‘नि:शुल्क बाँड्ने औषधि सरकारी कम्पनीले नै उत्पादन गर्नसक्छ’

पुरानै लयमा फर्किने लक्ष्य

नेपाल औषधि लिमिटेडले नयाँ महाप्रबन्धक पाएको छ। निरन्तर खस्किँदै गइरहेको यो सरकारी कम्पनी केही महिनादेखि प्रमुखविहीन थियो। नयाँ प्रमुखको आगमनसँगै औषधि कम्पनीले अब गति पाउने आशमा कर्मचारीहरू छन्।

कुनैबेला यसले सयथरि औषधि उत्पादन गरेर चर्चा र नाफा दुबै कमाइरहेको थियो। तर मेसिनहरू पुरानो हुँदै गयो। र, कम्पनी पनि खस्किँदै गयो।

२०२९ सालमा सरकारको स्वामित्वमा खुलेको  नेपाल औषधि लिमिटेडले अहिले एकदमै सामान्य उत्पादन गर्दै आइरहेको छ।

जीवनजल, सिटामोल, डिस्टिल वाटर, स्यानिटाइजरलगायत आठ प्रकारका औषधिजन्य वस्तु बनाउँदै दिन कटाइरहेको औषधि कम्पनी आफैँ अन्योलमा थियो, ‘अब के हुन्छ भनेर’।

तर संस्थामा आफूले पाइला टेकेसँगै कम्पनीको स्वरुप बदल्ने नवनियुक्त महाप्रबन्धक कैलाशकुमार पनेरुको दाबी छ। उनका अनुसार अब कम्पनीमा नयाँ औषधिहरू उत्पादन हुनेछ।

पुरानै लयमा फर्किने लक्ष्य

सरकारको पूर्ण लगानी रहेको औषधि लिमिटेडले कुनैबेला १४६ प्रकारका औषधिहरूको उत्पादन गर्दथ्यो। तर समय बितेसँगै कम्पनीमा औषधि उत्पादन पनि घट्यो।

गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मूल्यमा देशभर उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यो कम्पनी स्थापनाको करिब ३ दशकसम्म निकै गुल्जार भयो। 

२०५८ सालसम्म नाफामा रहँदै आएको यो कम्पनीले २०६० सालसम्म १४६ प्रकारका औषधि उत्पादन गर्थ्यो। तर विस्तारै कम्पनीमा राजनीति यतिधेरै घुस्न थाल्यो कि त्यही औषधिले पनि राजनीतिको त्यो रोगलाई जित्न सकेन।

औषधि बनाउने कम्पनी विस्तारै राजनीतिक भर्तीकेन्द्र बन्न थाल्यो। उत्पादन बन्द हुँदै गयो, कार्यकर्ताहरू कर्मचारीका रूपमा भरिँदै गए।

२०६१ सम्मै कम्पनीले १२५ प्रकार औषधिहरू उत्पादन गर्दै आएको थियो। २०६३/०६४ सालसम्म विश्व स्वास्थ्य संगठनले औषधि उत्पादन गर्ने कारखानामा जीएमपी (गुड म्यानुफ्याक्चररिङ् प्राक्टिस्) अनिवार्य रुपमा लागू गर्नुपर्ने गाइडलाइन बनायो।

जीवनजल, सिटामोल जस्ता औषधि उत्पादन गरेर पहिचान बनाएको कम्पनीको २०६४ देखि २०७२ सालसम्म उत्पादन पूर्णरुपमा बन्द भयो। तर संस्था बन्द भएपनि कर्मचारीलाई भने सरकारसँग ऋण मागेर ७ वर्षसम्म लिमिटेडले तलब खुवायो। अनि करिब एक दशकपछि लिमिटेडले फेरि सिटामोल उत्पादन गर्न सुरु गर्‍यो।

विगतमा संस्थामा उत्पादन भएको औषधि नै नेपालको ब्राण्ड रहेको बताउँदै उनले भने, ‘अब फेरि हामी ब्यूँझिने अवस्थामा छौँ।’

सरकारले संस्थालाई विश्वास गरे कम्पनी विगतका दिनहरूमा भन्दा पनि धेरै अगाडि बढ्ने उनको विश्वास छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटअनुसार सरकारले निशुल्क बाँड्ने औषधि किन्नका लागि १ अर्ब २८ करोड रुपैयाँ खर्च गर्ने भएको छ। 

तर सरकारले औषधिमा खर्च गरेको त्यो रकम औषधि लिमिटेडलाई दिए त्यसको पूर्ति गर्न सकिने उनले बताए।

‘सरकारले अहिले ९८ प्रकारका औषधि बाँडिरहेको छ तर सरकारले हाम्रो कम्पनीलाई विश्वास गरे, त्यो औषधि हामी आफैँले नै उत्पादन गर्न सक्नेछौँ’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, ‘सरकारले थोरै लगानी गर्‍यो भने संस्थाले धेरै ठूलो उपलब्धि हासिल गर्नसक्छ।’

संस्थालाई उकास्नका लागि सरकारको साथ चाहिएको उनको भनाइ छ। सरकारले निजी कम्पनीहरूबाट भन्दा सरकारी संस्थाबाट औषधिहरू किन्नुपर्ने उनको सुझाव छ।

‘सरकारले निजी संस्थाहरूबाट भन्दा सरकारी संस्थाबाट औषधि खरिद गर्दा राम्रो हुन्छ। यसले सरकार, जनता र हामी सबैलाई फाइदा हुन्छ’, उनले भने। सरकारी कम्पनी निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बताउँदै उनले भने, ‘हामी निजी संस्थाभन्दा कम छैनौँ।’

के छन् योजना?

अहिले संस्थामा ७ वटा ठूलो र अरू कैयन साना मेसिनहरू छन्। जसमध्ये आधाभन्दा कम मेसिन बिग्रिएका छन्। कतिको त अन्तर्राष्ट्रिय मापदण्ड नै पुग्दैन।

उनी भन्छन्, ‘मेसिनहरू धेरै पुराना भइसकेका छन्। त्यसैले खिया पनि लागेको छ। त्यसलाई पुनःनिर्माण गराएर औषधि उत्पादन गर्ने योजना बनाएका छौँ।’

नेपाल औषधि लिमिटेडमा भएका मेसिनहरू अन्य कम्पनीहरूमा नभएको उनको भनाइ छ। उनका अनुसार कम्पनीमा त्यस्ता मेसिनहरू छन्, जसले धेरै औषधि उत्पादन गर्न सक्दछ। 

‘हामीले कम्पनीमा भएको मेसिनको प्रयोग गर्न सक्यौँ भने राम्रो सफलता हासिल गर्न सक्नेछौँ’, कम्पनीमा उत्पादन भएको पानीलाई वीर अस्पतालले नै गुणस्तरीय साबित गरेको सुनाउँदै उनले भने, ‘यहाँबाट उत्पादन भएको पानीलाई अस्पतालले जाँच गर्दा गुणस्तरिय साबित गर्‍यो तर अरू कम्पनीबाट उत्पादन भएको पानीलाई जाँच गर्दा इरर देखायो।’

विगतका वर्षदेखि घाटामा गइरहेको कम्पनीलाई उकास्नका लागि उनले योजनाहरू पनि बनाएका छन्। जसमध्ये सबैभन्दा पहिलो प्राथमिकता संस्थाबाट उत्पादन भएको औषधि प्रदेश सरकारलगायत स्वास्थ्यसम्बन्धी संघसंस्थाहरूसँग सहकार्य गर्ने रहेकाे छ।

त्योसँगै कम्पनीमा नयाँ औषधि पनि उत्पादन गर्ने उनको योजना छ। ‘हामीले हेमोडाइलासिस नामक औषधि पनि उत्पादन गर्ने सुरसारमा छौँ। जुन औषधि मृगौला पीडितहरूका लागि बनेको हो’, उनले भने, ‘सिटामोल उत्पादनले मात्र कम्पनीलाई थेग्न सक्दैन। त्यसैले नयाँ औषधि उत्पादन गर्नेछौँ।’

विगतका दिनदेखि थला परेका मेसिनहरूलाई पुनः मर्मत गरेर सातादिनपछि धमाधम औषधि उत्पादन गरिने उनको भनाइ छ।

‘हामीले बिग्रिएका मेसिनहरूलाई बनाउन दिएका छौँ। त्यहीअनुसार एक सातापछि नयाँ औषधि उत्पादन गर्न सुरु गर्नेछौँ’, नेपाल औषधि लिमिटेडलाई बदल्न आफू कम्पनीमा आवद्ध भएको बताउँदै उनले भने, ‘मेरो उद्देश्य भनेकै यहाँको बेथितिहरूलाई सुधार्ने हो अनि औषधि उद्योगलाई चलायमान बनाउने नै हो।’ 


याे पनि

आफ्नै कम्पनी थला पारेर निजीसँग अर्बौंको औषधि व्यापार गर्छ सरकार

 

 

प्रकाशित मिति: : 2023-09-06 20:40:00

प्रतिकृया दिनुहोस्