नुवाकाेटवासीलाई पासाङ ल्हामु राजमार्ग : हात्ती आयाे, हात्ती आयाे ! फुस्सा

देशकाे राजधानी काठमाडाैँलाई चीनको केरुङसँग जोड्ने पासाङ ल्हामु राजमार्ग निर्माण सुरु भएकाे दशकाैँसम्म पनि अलपत्र छ। सडक विभागअन्तर्गत सडक सुधार र विकासकाे लागि भन्दै २०७१ जेठ ५ मा दुई वर्षभित्र काम सक्ने गरी शैलुङ कन्ट्रक्सन तथा इन्फा पावर प्रा.लि (जेभी)सँग करिब ३१ करोड ४ लाख ६४ हजारमा निर्माण सम्झाैता भएको थियो। तर, कुल १७.०१ किलोमिटर दूरी रहेको याे सडक निर्माण सम्झाैता भएको एक दशकसम्म सातौँ पटक म्याद थप गरिएता पनि कामले गति लिन सकेको छैन।

वि.सं. ०७१ मा पासाङ ल्हामु राजमार्ग अन्तर्गतको मुड्खु-तीनपिप्ले हुँदै ठुलोखोला-रानीपैवासम्मको बाटो स्तराेन्नति गर्ने सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न नहुँदा स्थानीयवासीहरु सास्ती भाेग्न बाध्य छन्। वर्षौदेखि निर्माणाधीन अवस्थामा रहेको याे सडककाे कामले गति लिन नसक्दा नुवाकोटवासी जाेखिम माेलेर यात्रा गर्न बाध्य छन्।

खराब सडकका कारण नुवाकाेटीवासीले खेतबारीमा लगाएको फलफूल तथा तरकारीसमेत खेर जाने गरेकाे छ। खराब सडकका कारण आफूले उत्पादन गरेकाे तरकारी समयमा बजारसम्म पुर्‍याउन नसक्दा कुहिने गरेकाे ककनी गाउँपालिका– १ का व्यवसायी रेशम बलामी बताउँछन्। ‘बारीमा मुला, फर्सी, साग, करेला, भिन्डीलगायतका तरकारीहरु टिप्ने बेला भएको छ। तर, बाटो भत्किएको भएर समयमा गाडी आउन मान्दैनन्। गाडी समयमा आएन भने एक दिनमै तरकारी बिग्रन थाल्छ, अनि कसले किन्छ र बिग्रेको तरकारी ?,’ उनले गुनासाे गरे।

रेशमले एक रोपनी जग्गामा तरकारी र दुई रोपनी जग्गामा फलफूल खेती गरेका छन्।

यसैगरी बेलकोटगढी नगरपालिका– २ मा साढे दुई दशकदेखि व्यावसायिक रुपमा कुकुरापालन गर्दै आइरहेका मनोज पुडासैनी पनि खराब बाटोका कारण कुखुराहरु बाटोमा नै मर्ने गरेको बताउँछन्। ‘सुरुमा पाँच सय कुखुराबाट व्यापार सुरु गर्दा नाफा भएपछि एकैचोटी तीन हजार बनाएको थिएँ। पहिला त सबै राम्रो थियो तर रोड बिग्रिएपछि बिक्री गर्न बजारमा लग्न लागेका कुखुराहरु बाटोमा नै मरे, पछि भने मलाई कुखुरापालन गर्न मन लागेन,’ उनले भने।

राज्यको ठुलो राजस्व आर्जन गर्ने पासाङ ल्हामु राजमार्ग दशकाैँदेखि जीर्ण अवस्थामा हुँदा समेत सरकारले कुनै चासाे नै देखाएको छैन। सुरुको सम्झौतामा ३१ करोड रुपैयाँ हुँदा ५४ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडकको हाल ३४ करोड रुपैयाँ हुँदा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

बालाजु–त्रिशुली सडकखण्ड विस्तार योजनाका प्रमुख गौतमले लामो समयसम्म काम नहुँदा यसअघि तयार भएका संरचना पनि भत्किँदै जाँदा प्रगति घटेको बताए। ‘यसअघि निर्माण कम्पनीहरुले बनाएका पर्खाल, पानी बग्ने भल तथा ठाउँ-ठाउँमा बनाइएका नालहरु गुणस्तरहीन भएकाले भत्किएका छन्,’ उनले भने, ‘यसरी यस्ता सामानहरु प्रयोग गरेर बनाइएको संरचना कसरी दिगो हुन सक्छ। त्यसैले प्रगति बढ्नुको साटो घटेको हो।’

यसका साथै ठेक्का सम्झौता भएको कम्पनीले ठेक्का तोड्दा आयोजना अलपत्र भएको उनी बताउँछन्। ‘सुरुमा भारतीय एक्जिम बैंकको ऋृण सहयोगमा बनिरहेको यो सडकमा शैलुङ र भारतको अरावली इनफा पावर प्रा.लि. (जेभी)ले ठेक्का पारेका थिए। उनीहरुले दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता विभागले तोडिसकेको छ,’ उनले भने,‘जुनविरुद्ध ठेकेदार कम्पनी शैलुङको मनपरीले कारबाही हुन सकेको छैन। र, आयोजनाका काम अलपत्र अवस्थामा रहेका छन्।’

श्रेष्ठकाअनुसार ठेक्काको म्याद ०७८ को चैतमा सकिसेकेको छ। ठेक्का सम्झौता भएको लामो समयसम्म पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काम गरेको छैन। आयोजनाले चैतसम्म निर्माण कार्य सम्पन्न नगरे कानुनी प्रक्रिया अघि बढाउने भनिए पनि कानुनी प्रक्रिया भने अघि बढेको छैन।

विश्वका अन्य देशमा हरेक पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छन् तर नेपालमा भने राजधानीदेखि चीनसम्म जोडिएको परियोजना उल्टो गतिमा परिणत भएको छ।

दुई वर्षभित्र सडक स्तराेन्नति हुने

नुवाकोट जिल्लाको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका तथा रसुवाको गोसाइँकुण्ड हुँदै चीनको केरुङसम्म पुग्ने राजमार्ग आगामी आर्थिक वर्ष ०८२/८३ सम्म पूरा हुने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ (सज्जन) बताउँछन्। ‘पासाङ ल्हामु राजमार्ग जिल्लाको मात्र नभई सम्पूर्ण देशको तथा प्रदेशको मार्ग हो। जसका लागि प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयले समेत बजेट छुटाएको छ,’ उनले भने, ‘अब भोलि बजेट भाषणमा यस सडकखण्डमा बजेट परेन भने पनि हामी सडकको अवस्थामा सुधार गर्छाैँ।’

त्यसैगरी उनी पासाङ ल्हामु राजमार्ग १० वर्षसम्म नबन्नुकाे कारण कमजोर नीति, अपरिपक्क जवाफ तथा सरकारी निकायको चासो कम र अस्थिर राजनीति रहेकाे बताउँछन्।

‘पासाङ ल्हामु राजमार्गले सम्बन्धित जिल्ला तथा स्थानीय तह मात्र नभई धेरै राजस्व संकलन गरी देशलाई सहयोग पुर्‍याइरहेको छ। तर, विगत एक दशकदेखि जीर्ण अवस्थामा रहेको राजमार्ग निर्माणमा न त सरकारी निकायको चासो देखिन्छ न त यहाँका कुनै ठुला नेताको नै,’ उनले भने, ‘न नीति छ, न नियम छ। प्रश्न गर्दा जवाफ कसैले दिन रुचाउँदैनन्। सबैलाई आ–आफ्नाे समस्या हल गर्न समय मिलेको तर देशको ठुलो राजस्व संकलन गर्ने राजर्माग खराब हुँदा कसैको ध्यान छैन। त्यसैले यो एउटा लज्जास्पद समेत रहेको छ।’

सडक स्तराेन्नतिको कार्य गर्न सम्बन्धित पीडित पक्ष र सरोकारवाल निकायसँग पटक-पटक समाधानको लागि गरिएको प्रतिबद्धतासमेतलाई सम्बन्धित निकायले कुनै ध्यान नदिएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु बताउँछन्।

‘रसुवामा पर्ने राजमार्ग खण्डमा समय-समयमा पहिरो जाने हुँदा निर्माण कार्यमा बाधा त उत्पन्न भएको नै छ। त्यसका लागि स्थानीय निकायले मात्रा नभइ जिल्ला तथा प्रदेशस्तरबाट कार्य हुनुपर्ने हुन्छ,’ उनले भने,‘सुरुका पाँच वर्षमा जती पनि काम भएका छन्, ती सबै भत्किएका अवस्थामा छन्। त्यसका लागि सङ्घर्ष समितिले सम्बन्धित निकायमा ध्यान दिन दबाबसमेत दिएको थियो तर सरोकार पक्षले हामीलाई हात्ती आयो हात्ती आयो... फुस्सा...जस्तै बनायो।’

पासाङ ल्हामु राजमार्ग नेपाल-चीन व्यापारिक हिसाबाले दैनिक ३ देखि ५ करोडको राजस्व आर्जन गर्ने नाका नै उँधो गतिमा जानु तथा राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्नु नेपालीहरुको लागि लज्जास्पद हो।

प्रकाशित मिति: : 2023-05-28 20:30:00

प्रतिकृया दिनुहोस्