
बिएल संवाददाता
उदयपुरको चौदण्डीगढी नगरपालिका–५मा निर्माणाधिन ‘त्रियुगा पुल’ छिटो निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाइएको छ।
आइतबार प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का, प्रदेशसभा सदस्य राजन किराँतीसहितको टोलीले मन्त्रालयमा पुगेर मन्त्री ज्वालालाई ज्ञापनपत्र बुझाएको हो।
मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्दै पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए। उनले भने, ‘चौदण्डीगढी–५ का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भत्किएको पुल पुनः निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट सुरू हुन्छ।’
मन्त्री ज्वालाले उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाए।
ज्ञापनपत्र बुझाउँदै चौचण्डीगढी–५ का वडाध्यक्ष तुलसी ढकालले अब पनि पुन: निर्माणमा ढिलाइ भए माइतीघरमा आएर आन्दोलन गर्ने चेतावनी दिए।
‘उद्घाटन अगाडि नै पुल भाँचिएपछि निराश भएका हामी स्थानीयबासीलाई प्रत्येक बर्खामा वार–पार गर्न समस्या हुन्छ। त्यतिमात्र होइन विद्यार्थीहरू स्कुल जान पाउँदैनन्। सिवाई–सुन्दरपुरका स्थानीयहरू यही त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्,’ उनले भने, ‘दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको यही पुलले हो। अब पनि नबने हामी काठमाडौंमै अनशन बस्ने गरी आएका छौं।’
त्रियुगा पुल २०६६ सालमा शिलान्यास भई २०७७–०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो। तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ।
यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेशसँग जोड्ने गर्दछ। साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ–जाउ गर्न समस्या भएको छ।
पुल नबन्दा सर्पदंशलगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो।
बाढीले क्षति पुगेको पुलमा २५–२५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ। पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ।
पुलको निर्माण महालक्ष्मी–लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो। पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया