सञ्चारमन्त्री शर्मालाई साइबर सुरक्षाकाे चिन्ता

फाइल तस्विर
फाइल तस्विर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकी छन्।

दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताइन्।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माण गर्न लागेको जानकारी दिइन्। प्रविधिको गलत प्रयोगका कारण बालबालिका, किशोर–किशोरीदेखि आम नागरिकमा विभिन्न खालका समस्या सिर्जना भएको उल्लेख गर्दै उनले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्न आवश्यक रहेको बताइन्।

सामाजिक सञ्जालको गलत प्रयोगको सिकार नागरिक हुनुपरेको बताउँदै उनले सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिइन्। नेपाल टेलिकमले दाङ जिल्लाभित्र सञ्चारको अवस्था कस्तो छ भनेर अनुसन्धान गरेको जानकारी दिँदै मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधित्रमा सबैलाई पहुँच हुनुपर्छ। कुन स्थानमा के आवश्यकता छ? आवश्यकताअनुसार हामी काम अगाडि बढाउनेछौँ।’

उनले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने मन्त्री शर्माले बताइन्। राप्ती इन्जिनिरिङ कलेज सञ्चालक समितिका अध्यक्ष डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको सम्मेलनले कम्प्युटर, सूचना प्रविधि, साइबर सुरक्षा, नीति र कानुनका विषयमा सहभागीबीच छलफल, ज्ञान आदान–प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2023-06-17 21:06:00

प्रतिकृया दिनुहोस्