सरकारी ‘बिर्को’ खोलेर कसरी पसे चिनीमा बिचौलिया ? 

GETTY IMAGES
GETTY IMAGES

चिया खानुहुन्छ?

जो–कोहीलाई सोधिने प्रश्नमध्ये एक हो यो। कसैलाई स्वागत गर्दा होस् कि कतै जमघट हुँदा होस्। वा बिहानी चिया। प्रायको घरमा चिनीसहितको चिया पाक्छ।

अर्थात्, चिनीको कतिको महत्व छ भन्ने यसैबाट प्रष्ट हुन्छ। अहिले त चिनीविहीन परिकार पनि हुँदैन भन्दा पनि अतिशयोक्ति नहोला। घरमा पकाउने सेलरोटी होस् वा बजारमा पाइने मिष्ठान्न परिकार चिनीविहीन कमै बन्छ।

तर, यही चिनीको बजार मूल्य छुन सकिने अवस्था छैन। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, ‘चिनी आममानिसको आवश्यकता हो। तर, बजारको स्थिति डामाडोल छ। मूल्यवृद्धिले चिनी छुन सकिने अवस्था छैन।’

अध्यक्ष महर्जनले भनेको जस्तै बजारमा चिनीको मूल्य प्रतिकेजी ९० रुपैयाँबाट बढेर १ सय ४० सम्म पुगेको छ। मूल्यवृद्धिलाई उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले अस्वभाविक भन्छन्। उनी भन्छन्, ‘मूल्य हेर्ने हो भने अत्याधिक मात्रामा नागरिक ठगिएका छन्।’

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा उनले मूल्यवृद्धि कसको दबाबका कारण भइरहेको छ भन्दै प्रश्न गरे। उनले भने, ‘कतै न कतैबाटको दबाब भएकै कारण चिनीको मूल्य यसरी बढाइएको छ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारले चाड पर्वका बेला चिनी तथा खाद्यवस्तुको अभाव हुन नदिन भारतसँग खरिदका लागि पत्राचार गरिसकेको बताए।

चाड पर्वका बेला चिनीको माग बढी हुने भएकोले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी खरिदका लागि पत्राचार गरेको उनले जानकारी दिए।

मरासिनीले भने, ‘हामीले ५० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान खरिदका लागि भारतलाई पत्राचार गरेका छौँ।’

तर, भारतले त्यसको औपचारिक जवाफ भने दिएको छैन। उनले नेपाल सरकारले समयमै माग गरेका खाद्यान्न दिन आग्रह गरेको बताए। उनले बजारमा मूल्य नियन्त्रण गर्नका लागि भारतसँग खरिद गर्ने खाद्यवस्तुको भन्सार कर छुट गराउनका लागि प्रयास गरेको जिकिर गरे। २० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिक टन साल्ट ट्रेडिङले र १० हजार मेट्रिक टन खाद्य व्यवस्था कम्पनीले खरिद गर्ने सहमति भएको सचिव मरासिनीले जानकारी दिए।

२० प्रतिशत भन्सार छुट गरेर चिनी खरिद गरेर ल्याउँदा प्रतिकिलोमा १२ रुपैयाँ सस्तो पर्ने उनले बताए। यसले गर्दा बजारलाई सन्तुलन गराउन सहयोग पुग्ने महासिनीको दाबी छ।

गत भदौ २९ गते बसेको मन्त्री परिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनीको आयातमा ५० प्रतिशत छुटसहित आयत गर्न पाउने स्वकृतिसमेत पाइसकेको छ।

केही समय पहिले ९० रुपैयाँ प्रतिकिलो चिनी पाइन्थ्यो हाल १४० सम्म व्यापारीले लिने गरेका छन्।

बैठकमा पहिलोपटक बोल्ने पालो पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीलले कालोबजारीका कारण मंहगी बढेको तर्क गरे।

उनले भने, ‘चिनीको मूल्यले आकाश छोएको छ। भारतबाट ल्याएको चिनीमा १३ प्रतिशत भ्याट जोडेपछि १०४ र सबै जोड्दा ११२ रुपैयाँ पर्ने देखिन्छ तर १४० सम्म लिने गरेका छन् व्यापारीहरु। यो सबै व्यवस्थापनको कमजोरी हो।’

काँग्रेसकी सांसद रमा कोइराला ‘पौडेल’ले कालोबजारी गर्न चिनी उद्योग बन्द गर्ने र कामदारलाई बिदा बसालेर जागिरबाट निकाल्ने चलखेल भइरहेको बताइन्। बजारको मूल्य निश्चित नभएका कारण उपभोक्ता मर्कामा परेको उनको पनि गुनासो छ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले व्यापरीले मूल्य निर्धारण गर्ने अधिकार कसरी पाए भन्दै प्रश्न गरे। उनले भने, ‘चिनीको मूल्यले आकाश छोएको छ। बजारमा व्यापारीले आफैँ मूल्य निर्धारण गरिरहेका छन्। यो कसरी भइरहेकोे छ।’

केही सीमित मान्छेको चलखेलका कारण उपभोकता मूल्यवृद्धिको मारमा परेको रेखा यादवले बताइन्। मिल बन्द गर्ने सो विषयमा अनुगमन किन नभएको भन्दै रेखा यादवले चलखेल भइरहेका दाबी गरिन्।

समितिको उठेको सबै विषयमा जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासिनीले मूल्यवृद्धि नियन्त्रण गर्ने बताए।

प्रकाशित मिति: : 2023-09-19 18:12:00

प्रतिकृया दिनुहोस्