ग्रीसमा आप्रवासी चढेको डुङ्गा डुब्दा हराएका सयौं बेपत्ताको खोजी जारी

फाइल तस्बिर
फाइल तस्बिर

दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन्। सयौं मानिस अझै हराइरहेको आशङ्का गरिएको छ।

लिबियाबाट इटाली जान चाहने आप्रवासीलाई लिएर जाँदै गरेको एउटा माछा मार्ने डुङ्गा एक दिनअघि ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेपछि कम्तीमा ७८ जनाको शव फेला परेको थियो।

उद्धारकर्ताहरूले इजिप्ट, सिरियाली, पाकिस्तानी, अफगान र प्यालेस्टाइनी सहित १०४ जना यात्रुलाई बचाएका थिए, जसमा अधिकांश पुरुष र आठ जना नाबालिकहरू पनि थिए। यदि यसको पुष्टि भयो भने यो त्रासदी मध्य भूमध्यसागरमा अहिलेसम्मकै सबैभन्दा खराब घटना हुनेछ।

‘बाँचेकाहरु निकै कठिन अवस्थामा छन्। अहिले उनीहरू स्तब्ध छन्,’ संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको प्रतिनिधिमण्डलकी प्रमुख इरास्मिया रौमानाले दक्षिणी बन्दरगाह कलामाटाको भण्डारण ह्याङ्गरमा उद्धार गरिएका आप्रवासीलाई भेटेपछि एसोसिएटेड प्रेस (एपी)सँग भने। 

‘उनीहरू आफ्नो परिवारसँग सम्पर्क गर्न चाहन्छन्, उनीहरूले आफुलाई ठीक छ भनेर बताउन चाहन्छन्, र हराएका आफन्तहरूको बारेमा सोधिरहेका छन्। धेरैका साथीभाइ र नातेदारहरू वेपत्ता छन्।

ग्रीसले तीन दिनको शोकको घोषणा गरेको छ र राजनीतिज्ञहरूले जुन २५ मा हुने आम चुनावको लागि प्रचार अभियान स्थगित गरेका छन्। सर्वोच्च अदालतका एक अभियोजकले मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस घटनाबाट आफू निकै दुःखी भएको बताउँदै आप्रवासीहरूलाई खतरनाक मार्ग हुँदै यूरोप अमेरिका लाने मानव तस्करमाथि थप कारबाही गर्न युरोपेली सङ्घ र आसपासका देशबीचको सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

तर मानव अधिकारवादी समूहहरूले यस कारबाहीको अर्थ आप्रवासी र शरणार्थीहरू सुरक्षित देशहरूमा पुग्न लामो र खतरनाक बाटोहरू प्रयोग गर्न बाध्य भएको तर्क गरेका छन्।

ग्रीसको पेलोपोनीज क्षेत्रको दक्षिणमा बिहीबार बिहानै गरिएको उद्धार अभियानले थप शव वा जीवित व्यक्ति फेला पार्न नसकिएको जनाएको छ। 
ग्रीसको तटरक्षक बलका अवकाशप्राप्त एडमिरल निकोस स्पानोसले सरकारी ईआरटी टेलिभिजनसँग भने, ‘अझै धेरै जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना न्यून छ।’

उनले भने, ‘हामीले लिबियाबाट आउने यस्ता पुराना माछा मार्ने डुङ्गाहरू आएको पहिले पनि देख्ने गरेका थियौँ। तिनीहरू लगभग ३० मिटर लामो हुन्छन् र छ सयदेखि सात सयसम्म मानिसहरूलाई बोक्न सक्दछन्। तर तिनीहरू कुनै पनि हालतमा समुद्री मार्गमा मानिस बोक्न योग्य हुँदैनन्। सरल भाषामा भन्ने हो भने, तिनीहरू तैरिरहेका कफिनहरू हुन्।’

उनले थपे, ‘सामुद्रिक सुरक्षाविद्का अनुसार डुङ्गामा इन्धन सकिएपछि वा इन्जिनमा समस्या आएपछि डुबेको हुन सक्छ। समस्यापछि जहाजभित्र यात्रुको ओहोरदोहोर हुँदा डुङ्गा डगमगाएर डुबेको पनि हुन सक्छ।’

ग्रीक अधिकारीहरूले जहाज डुब्नुअघिको हवाई तस्वीर सार्वजनिक गरेका थिए जसमा मानिसहरू डेकमा खचाखच भरिएको देखिएको थियो। अधिकांशले लाइफ ज्याकेट लगाएका थिएनन्।

‘हामी भूमध्यसागरमा सबैभन्दा ठूलो त्रासदीको साक्षी बनिरहेका छौं, र अधिकारीहरूले घोषणा गरेको सङ्ख्या विनाशकारी छ,’ संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आईओएम)को ग्रीक शाखाका प्रमुख जियानलुका रोक्कोले भने। 

आईओएमले सन् २०१४ देखि मध्य भूमध्यसागरमा २१ हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएको जनाएको छ। ग्रीसको तटरक्षक बलले इटालियन अधिकारीहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा माछा मार्ने माझीको उपस्थितिबारे जानकारी गराएको जनाएको छ। 

डुङ्गालाई सहयोग गर्ने आफ्नै जहाज र व्यापारिक जहाजहरूको प्रयासलाई बारम्बार अस्वीकार गरिएको र जहाजमा सवार मानिसहरूले उनीहरूलाई इटालीमा जारी राख्न चाहेको बताएका छन्।

दक्षिणी ग्रीसमा बाँचेकामध्ये २९ जना अझै पनि अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्, जसमध्ये अधिकांशमा हाइपोथर्मियाको लक्षण देखिएको छ भने आठ जनालाई तटरक्षकका अनुसन्धानकर्ताहरूले सोधपुछ गरेका छन्। सरकारी अधिकारीहरूले बाँचेकाहरूलाई बिहीबार वा शुक्रबार एथेन्स नजिकैको आप्रवासी आश्रयस्थलमा स्थानान्तरण गरिने बताएका छन्।

मृतक आप्रवासीको शवलाई एथेन्सबाहिरको मुर्दाघरमा लगिएको छ, जहाँ डीएनए नमूना र अनुहारको फोटो खिचेर पहिचान प्रक्रिया सुरु गरिनेछ। यसका लागि सम्बन्धित देशका दूतावासले सहयोग गर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यो स्थान भूमध्य सागरको सबैभन्दा गहिरो भागको नजिक छ, जहाँ १७,० फिट (५,२०० मिटर) सम्मको गहिराइले डुबेको जहाज पत्ता लगाउने कुनै पनि प्रयासमा बाधा पुर्याउन सक्छ।

आइओएमका अनुसार प्रारम्भिक रिपोर्टअनुसार डुङ्गामा ४०० जनासम्म सवार थिए। अधिकारकर्मीहरूको एक सञ्जालले सोही क्षेत्रमा रहेको एउटा डुङ्गाबाट ७५० जना यात्रु बोकेको डुङ्गाबाट आपतकालीन फोन आएको बताएको छ।

सन् २०१५ को अप्रिल १८ मा लिबियामा आप्रवासीहरू बोकेको माछा मार्ने एउटा डुङ्गा उद्धारका लागि आउने क्रममा मालवाहक डुङ्गासँग ठोक्किएर दुर्घटना भएको थियो। उक्त डुङ्गामा सवार २८ जना मात्र बाँचेका थिए। फरेन्सिक विशेषज्ञहरूले विमानमा करिब एक हजार १०० जना सवार रहेको निष्कर्ष निकालेका थिए।

प्रकाशित मिति: : 2023-06-16 06:11:00

प्रतिकृया दिनुहोस्