लम्पी स्किनले गाईगोरु मरेपछि स्थानियको चिन्ता- अब खेतीपाती कसरी गर्ने ?

वर्षामा गाईवस्तुहरु चराउन पाटनमा लैजाने चलन छ। प्रायजसाे गाउँका अग्ला लेकमा पाटन छन्। असार-साउनमा गाईवस्तु अग्ला लेक नजिकका पाटनमा लैजाने प्रथा नै हाे।

धेरैजसो लेक गाईवस्तुका चरण क्षेत्रका निम्ति चर्चित छन्। पानसय पाटन, असी पाटन, बाइस पाटन, छिना लाग्न, गुठीचाैरलगायतका पाटनहरुमा धेरैजसाेका गाईवस्तुहरु लैजाने गरिन्छ।

जुम्लाका पाटनहरुमध्ये सबैभन्दा बढी चर्चा गुठीचाैरकाे छ। लगभग बाह्रै मास पर्यटकहरु आवतजावत गर्ने गुठीचाैर वर्षामा साह्रै रमाइलाे हुन्छ। पर्यटक र पर्यावरण दुबैका हिसाबले मनाेरम गुठीचाैर वस्तुभाउकाे निम्ति अनुकुल चरण क्षेत्र हाे।

हरेक दिनजसाे आन्तरिक तथा बाह्य पर्यटककाे राेजाइमा पर्ने गुठीचाैरमा  सयाैं गाेठालाहरु आफ्ना गाई, भैंसी, भेडाबाख्रा चराउँदै आएका हुन्छन्।

उनीहरु हरेक दिनजसाे रमाउँदै आएका पर्यटकका साक्षी छन्। प्रायजसाे पर्यटकसँगै हाँसीहाँसी समय कटाउने गाेठालाहरु यतिबेला भने निराश छन्।

गुठीचाैरमा वैशाखदेखि भेडा र गाई हेर्दै बसेकी ७६ वर्षीया हँसिली कुष्णमाया देवकोटा यतिबेला निराश छिन्। उनी उज्याला अनुहार लाएर गुठीचाैरमा आउने पर्यटकसँग हाँस्न सकेकी छैनन्।

कारण, पछिल्लो समय गाईवस्तुमा फैलिएकाे महामारी लम्पी स्किनले उनका नाैवटा गाई मरे। गाई मरेपछि उनलाई आफ्ना जहान मरेजस्ताे लागेकाे छ।

'संसारमा सबैभन्दा ठूली आमा हुन्। आमा र गाई उस्तै हुन्,' उनले भनिन्, 'ती गाई नै मरेपछि साह्रै मन कुँडिएकाे छ। छाती चार औंल फाटेकाे छ।'

गुठीचाैरका विभिन्न ठाउँमा गाई मरेका छन्। गुठीचाैरमा मात्रै हाेइन, विभिन्न पाटनमा गाईवस्तु मरेका छन्। मरेका गाईवस्तु व्यवस्थापनमा कसैकाे ध्यान नगएकाे कृष्णमायाले बाताइन्।

'पाटन जस्ताे स्वच्छ हावा खान पाइने ठाउँमा पनि दुर्गन्ध फैलिएको छ। राेग लाग्ने हाे कि भन्ने चिन्ता छ,' उनले भनिन्, 'जताततै गाईगाेरु मरेका छन्। अब त खेतीपाती कसरी गर्ने? खेतबारीमा मल कसरी पुर्‍याउने भन्ने चिन्ता बढ्न थाल्याे।'

उनले भनेजस्तो घरका हलगाेरु मरेपछि जग्गा जमिन बाँझाे भएकाे तातोपानी-७ सर्मीका किसान मुन बहादुर कुँवरले बताए।

'घरका हलगाेरु मरे। गाउँलेका पनि मरेका छन्। अब गाेरू पाउन मुस्किल छ,' उनले भने, 'जग्गा बाँझाे हुन्या भायाे। अन्न भएन भने त भाेकमरी हुन्या भैगाे।'

समयमै नियन्त्रण गर्न नसके ठूलाे क्षति बेहोर्नु पर्ने पातारासी-५ का गाेबिन्द बुढाले बताए।

'कुनै गाईगाेरु घाँस खानै नसक्ने छन्। कुनैकाे शरीरभरि खटिरा र दाग छ,' उनले भने, 'गाईगाेरु हेर्दाहेर्दै राेएर मर्छन्। साह्रै बिरख्त लाग्दाेछ।'

पातारासी-५ की गाेरिकला विष्टका अनुसार किसान आफ्ना गाईगाेरु छट्पटाउँदै मरेकाे हेर्न विवश छन्। चाहेर पनि उद्दार गर्न सकिरहेका छैनन्।

पशु सेवा कार्यालय जुम्लाका अनुसार राेग नियन्त्रण बाहिर गइसकेकाे छ। आठै स्थानीय तहकाे प्रारम्भिक तथ्यांकअनुसार १४ हजार गाई गाेरुमा लम्की स्किन संक्रमण भएकाे छ।

झण्डै एक हजारकाे हाराहारीमा मरेकाे पशु सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख लाल बहादुर बुढथापाले बताए। उनले भने, 'अहिले देशभर झैं जुम्लामा पनि याे राेग फैलिएकाे नियन्त्रणमा लिन कठिन भएकाे छ।'

अफ्रिकी मुलुकबाट २०७६ सालतिर नेपाल भित्रिएकाे लम्पी स्किन राेग जुम्लामा पहिलाे पटक देखिएकाे उनकाे भनाई छ। 'याे भाइरल राेग भएकाेले यसकाे खास उपचार कठिन छ। तर ज्वराे नियन्त्रणमा लिने, अन्य कठिनाई कम गर्ने खाेप नै हाे,' उनले भने, ' जुम्लामा पाँच सय खाेप आएकाे थियाे। जाे प्रयाप्त छैन।'

असार मसान्तसम्म कर्णालीमा लम्पी स्किनबाट आठ हजार ७९३ वटा पशु चौपायाको मृत्यु भएको छ भने २ लाख १७ हजार १३४ पशुचौपाया संक्रमित छन्।

संक्रमित हुने दर लगातार बढिरहेको छ भने मृत्युदर ४.०७ प्रतिशत रहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

लम्पी स्किनबाट विशेषगरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायतका जिल्ला बढी प्रभावित छन्। १० जिल्ला बाच्छा, बाच्छी गरी १ हजार ४७२, गाई २ हजार २७७, गोरु ४ हजार ७०४, भैँसी २५३, चौँरी १४ को मृत्यु भएको छ।

पशु चौपायाको संक्रमण र मृत्युबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको छ। यो तथ्याङ्क फागुनदेखि असार मसान्तसम्मको हो।

'गोरु मरेको खण्डमा उसले गर्ने श्रम र त्यसबाट हुने क्षतिलाई पनि हामीले जोडेका हौँ,' पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले भने।

प्रकाशित मिति: : 2023-07-31 14:47:00

प्रतिकृया दिनुहोस्