
नवीन रायमाझी
प्राय हरेक दिन अनलाईन पोर्टलहरुमा प्रकाशित फरकफरक शीर्षकका समाचारलाई सत्य मान्ने हो भने ‘फलानोले ढिस्कानो देश लैजाने भनेर यति र उति लाख ठगेको’ भन्ने देख्न अनि पढ्न पाइन्छ। त्यसैगरी युट्युबमा पनि विभिन्न देशमा लैजाने भनेर पैसा ठगेर बेपत्ता भएको मान्छेलाई ल्याएर पैसा ठगिनेहरुले लछारपछार परिरहेको भिडियो हेर्न सकिन्छ।
‘विदेश लैजान्छु’ भनेर ठग्नेहरुले एउटैबाट बीसौं लाखसम्म पनि ठगेका छन्। अब विचार गर्नुस्, त्यो ठगिने व्यक्तिको मानसिकता कति दयनीय छ। एकातर्फ विदेश गएर पैसा कमाउने र मोजमस्ती गर्ने सपना चकनाचुर भएको छ भने अर्कोतर्फ त्यत्रो ठुलो रकम कसरी उठाउने भन्ने चिन्ता बेग्लै छ। २४/२५ वर्षको उर्जाशील उमेरमा अनावश्यक तनाव लिएर दौडधुप गर्नुपरेपछि त्यो व्यक्तिले के सृजनशील काम गर्न सक्ला?
विदेश जाने उत्कण्ठ इच्छा भएका, भनेको बेला लाखौँ रुपैयाँ झिक्न सक्ने, अमेरिकामा सबैको जीवन शैली अँग्रेजी सिनेमाको कलाकारको जस्तो हुन्छ र आफू पुगेको दिनमै म पनि त्यस्तै हुन्छु भन्ने भ्रम पालेर बसेका, अँग्रेजी भाषामा लेखापढी गर्न नसक्ने तर सबै काम अरुले नै गरिदिए हुन्छ भन्ने आशा गर्नेहरु मानव तस्कर वा दलालहरुको पहिलो निशानामा पर्छन्।
लामो समयदेखि अमेरिका लैजाने भनेर धेरैले धेरैलाई विभिन्न प्रकारले ठगेर घरको न घाटको पार्दा पनि हाम्रो चेत खुलेको छैन। त्यसैले हालसम्म पनि मान्छेहरु ठगीको शिकार भइरहेका छन्। हाल त्यस्तै मानव तस्करहरुले ठगीको नयाँ निशाना फालेको अर्थात् नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर अर्बौंको ठगी भएको कुराले बजार तातेको छ। विदेश लैजाने भनेर एउटा सामान्य मान्छेले समेत ठगिरहेको अवस्थामा राज्यस्तरबाटै ठगिनु कुनै अच्चमको कुरा रहेन।
०००
केही वर्ष पहिले राष्ट्रिय योजना आयोगका एक पूर्वउपाध्यक्षले पंक्तिकारसँग विदेश जाने क्रमको प्रसंगमा ‘सामान्य रुपले जान सकिने भए नेपालीहरु चन्द्रलोक पनि पुग्थे’ भनेका थिए। उनको यो भनाइ कोही पनि विदेश नजाउन् भन्ने थिएन र कोही विदेश गएकोमा उनलाई डाहा पनि होइन। उनको चिन्ता विभिन्न देशमा पुगेर नेपालीहरुले पाएको अनावश्यक दुखतर्फ इंकित थियो।
उनका अनुसार विश्वमा कैयौं यस्ता साना र धनी देशहरु छन्, जुन देशमा त्यहाँका नागरिकहरुलाई काम पनि छ। उनीहरुको जीवनस्तर पनि उच्च छ तर कुनै विदेशी नागरिक गएर जीवनयापन गर्न कठिन छ, कडा अध्यागमन नियम र भाषाको कारण। करिब ५० भन्दा बढी देश पुगेका उनका अनुसार कोष्टारिका त्यस्तै देश हो। त्यहाँको नागरिकहरुको जीवनस्तर यति लोभलाग्दो छ कि हामीले सपनाको देश भन्ने गरेको अमेरिका, जापान र बेलायतका मध्यम वर्गीय नागरिकहरु पनि लोभिन्छन्।
यसै सन्दर्भमा अमेरिका वा क्यानडा लग्ने भनेर करोडौँ रुपैयाँ ठगेर बेपता भएको, अमेरिका लग्ने भनेर अर्कै देशमा लगेर बन्धक बनाएर फिरौती उठाएको वा त्यहीँ अलपत्र पारेर छोडेको, विदेशमा काम गर्ने ठाउँमा खानसम्म नदिएर कुटपिट गरेको वा तलब नदिएको, विदेशमा बेखर्ची भएर अलपत्र भएको जस्ता नकारात्मक समाचारहरुले राम्रै स्थान पाएका छन्। यस्तो समाचारले पीडित व्यक्ति परिचित नभए पनि मानवताको नाताले जो कसैको पनि मन चसक्क हुन्छ। यस्तो किसिमको दुख अज्ञानता र लोभको कारणले हुनेमा दुई मत नहोला तर यो अवस्था कसरी आउँछ भन्ने मेरो व्यक्तिगत अनुभव यहाँ प्रस्तुत गर्न चाहन्छु।
०००
पंक्तिकारको एक आफन्तको छोरालाई अमेरिका जाने रहर लाग्यो। उसलाई एउटा मान्छेले आफू सिनेमा निर्माता भएको र नयाँ सिनेमा शुटिङ्ग गर्न अमेरिका जान लागेको, जापान र नर्बेमा शुटिङ्ग गरिसकेको कारणले अमेरिकाले भिसा दिनेमा कुनै शङ्का नभएको र कलाकार टोलीमा मिसाएर उसलाई पनि अमेरिका लगिदिने प्रलोभन दियो। करिब १५ लाख रुपैयाँ बुझाए सजिलै अमेरिका जान पाइने र त्यहाँ गएपछि त्यो रकम एक वर्षमै उठ्ने सपना देखेर उसले आफ्नो बाबुआमासँग उक्त कुरा सुनायो।
जीवनमा अनेकौं शिशिर-वसन्त देखेर परिपक्व भएका उनीहरुले यस्तो हावादारी कुरालाई विश्वास गर्ने कुरा आएन र उनीहरुले यो प्रस्तावलाई अस्वीकार गरिदिए। ठग मानव तस्करले ‘ब्रेन वास’ गरेको उसले अब आफ्नो प्रगति हुन लागेकोमा बाबुआमाले नै अड्चन पैदा गरेको आरोप लगाउँदै दैनिक घरमा किचकिच गर्न थाल्यो। त्यसपछि बाबुआमा हैरान भएर उसको अंशबापत २० लाख रुपैयाँ दिने तर अब उप्रान्त उसले कुनै हक दाबी गर्न नपाउने शर्तमा उसलाई त्यो रकम दिए।
उसले त्यसबाट १५ लाख रुपैयाँ त्यो कथित सिनेमा निर्मातालाई दियो। दुई महिनाभित्र अमेरिका जानको लागि तयार रहन भनेर गएको त्यो निर्माता त्यसपछि कता गयो, उसले भेट्न सकेन। पैसा पनि गयो र सपना पनि चकनाचुर भयो। वि.स. २०५८ सालमा २० लाख रुपैयाँ निकै ठुलो रकम हो। ठगको चिप्लो कुरामा लाग्दा बेकारमा पाटीको बास हुन पुग्यो। सामाजिक रुपमा गरिने व्यंग त अलग्गै भयो।
यो एउटा बर्बादीको सानो उदाहरण मात्र हो। अनुसन्धान गर्यो भने यस्तै किसिमका बर्बादीहरु भएर सामाजिक विचलन कति आएका छन् कति, तर त्यो सतहमा आउँदैन।
०००
केही समय पहिले अमेरिका लग्ने भनेर टर्कीमा लगेर बन्धक बनाएको र बन्धकका परिवारले फिरौती दिएपछि मुक्त गरेको तथा अफ्रिकी मुलुक टोगोमा लगेर अलपत्र पारिदिएको दुई बेग्लाबेग्लै समाचार आएको थियो। अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग मिलेर एउटा नेपालीले अर्को नेपालीलाई पीडित बनाउने कुरा जति सुन्दा नरमाइलो लाग्छ, त्योभन्दा बढी यस्तो मनगढन्ते कुरामा विश्वास गर्दा अरु कति ठगिएका होलान् भन्ने जिज्ञासा लाग्छ। त्यस्तै अधिकांश नेपालीहरुले नामसमेत नसुनेको देश टोगो जाने नेपालीहरुलाई मुर्ख भन्ने कि अरु नै केही भन्ने? नेपालीहरुलाई अमेरिका जान नेपालबाट मात्रै सम्भव छ, अर्को देशबाट होइन, अपवादलाई छोडेर।
अब प्रसंग टोगोको। सन् २०१६ मा पंक्तिकार नयाँ दिल्ली गएको थियो। करोलबागको एउटा होटलमा आराम गरिरहेको बेला तल रिसेप्सनबाट कोही भेट्न आएको खबर आयो। को आएछ भनेर अच्चम मान्दै तल आएको त कालो वर्णका दुई जना अपरिचित व्यक्तिहरु मलाई पर्खेर बसिरहेका थिए। मैले ‘म तपाईंहरुलाई चिन्दिनँ’ भन्दा उनीहरुले हामी टोगोको दूतावासबाट आएको र एक लाख भारतीय रुपैयाँमा आफ्नो देशको भिसा लगाइदिने र टोगोबाट अमेरिका वा क्यानाडा जता जान पनि सजिलो हुने प्रस्ताव राखे।
जीवनमा पहिलो पटक नाम सुनेको देशको भिसा होटलबाटै लाग्ने सुनेर मलाई आश्चर्य लाग्यो। होटलको रिसेप्सनिस्टका अनुसार उनीहरु यसरी नै होटल होटल नेपाली खोज्दै हिड्ने र कुरा मिल्यो भने ठाउँ को ठाउँ भिसा लगाइदिने रहेछन। यसरी खोज्दै जाँदा उक्त होटलमा पनि नेपाली बसेको थाहा पाएर उनीहरुले मलाई पनि अमेरिका वा क्यानडा जान खोजेको नेपाली होला भनेर जाल हाल्न खोजेका रहेछन्, मैले उनीहरुलाई म यस्तो विषयमा इच्छुक नभएको भनेर फर्काइदिएँ। अब विचार गरौँ, यसरी होटलमै भिसा पाइने देश कस्तो होला र यस्तो क्रियाकलाप उनीहरुले दूतावासकै निर्देशनमा गरेका होलान् कि लुकिचोरी गरेका होलान्?
०००
यस्तै खाडी मुलुकमा घरायसी कामको लागि गएका नेपाली महिलाहरुलाई घर मालिकले खान नदिएको, कुटपिट गरेको, पहिले भने जति तलब नदिएको वा तलब नै नदिएको, यौन शाेषण गरेको जस्ता नकारात्मक समाचारहरु पनि बाक्लै आउने गरेका छन्। फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा महिलाहरुले रुँदै आफ्नो कथाव्यथा भनेको भिडियोहरु पनि यदाकदा हेर्न पाइन्छ। काम गर्न लागेको मान्छेले कामदारलाई बिना कारण खान नदिएर कुटपिट मात्र गर्यो होला भन्ने कुरामा कति विश्वास गर्न सकिन्छ, तर मलाई भने विश्वास लाग्दैन। यदि कसैले त्यस्तो गर्छ भने त्यो पागल हुनुपर्छ। कतै यस्तो घटना घट्नुमा हाम्रो आफ्नै कमजोरी त छैन?
यो संसारमा अगाडि बढ्नको लागि हात नै चलाउनुपर्छ, केवल मुख मात्र चलाएर पुग्दैन अर्थात श्रम जस्तो प्रमुख र ठुलो कुराको विकल्प छैन। जसले जति मेहनती भने पनि वास्तवमा हामी अल्छी छौँ। लगनशील भएर काम गर्नमा भन्दा काम गरेको जस्तो गरेर समय कटाउनमा हामीलाई विश्वास लाग्छ। जसले काम गर्नुलाई दुख गर्नु भन्छ, त्यो एक नम्बरको कामचोर र अल्छी हो भन्ने पंक्तिकारको बुझाइ छ।
यदि लगनशीलताका साथ काम गर्दा गर्दै पनि तलब नदिने वा यौन शाेषण गर्छ भने त्यो अमानवीय तथा गैरकानुनी क्रियाकलाप हो। त्यसको लागि हरेक देशमा कारबाही गर्ने निकायहरु छन्। त्यसै कारण नेपालबाट विदेश जाने बेलामै सबै कुरा बुझेर जानु उचित हुन्छ। म के काम गर्न जान लागेको, त्यो काम मैले कति गर्न सक्छु र काम गरेबापत कति पारिश्रमिक पाउने हाे भन्ने कुरा सम्बन्धित व्यक्तिले पनि बुझ्न जरुरी छ।
हाम्रो अर्को समस्या भनेको कुरा गर्ने बेलामा हामीलाई आकाश नै खसाल्दिन सकिन्छ जस्तो लाग्छ तर काम गर्ने बेलामा भने त्यसको ठ्याकै उल्टो हुन्छ। यसको साथै बुझ्दै नबुझी अरुको कुराको विश्वास गर्ने तथा भाषाको समस्याले सबै कागजपत्र पढ्न नसक्दा पनि यस्ता समस्याहरु सिर्जना हुन सक्छन्।
आज पनि नेपालमा मानव तस्करहरुसँग लुकीचोरी अमेरिका जाने भनेर एक करोड रुपैयाँसम्म बुझाएर अनेकौँ हण्डर खाँदै अमेरिका आउनेहरुको कमी छैन। ज्यान हत्केलामा राखेर अमेरिका पस्न नै सक्यो भने पनि अमेरिकाभन्दा पहिले अर्को देशले शरण नदिने भयो भने मात्र अमेरिका शरणार्थीको निवेदन दिन पाइने भएको कारण दुई देशको राज्यस्तरीय निर्णय भएको अवस्थामा बाहेक अब कसैले पनि शरणार्थीको सुविधा पाउने कुरा सतप्रतिशत असम्भव छ।
पंतिकारको निजी विचारमा त्यत्रो ठुलो रकम र ज्यान जान सक्ने सम्भावनाको साथ अमेरिका आउन सफल नै भयो भने पनि सानोतिनो बढो कठिनाइका साथ बचत गर्न सक्ने भनेको बढीमा एक हजार डलर मात्र हो। त्योभन्दा एक करोड रुपैयाँ मुद्धती खातामा राख्यो भने एक लाख रुपैयाँ ब्याज सबै बैंकले दिन्छन् र त्यसैमा फाइदा छ।
कानुनी रुपले आउन सक्नुहुन्छ भने अमेरिका सपनाको देश हो, आनन्दका साथ आउनुस्। तपाईंसँग क्षमता छ भने तपाईंलाई जति पनि अगाडि बढ्न कसैले रोक्न सक्दैन तर गैरकानुनी रुपले समय र स्रोतको दुरुपयोग गरेर कुनै हालतमा पनि अमेरिका नआउनुस्, यसले तपाईंलाई सोचेभन्दा बढी दुख मात्र दिन्छ र गैरकानुनी रुपमा अमेरिका आउनु भनेको आफ्नो बर्बादी निम्ताउनु मात्र हो।
फर्कौं नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ। मानव तस्करी गर्नेलाई कानुनअनुसार दण्ड दिनुपर्ने छँदैछ तर घर खेत बेचेर, देश, परिवार र राष्ट्रियता नै त्यागेर नक्कली परिचयमा अमेरिका आउन चाहनेहरु पनि पीडित नभएर बेइमान भएको कारण उनीहरुलाई पनि कडा भन्दा कडा सजाय दिनुपर्ने कुरामा दुई मत नहोला।
@twitter#naviinr
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया