संसद अवरुद्ध हुँदा जनताको आवज मुखरित हुने काम बन्द भयो– राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि संसद अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

मंगलबार बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएर राष्ट्रपति पौडेलले जनताका यथावत समस्याहरुको समाधान गर्ने थलो अवरुद्ध हुनु दुखद भएको बताए।

‘जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरूको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ,’ राष्ट्रपति पौडेलले भने। दलहरुबीच भएको सहमति तत्काल कार्यन्वयन हुने विश्वस्त रहेको उनको भनाइ छ।

दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखा पर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्ने राष्ट्रपति पौडेलले बताए। ‘सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन् भन्ने मेरो सदिच्छा छ। जनताको अपेक्षा पनि यही हो,’ पौडेलले भने।

त्यस्तै राष्ट्रपति पौडेलले देशको आर्थिक अवस्था कमजोर हुँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। नेपाललाई प्रि ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति सिर्जना हुनु चिन्ताको विषय भएको उनको भनाइ छ। ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरू यथाशीघ्र पारित गरेर नेपाललाई ब्ल्याक लिस्टबाट जोगाउने पहलकदमी लिनु हामी सबैको साझा दायित्व हो भन्ने मलाई लाग्छ,’ राष्ट्रपतिको भनाइ छ।

देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पास गर्न नसके नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्ने विषयमा सचेत हुने दलहरुलाई राष्ट्रपतिको आग्रह छ।

प्रकाशित मिति: : 2023-08-22 10:46:00

प्रतिकृया दिनुहोस्