मङ्गलबार, ०५ अगस्ट २०२५

फेसबुकमा जथाभावी लेख्ने भीम उपाध्यायविरुद्ध प्रहरीमा उजुरी

News Image
• • •

सामाजिक सञ्जाल ‘फेसबुक’मा जथाभावी लेख्ने पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ।

साढे दुई वर्षअघि खिचिएको भिडियो टिकटिकबाट तानेर गाली–गलौज र चरित्रहत्या गरेकाे भन्दै उनीविरुद्ध पूर्णिमाया गुरुङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी हुन्।

सामाजिक सञ्जालको प्रयोग गरेर अनेकौँ अफवाह फैलाइरहेका पूर्वसचिव उपाध्याय ‘आफूलाई मन नपर्ने व्यक्ति र अपुष्ट खबर पाउँदासमेत’ फेसबुकमा मनलाग्दी लेख्छन्। र, त्यसैगरि प्रचार गर्छन्।

आफूलाई (अ)सामाजिक सञ्जालको नायक ठान्दा उपाध्यायले पूर्णिमायाको तस्बिर र साढे दुई वर्षअघिको भिडियो फेसबुकमा राख्दै पाँच दिनअघि ‘गोरु खाने धराने’ लेखेर सबैतिर भ्रम फिजाए।

उपाध्यायले त्यो भिडियो फेसबुकमा पोस्ट गरेपछि आफूले मानसिक यातना भोगेको पीडितले बताएकी छिन्। फेसबुकबाट भ्रम फैलाउँदा ती महिलाले गालीसमेत खाइन्। 

धरानमा ‘गोरु काटेर खाएको’ प्रसंग र हल्ला चलिरहेका बेला पूर्वसचिव उपाध्यायले एउटा भिडियो फेसबुकमा हाले। तर त्यो भिडियो पुरानाे थियाे, टिकटकमा तानिएकाे थियो।

भिडियोमा हड्डीबाट मासु तानेर खाइरहेकी महिला पूर्णिमाया हुन्। उनले आफन्तको भोजमा राँगाको मासु खाँदै गरेको भिडियो खिचेर टिकटकमा राखेकी थिइन्। तर, पूर्वसचिव उपाध्यायले पाँच दिनअघि ‘गोरु खाएको’ भनेर पूर्णिमायाको तस्बिर र भिडियो फेसबुकमा हालिदिए। त्यसपछि पूर्णिमायामाथि गालीकाे बर्सा भयो।

र, उनी जिल्ला प्रहरी कार्यालय चितवन धाइन् अनि फेसबुकमा जथाभावी लेख्ने भीम उपाध्यायविरुद्ध उजुरी दर्ता गराइन्।

शुक्रबार, भाद्र ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)