बुधबार, १७ जुन २०२६

चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ

तेजन खड्का

तेजन खड्का

काठमाडाैं
News Image
• • •

नेपाली चलचित्र ‘रोल नं १’ ले नेपालको ग्रामीण समाज, गरिबी, अभिभावकको अपेक्षा, बालबालिकामाथि पर्ने शैक्षिक दबाब र वर्तमान शिक्षा प्रणालीका विभिन्न पक्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

यो चलचित्र  एउटा परिवारको कथा मात्र होइन, हजारौँ नेपाली परिवारले भोगिरहेको यथार्थको प्रतिनिधित्व गर्ने सामाजिक दस्तावेज पनि हो। चलचित्रले विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, अंक र श्रेणीको आधारमा हुने मूल्याङ्कन, अभिभावकको अत्यधिक अपेक्षा तथा बालबालिकाको वास्तविक रुचि र क्षमताबीचको द्वन्द्वलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।

चलचित्रको केन्द्रमा एक गरिब बुवा सञ्चार परियार र उनका छोरा ज्ञानेको कथा छ।

सञ्चार परियारको भूमिकामा मुकुन भुसालले जीवन्त अभिनय गर्नुभएको छ भने बाल कलाकार निर्भीक रेग्मीले ज्ञानेको भूमिकालाई अत्यन्त स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन्। 

चलचित्रको कथाले एउटा बुवाको सपना र एउटा बालकको वास्तविक चाहनाबीचको अन्तरलाई गहिराइका साथ उजागर गर्छ।

आफ्ना सन्तानले आफूले पूरा गर्न नसकेका सपना पूरा गरून् भन्ने चाहना धेरै अभिभावकमा हुन्छ।

तर जब त्यो चाहना दबाबमा बदलिन्छ, त्यसले बालबालिकाको मानसिक अवस्था, आत्मविश्वास र भविष्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश चलचित्रले दिएको छ।

कथाको सुरुवात म्याग्दीको एउटा विकट गाउँबाट हुन्छ। सञ्चार परियार गाउँमा दमाहा बजाएर सूचना दिने काम गर्नुहुन्छ। 

आर्थिक रूपमा कमजोर भए पनि उहाँको एउटा ठूलो सपना छ-छोरा ज्ञानेलाई पढाएर सफल बनाउने। परिवारमा श्रीमती सरस्वती र छोरा ज्ञाने छन्। ज्ञाने सञ्चारको जैविक छोरा भए पनि सरस्वतीका लागि सौतेनी छोरा हुन्।

तर सुरुवाती अवस्थामा सरस्वतीले ज्ञानेलाई आफ्नै सन्तानसरह माया गरेर हुर्काउनुहुन्छ। परिवारमा सुखद वातावरण रहेको देखिए पनि एउटा दुःखद घटनाले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउँछ।

समयमै अस्पताल पुग्न नसक्दा नवजात शिशुको मृत्यु हुन्छ। यो घटनाले दम्पतीबीचको सम्बन्धमा दरार ल्याउँछ। सरस्वतीको मनमा पीडा र असन्तुष्टि बढ्छ। त्यसपछि ज्ञानेप्रति उनको दृष्टिकोण पनि बदलिन थाल्छ।

चलचित्रले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अभाव र त्यसबाट उत्पन्न पारिवारिक तथा मानसिक समस्यालाई पनि संकेत गरेको छ।

एउटा सामान्य देखिने घटनाले कसरी परिवारभित्रको सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरा संवेदनशील रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रको मुख्य विषय भनेको सञ्चारको सपना र ज्ञानेको रुचिबीचको टकराव हो। सञ्चार आफ्ना छोरालाई विद्यालयमा ‘रोल नं १’ बनाउन चाहनुहुन्छ। उहाँका लागि सफलताको अर्थ विद्यालयमा प्रथम हुनु हो। 
त्यसैले छोरालाई उत्कृष्ट बनाउन उहाँ जुनसुकै कदम चाल्न पनि तयार हुनुहुन्छ। यहाँसम्म कि प्रश्नपत्र चोर्ने प्रयाससमेत गर्नुहुन्छ। 

यस घटनाले अभिभावकको अत्यधिक महत्वाकांक्षा र सामाजिक प्रतिष्ठाका लागि गरिने गलत व्यवहारलाई उजागर गर्छ। धेरै अभिभावकले आफ्ना सन्तानको सफलता आफ्नै सम्मानसँग जोडेर हेर्ने प्रवृत्ति नेपाली समाजमा अझै देखिन्छ। चलचित्रले यही मनोविज्ञानलाई प्रश्न गरेको छ।

यता ज्ञानेको रुचि भने पढाइमा छैन। उनी सिर्जनात्मक र व्यावहारिक कामतर्फ आकर्षित छन्। गाउँका बेगम बाजेसँग बसेर काठको काम सिक्न उनलाई रमाइलो लाग्छ। तर समाजले बेगम बाजेलाई ‘काम नलाग्ने’ मानिसका रूपमा हेरेको हुन्छ। गाउँलेहरूले सम्मान नगरेका व्यक्तिबाट ज्ञानेले जीवन उपयोगी सीप सिकिरहेको हुन्छ।

यसले समाजमा प्रचलित धारणा र वास्तविक ज्ञानबीचको अन्तरलाई देखाउँछ। विद्यालयमा प्राप्त हुने सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक सीप पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश चलचित्रले दिएको छ।

बेगम बाजेको पात्र चलचित्रको अत्यन्त अर्थपूर्ण पात्र हो। समाजले उपेक्षा गरे पनि उनीसँग जीवनको अनुभव र उपयोगी सीप हुन्छ। ज्ञानेलाई उनले केवल काठको काम मात्र सिकाउँदैनन्, आत्मविश्वास, श्रमको सम्मान र जीवनको वास्तविक मूल्य पनि सिकाउँछन्।

यस पात्रमार्फत निर्देशकले परम्परागत सीप र व्यवहारिक ज्ञानको महत्त्वलाई उजागर गर्न खोज्नुभएको छ। आजको शिक्षा प्रणालीले  अंक र प्रमाणपत्रलाई प्राथमिकता दिने हुँदा यस्ता सीपहरू ओझेलमा परेको वास्तविकता पनि चलचित्रले देखाएको छ।

चलचित्रले नेपालको शिक्षा प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। विद्यालयमा विद्यार्थीहरूको मूल्याङ्कन मुख्यतः परीक्षा र अंकका आधारमा गरिन्छ। जसले धेरै अंक ल्याउँछ, ऊ नै उत्कृष्ट मानिन्छ। तर सबै बालबालिकाको क्षमता एउटै हुँदैन। कसैको रुचि विज्ञानमा हुन्छ, कसैको कला क्षेत्रमा, कसैको खेलकुदमा त कसैको प्राविधिक काममा। जब सबैलाई एउटै मापदण्डबाट नाप्ने प्रयास गरिन्छ, धेरै प्रतिभाशाली बालबालिका पछाडि पर्छन्। ज्ञानेको चरित्रले यही यथार्थलाई प्रतिनिधित्व गर्छ। उनी पढाइमा अब्बल नभए पनि काठको काममा दक्ष छन्। तर समाजले उनको त्यो प्रतिभालाई सुरुमा स्वीकार गर्दैन।

चलचित्रको अर्को महत्वपूर्ण पक्ष बाल मनोविज्ञानको चित्रण हो। ज्ञानेमाथि विद्यालयमा राम्रो अंक ल्याउन र प्रथम हुन निरन्तर दबाब हुन्छ। बुबाको सपना पूरा गर्नुपर्ने जिम्मेवारीले उनलाई मानसिक रूपमा थिचिरहेको हुन्छ। 

धेरै बालबालिकाले यस्तै दबाबका कारण तनाव, डर र आत्मविश्वासको कमी भोगिरहेका हुन्छन्। चलचित्रले बालबालिकालाई उनीहरूको रुचि र क्षमताअनुसार अघि बढ्न दिनुपर्ने आवश्यकता स्पष्ट रूपमा देखाएको छ।

मुकुन भुसालले सञ्चार परियारको भूमिकामा अत्यन्त प्रभावशाली अभिनय गर्नुभएको छ। एकातिर छोराप्रतिको माया र अर्कोतिर सफल बनाउने तीव्र चाहना-यी दुई भावनाबीचको द्वन्द्वलाई उहाँले उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नुभएको छ। 

दर्शकले उनको पीडा, संघर्ष र सपना सहज रूपमा महसुस गर्न सक्छन्। त्यस्तै निर्भीक रेग्मीले ज्ञानेको भूमिकामा स्वाभाविक अभिनय गरेर चलचित्रलाई अझ जीवन्त बनाएका छन्। बाल कलाकारका रूपमा उनको प्रस्तुति निकै प्रभावकारी देखिन्छ।

रेनुनाथ योगीले सरस्वतीको भूमिकामा भावनात्मक गहिराइ थप्नुभएको छ। दुःखद घटनापछि उत्पन्न हुने मानसिक पीडा, आक्रोश र परिवर्तनलाई उहाँले सशक्त रूपमा अभिव्यक्त गर्नुभएको छ। 

सुवास गजुरेलको बेगम बाजे पात्र पनि स्मरणीय बनेको छ। कम संवाद भए पनि उनको उपस्थितिले चलचित्रलाई विशेष अर्थ प्रदान गरेको छ। साथै लोकेन्द्र लेखक, शङ्कर आचार्य, देशभक्त खनाल र सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनयले कथालाई थप विश्वसनीय बनाएको छ।

निर्देशक जोन योन्जनले चलचित्रको विषयवस्तुलाई सरल तर प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुभएको छ। ग्रामीण परिवेश, पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई चित्रण गर्न उहाँ सफल देखिनुहुन्छ। पात्र चयनदेखि लिएर उनीहरूको अभिनय निखार्न गरिएको मेहनत चलचित्रभरि देखिन्छ। छायाङ्कनले म्याग्दीको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ। दृश्य संयोजन र कथाको गति पनि सन्तुलित छ।

चलचित्रको सबैभन्दा मर्मस्पर्शी दृश्यमध्ये एक ज्ञानेले बेगम बाजेबाट सिकेको सीप प्रयोग गरेर कुर्सी मर्मत गर्ने प्रसङ्ग हो। गाउँलेहरूले त्यसपछि उनलाई सम्मान दिन थाल्छन्। यही क्षणले चलचित्रको मुख्य सन्देश उजागर गर्छ-सफलता  विद्यालयमा प्रथम हुनु मात्र होइन, समाजका लागि उपयोगी व्यक्ति बन्नु पनि हो। 

ज्ञाने ‘रोल नं १’ नबने पनि आफ्नो सीप र मेहनतका कारण गाउँको हिरो बन्छ। यसले दर्शकलाई सफलता र शिक्षाको अर्थबारे पुनर्विचार गर्न प्रेरित गर्छ।

समग्रमा ‘रोल नं १’ एउटा सशक्त सामाजिक चलचित्र हो। यसले अभिभावक र सन्तानबीचको सम्बन्ध, गरिबी, शिक्षा प्रणाली, बाल मनोविज्ञान र सीपमूलक शिक्षाको महत्त्वलाई संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ। चलचित्रले केवल मनोरञ्जन मात्र प्रदान गर्दैन, समाजलाई सोच्न बाध्य बनाउने सन्देश पनि दिन्छ।

बुबाको सपना र छोराको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले दर्शकको मन छुने भावनात्मक यात्रा प्रस्तुत गर्छ। कथा, अभिनय, निर्देशन, छायाङ्कन र सन्देशका दृष्टिले ‘रोल नं १’ नेपाली चलचित्र क्षेत्रमा एक महत्त्वपूर्ण कृतिका रूपमा स्थापित भएको छ। त्यसैले यो चलचित्र हरेक अभिभावक, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने व्यक्तिले एकपटक अवश्य हेर्नुपर्ने चलचित्र हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!