिन्।

‘धम्की दिएको भोलिपल्ट उसको मामा, बुबा, ऊ र साथीले आमा र मलाई कालीमाटी प्रहरी सेलमा लगी कागजमा हस्ताक्षर गर्न लगाएका थिए’, उनले भनिन्, ‘तर त्यस कागजमा के के थियो मलाई थाहा थिएन, साइन गराएर मात्र छाडे। त्यसको केही दिनपछि २०७६ जेठ १९ गते ठिमीमा लगेर घरभित्रै बन्धक जस्तै बनाएर राखे। त्यहाँ म न कोहीसँग बोल्नै पाउँथेँ त न कतै जान नै। एकैचोटी मंसिर २५ गते कसैलाई थाहा नदिइ मेरो र प्रदीपको विवाह गराइदिए।’

बिनु श्रीमानको घर गएपनि त्यहाँ उसको हैसियत बुहारीको नभई नोकरसरह रहेको र काकाससुराले समेत जबरजस्ती गर्न खोजेको बताउँछिन्। ‘मैले धेरै जिद्धी गरेपछि मन्थली त लगे तर मलाई घरमा लगेनन्, काकाससुरा पवनको होटलमा लगेर राखिएको थियो। म त्यहाँ रातदिन होटलको काम गर्थेँ। त्यहाँ पनि काकाससुराले ममाथि दुर्व्यवहार गर्न थाले’, उनले भनिन्, ‘मैले यसबारे प्रदीपलाई भनेँ, प्रदीपले मलाई आफ्नाे घरमा लिएर गए। तर त्यहाँ मेरो हैसियत बुहारीको जस्तो भएन, एक नोकरको जस्तै भयो। सासुससुराले तँ प्लास्टिक टिप्नले किन हाम्रो छोरालाई फसाइस्। न तेरो कुनै इज्जत छ, न त हाम्रो बुहारी होस्। तँलाई त हामीले हदम्याद कटाउन मात्र लिएर आएका हौँ भनेर नराम्रा शब्द प्रयोग गर्ने गदर्थे।’

त्यहाँ रहँदा बिनु पुनः गर्भवती भइन्। बिनुले खुसी हुँदै प्रदीपलाई भनिन्। प्रदीपले फेरि बच्चा फाल्नुपर्छ भने तर बिनुले मानिन्। बिनुका सासु र नन्दले मिलेर जबरजस्ती बच्चा मार्ने औषधी खुवाएर गर्भपतन गराए।

‘सासुससुराले पहिलादेखि नै मलाई अपशब्द प्रयोग गर्दै आइरहनुभएको थियो। तैँले जन्माएको बच्चा राम्रो हुँदैन, यदि जन्मियो भने पनि गाडेर मारिदिन्छु समेत भने। एकदिन मलाई सासु र नन्द मिलेर जबरजस्ती घाँटी थिचेर गर्भपतनको औषधी खुवाए’, उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भनिन्।

बिनु घरमा कोही नभएको समयमा भागेर तामाकोशी अस्पताल पुगिन्। त्यहाँका डाक्टर केशव धामीलाई आफ्ना सबै बेलिविस्तार बताइन् र सुरक्षित ठाउँमा पुर्याइदिन आग्रह गरिन्। तर डा. धामीले बिनुको मदत गर्नुको साटो उल्टै पवनको परिवारलाई खबर गरिदिए र काकाससुरा पवन कठायत आएर बिनुलाई अपशब्द प्रयोग गर्दै लिएर गए।

घर पुगेपछि बिनुमाथि घरेलु हिंसाको वर्षा सुरु भयो। कहिले रडले हान्ने त कहिले हातपात गर्ने सिलसिला भइरह्यो। बिनुले आफूमाथि भएको घरेलु हिंसाबारे जिल्लाका डिएसपी वसन्त पाठकलाई समेत भनिन्। तर ती डिएसपीले पनि उल्टै प्रदीपको घरमा सुराकी लगाइदिए।

बिनुले इजलासमै विष पिइन्

२०७७ मा शारीरिक तथा मानसिक कष्ट दिएको भन्दै प्रदीपले उल्टै रामेछाप जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्धा हाले। आर्थिक स्थिति बलियो नभएको कारण बिनुले सम्बन्धविच्छेद गर्न मानिन्। यता, प्रदीप पक्षले ज्यान मर्नेसमेत धम्की दिइरहेको थियो।

वैशाख ७ गते उनीहरुको मुद्धाको फैसला थियो। अदालतका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले बिनुलाई अर्को विवाह गर्न सुझाव दिँदै फैसला प्रदीपको पक्षमा सुनाए र सम्बन्धविच्छेदको फैसला गरिदिए। त्यसपछि बिनुले इजलासमा नै विष पिइन्।

प्रदीपको पक्षमा फैसला सुनाएर जबरजस्ती सम्बन्धविच्छेद गर्न लगाएकाे कारण इजलासमा नै विष पिएको बिनु बताउँछिन्। ‘सुरुमा प्रदीपले मुद्धा हालेपछि मैले सम्बन्धविच्छेद गर्न मानिरहेको थिइनँ। आर्थिक अवस्था कमजोर भएकाले मैले वकिल पनि राख्न सकिनँ। एउटा वकिललाई भनेकी थिएँ तर उनीहरुको परिवारलाई भेटेपछि भने ती वकिलले पनि केस राम्रोसँग हेर्न मानेनन्’, उनले भनिन्, ‘फैसलाका दिन न्यायाधीश बद्रीले मलाई ‘तिमी राम्री छौ, उमेर बाँकी छ विवाह गर’ समेत भनेका थिए। त्यसपछि उनले प्रदीपको पक्षमा फैसला सुनाए अनि मैले विष पिएँ।’

बिनुले विष त पिइन् तर उनको दुःख छाडेन। उनी १९ दिन आईसियूमा बसिन्। विष पिएकाे लामो समयसम्म शिक्षण अस्पताल बसेपछि उनी ठिक भइन्। तर उनले भोगेका पीडा भने बिषेक भएको छैन।

उनले न्यायको लागि लड्ने प्रण गरिन् र फैसलाविरुद्ध गत असार १६ गते उच्च अदालत पाटनमा पुनरावेदन दिइन्। तर यतिका समय भइसक्दा समेत आफ्नो मुद्धामा पेसी नचढेकाले सडकमा भौँतारिँदै न्यायको याचना गरिरहनु परेकाे बिनु बताउँछिन्।

प्रकाशित मिति: : 2023-05-19 18:37:00

प्रतिकृया दिनुहोस्