मङ्गलबार, ०५ अगस्ट २०२५

बाढीपहिरोले पोल ढलेपछि जुम्लामा तीन दिनदेखि बिजुली अवरुद्ध

News Image
• • •

बाढीपहिरोले पोल ढलेपछि जुम्लामा बिजुली अवरुद्ध भएको छ। भदौ पहिलो साता वर्षासँगै आएको बाढीपहिरोले कालिकोटको तिलागुफा नगरपालिका टिपुरे भिर नजिक बिजुलीको पोल ढलेपछि तीनदेखि नेशनल ग्रिड अवरुद्ध भएको हो।

बत्ती नहुँदा साना उद्याेग चल्न सकेका छैनन् भने नियमित कामहरु प्रभावित बनेका छन्। चन्दननाथ नगरपालिका-१० का बिस्ने नेपालीले सञ्चालन गरेकाे फर्निचर उद्योग सञ्चालनमा अवरोध भएकाे छ भने चन्दननाथ-७ की अतिना रावलकाे पढाइ अवरोध भएकाे छ। उनले भनिन्, 'बत्ती नहुँदा गृहकार्य गर्न समस्या भएको छ।'

व्यापार–व्यवसाय गर्नेहरु मारमा परेका छन्। चन्दननाथ -४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले नेसनल ग्रिड पुगेपछि भएको सोलार ऊर्जा बेचेका थिए। तर उनलाई अहिले आएर पछुतो लागिरहेकाे छ। उनले भने, 'नेसनल ग्रिड पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो। तर, अहिले नियमित विद्युत् नआउँदा निकै समस्या खेप्नुपरेको छ।'

२०७८ साउन महिनामा जुम्ला नेसनल ग्रिडसँग जोडिएको थियाे। दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि लाइन निकै लामो भएको हुनाले बेलाबेला बिजुली आपूर्तिमा समस्या हुने गरेको छ।

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा समस्या देखिरहेका छन्।

कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ। डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको जुमणला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए।

'कालिकोटको टिमुरेमा बिजुलीको पोल ढल्नुका साथै तार चुडिएको हुँदा विद्युत अवरुद्ध भएको छ,' उनले भने, 'मर्मतका लागि टोली परिचालन भएको छ। वर्षादसँग बाढीपहिरो आएकोले मर्मत कार्यमा ढिलाई भएकाे हाे।'

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको।

'लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ। विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ। तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,' उनले थपे, 'अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो। यो निकै कम क्षमताको विद्युत् हो। सहरीकरण बढ्दै गरेपछि बिजुली लोड पनि बढ्दै गएको छ। लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ।'

नेसनल ग्रिड कम क्षमताको हुनु र स्थानीय स्तरमा पनि विद्युत् उत्पादन नहुनुले नियमित विद्युत् आपूर्तिको समस्या झेल्नुपरेको उनको भनाइ छ।

शुक्रबार, भाद्र ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)