जुम्लाकाे एउटा यस्ताे आधारभूत विद्यालय, जहाँ छापामय कक्षाकाेठादेखि पुस्तकालयसम्म

BreaknLinks
BreaknLinks

जुम्लाकाे ताताेपानी गाउँपालिका- ६ मा अवस्थित कालिका आधारभूत विद्यालयका कक्षाकाेठा आकर्षक छन्। जहाँ प्लाष्टिक लमिनेसन गरेर विभिन्न आकृतिका चित्र र पठन सामग्री राखिएकाे छ। कक्षाकाेलाई छापामय बनाइएकाे छ भने वार्षिकोत्सवकाे अवसर पारेर पुस्तकालयसमेत स्थापना गरिएकाे छ।

विकट बस्तीमा रहेकाे सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन विद्यालयका कक्षाकाेठालाई छापामय बनाइएकाे हाे भने पठन संस्कृतिकाे विकास गर्न पुस्तकालय स्थापना गरिएकाे हाे।

आधारभूत तहकाे शिक्षा नि:शुल्क र अनिवार्य गरिएकाे भएपनि सामुदायिक विद्यालयहरु आकर्षक गन्तव्य बन्न सकिरहेका छैनन्। निजी शिक्षण संस्थासँग प्रतिस्पर्धा गरेर सामुदायिक विद्यालयमा विद्यार्थी तान्न कक्षाकाेठा व्यवस्थापनदेखि पुस्तकालय स्थापना गरेर पढ्ने संस्कृतिकाे विकास गर्ने काेसिस गरिएकाे व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले बताए।

कर्णालीका कान्छा अध्यक्षकाे परिचय पाएका उनले भने, ‘सहरी क्षेत्रका भन्दा दुर्गमका सामुदायिक विद्यालयकाे अवस्था दयनीय छ। अधिकांश स्कुलका भाैतिक संरचना गतिला छैनन्। यसकारण सामुदायिक विद्यालयप्रति अभिभावककाे विश्वास घट्दाे छ। तृयीय हामीले अभिभावक र विद्यार्थीलाई आकर्षण गर्न विद्यालय सुधार अभियान थालेका छाैं।’

सामुदायिक विद्यालय सुधारमा शिक्षक, अभिभावक तथा विधार्थी नै जिम्मेवार हुनुपर्ने अध्यक्ष कामीकाे भनाइ छ। ‘सामुदायिक विद्यालयमा पूर्वाधार अभाव, बालमैत्री कक्षाकाेठा, शाैचालय लगायतकाे अभाव हुन्छ,’ उनले भने, ‘अभिभावक जिम्मेवार नुहँदा सार्वजनिक शिक्षा खस्केको छ। हामी अभिभावकलाई नै जिम्मेवार बनाउने अभियानमा छाैं।’

कालिका आधारभूत विद्यालय पालिकाकै नमुना विद्यालय भएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले बताए।

‘याे हाम्राे पालिकाकाे नमुना विद्यालय हाे। यहाँका अभिभावकहरु जागरुक भएर लागेका छन्,’ उनले भने, ‘स्थानीय सरकारले पनि कालिका आ.वि. सुधारका निम्ति आवश्यक लगानी गर्नेछ।’

विद्यालयकाे १५औँ वार्षिक उत्सवका अवसरमा स्व.दीपबहादुर स्मृति प्रतिष्ठानकाे समन्वय तथा विद्यालयकाे अगुवाइमा पुस्तकालय स्थापना गरिएकाे हाे। पुस्तकालयका लागि विभिन्न लेखक तथा पाठकहरुबाट पुस्तक संकलन थालिएकाे छ। दुर्गमकाे विद्यालयमा पुस्तकालय स्थापना हुँदा ज्ञान निर्माण हुने, पठन संस्कृतिकाे विकास हुने र प्रश्न गर्ने जनशक्ति उत्पादन हुने अध्यक्ष चाैलागाईंले बताए।

विधार्थी आर्कषण गर्न विद्यालयले गरेकाे महेनत प्रशंसायाेग्य रहेकाे तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रवलले बताइन्। ‘इच्छा शक्ति भएकाे खण्डमा सामुदायिक विद्यालय सुधार गर्न सम्भव रहेकाे उदाहरण कालिका आवि हाे,’ उनले भनिन्।

सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीकाे आपसी साथ सहयाेग हुनुका साथै स्थानीय सरकारसमेत सारथी भएर लाग्ने उक्त वडाका अध्यक्ष विशाल खड्काले बताए। उनले भने, ‘हाम्राे वडाकाे याे विद्यालयले जिल्लाकै नमुना बन्ने सम्भवना बाेकेकाे छ। तपाईंहरु अझ सक्रिय भएर लाग्नुस् अवश्य सफल भइनेछ।’

स्थापनाकाे १५औँ वसन्त पूरा गरेकाे अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुस्कार वितरण गरिएकाे थियाे भने विद्यालयकाे समग्र विकासमा उल्लेखीय भूमिका खेल्ने व्यक्तिलाई सम्मान गरिएकाे थियाे।

पछिल्लो समय नियमित पठनपाठनका साथै विद्यालय र कक्षाकाेठा सुधार्दै जाँदा १ सय ३० जना विधार्थी पुगेकाे अध्यक्ष कामीले बताए।

गुठीचाैर चिनाउन व्यक्तिगत लगानीमा खेलकुद

प्रकाशित मिति: : 2023-09-06 09:33:00

प्रतिकृया दिनुहोस्