आइतबार, १० अगस्ट २०२५

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

News Image
• • •

‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै रु तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ। यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ। 

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ, भने अन्य क्षति गाईगोरुमा देखिएको हो।

केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब रु ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा रु तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिएका छन्। 

उनका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताएका छन्। उनले एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिएका हुन्।

बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा रु १६ लाख बजेट विनियोजन गरेको बताएका छन्।

आइतबार, भाद्र १०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)