आर्थिक अवस्था कमजोर भएकी निरुलाई पत्रकार परियारकाे सहयोग

सक्रिय पत्रकार तथा पत्रकार महासंघ जुम्लाका सह-सचिव सागर परियारले आफ्नाे जन्मदिनको अवसरमा तातोपानी-६ की निरु कामीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

आर्थिक अवस्था अत्यन्तै कमजाेर भएकी निरु दुर्गा मावि लाम्रामा छ कक्षामा अध्ययनरत छिन्।

उनका बुबा माओवादी युद्धकालमा पूर्व लडाकु थिए। १० वर्ष अगाडि धन कमाउन भनेर इन्डिया गएका उनी उतै बिते।

त्यसयता निरुक आमा शाेभा कामी(४०) ले तीन छाेरीकाे लालनपालन गर्दै आएकी छिन्।

१२ वर्षकी निरु घरकी कान्छी छाेरी हुन्। अध्ययनमा अब्बल उनकाे पठनपाठनमा सहजताका लागि पत्रकार परियारले शैक्षिक सामग्री सहयोग गरेका हुन्।

जन्मदिनको अवसरमा अन्यत्र फाल्तु खर्च गर्नुभन्दा थाेरै सहयोग गराैँ भन्ने साथीहरुबीच सरसल्लाह भएपछि शैक्षिक सामग्री वितरण गर्ने याेजना बनेकाे पत्रकार सागर परियारले बताए।

'निरुकाे पठनपाठनमा कुनै पनि हालतका अवरोध हुन दिने छैनाैँ,' उनले भने, 'मेराे जन्मदिनकाे अवसमा उनीसँग नाता जाेडिएकाे छ। आगामी दिनमा उनकाे पठनपाठनमा कुनै अवरोध नआउने गरी लाग्नेछाैँ।'

जन्मदिनको अवसरमा विपन्न खाेजेर शैक्षिक सामग्री वितरण गर्नु सिर्जनाशील कार्य भएकाे तातोपानी-६ का वडाध्यक्ष विशाल खड्काले बताए।

'सागरजीले तडकभडक छाेडेर विपन्नलाई सहयाेग गरी सह्रानीय काम थर्नुभएकाे छ,' उनले भने, 'याे काम उहाँले मात्रै नभई आगामी दिनमा हामी सबैले गर्नुपर्छ।'

शैक्षिक सामग्री वितरण कार्यक्रमले निरुकाे आर्थिक अवस्था पहिचान भएकाे हुँदा उनकाे पढाइ र घरकाे रेखदेखमा वडाबाट सकेकाे सहयाेग हुने उनकाे भनाइ छ।

निरुजस्ता विपन्नलाई सहयोग गर्नु आर्थिक स्थिति राम्राे भएका नागरिक र नजिककाे सरकारकाे सामाजिक उत्तरदायित्व भएकाे पत्रकार शुभाकर विश्वकर्माले बताए।

'सागरजीले आफ्नाे जन्मदिनको तडकभडकलाई स्थगन गरी निरुलाई सहयोग गर्नु रचनात्मक कदम हाे,' उनले भने।

कापीकलम जुटाउन धाै भइरहेकाे अवस्थामा पत्रकारले सहयोग गर्दा साह्रै गुन लागेकाे निरुकी आमा शाेभाले बताइन्। उनले भनिन्, 'दुखी गरीबकाे पनि काेही हुन्छन् भनेकाे सुनेकी थिएँ आज देखेँ।'

पत्रकार परियारले निरुलाई तीन दर्जन कापी, दुई दर्जन कलम, एउटा ज्यामिति बक्स, झाेलालगायत शैक्षिक सामग्री उपलब्ध गराएका छन्।

प्रकाशित मिति: : 2023-09-28 13:03:00

प्रतिकृया दिनुहोस्