आज मेमोरियल डे मनाइरहेको छ अमेरिका

बिएल संवाददाता

वासिङ्टन डीसी

आज मे महिनाको अन्तिम सोमबार, सधैंझै अमेरिका मेमोरियल डे मनाइरहेको छ। हरेक अमेरिकी भनिरहेका छन् - ह्याप्पी मेमोरियल डे।

मेमोरियल डे अमेरिकी युद्धमा शहादतप्राप्त सैनिकहरूको सम्झनामा मनाइने एक अमेरिकी चाड हो । एक किसिमले भन्ने हो भने यसलाई अमेरिकी सेना दिवश भने पनि हुन्छ।

अमेरिका युद्ध गरिरहने देशमा पर्छ। कहिले आफ्ना लागि, कहिले अरूका लागि, अमेरिका सधैं युद्ध लडिरहेकै हुन्छ। यसले आफ्ना लागि युद्ध लड्नु नपरेको केही शताव्दी भैसक्यो। तर,अझै अर्काका लागि भए पनि युद्ध लड्दै आएको छ। यही क्रममा अमेरिका भियतनाम युद्ध, कोरिया युद्ध, खाडी युद्ध हुँदै अफगान युद्धसम्म आइपुगेर अहिले एक किसिमले युद्ध बिसाएको अवस्थामा छ। यद्यपि, अप्रत्यक्ष नै सही अमेरिका अहिले पनि युक्रेन युद्धमा छ।

यिनै युद्धका कारण धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन्, गुमाइरहेका छन्। उनीहरूको शहादतलाई अमेरिकाले उच्च सम्मान गर्दै हरेक वर्ष मे को अन्तिम सोमबार मेमोरियल डे मनाउँदै आएको छ। 

अमेरिकामा विरलै हुने संघीय छुट्टीको दिन पनि हो मेमोरियल डे। अमेरिकीहरू यो दिनसहितको तीन दिने छुट्टीलाई परिवारसँग घुम्न जाने अवसरका रूपमा लिन्छन्। 

आज अमेरिकाका पर्यटन केन्द्र मानिने ठूला सहर, समुद्री किनार गुल्जार छन्। 

अमेरिकाका ठूला सहरको जीवन महंगीले कष्टसाध्य हुन्छ। त्यसैले अमेरिकीहरू साना सहरमा बस्ने ठूला सहरमा छुट्टी मनाउन जाने लाइफस्टाइल बाँचिरहेका छन्।

मेमोरियल डे किनमेलको लागि  एक उपयुक्त समय पनि मानिन्छ। खासगरी सेलमा सामान खरीद गर्नेका लागि यो एक उम्दा अवसर बनेर आउँछ। अमेरिका हरेक ठूला स्टोर र अनलाइनमा भारी छुटमा सामान खरिद गर्न पाइन्छ। धेरै मानिस ब्राण्डेड सामान किन्न यो समयको सदुपयोग गर्छन्।

अमेरिका यतिबेला आर्थिक मन्दी र बढ्दो महंगी दुबैको चपेटामा छ। यस्तो अवस्थामा आएका यस्ता लामा छुट्टी अमेरिकीका लागि साह्रै बिझाउने खालका हुन्छन्। त्यसको प्रत्यक्ष प्रभाव अमेरिकीहरूको किनमेलको तौतरिकामा देख्न सकिन्छ। 

सप्ताहान्तमा पर्ने यो लामो छुट्टीले अमेरिकामा त्रास पनि लिएर आउने गर्छ। केही  समययता सप्ताहान्तमा अमेरिकामा मास सुटिङका घटनाहरू अचाक्ली बढेका छन्। सार्वजनिकस्थलहरू कुनै पनि बेला नरसंहारका केन्द्रमा परिणत हुने भएकाले अमेरिकीहरू ढुक्कले यस्ता ठाउँमा गएर रमाउन सकिरहेका छैनन्। त्यसको आंशिक प्रभाव यसपटकको मेमोरियल डे मा पनि पर्ने अनुमान गरिएको छ। 

अन्तमा जो अमेरिकाका नाममा, अमेरिकाका लागि युद्धमा मारिए, उनीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै भन्नुपर्छ- ह्याप्पी मेमोरियल डे। 

प्रकाशित मिति: : 2023-05-29 23:55:00

प्रतिकृया दिनुहोस्