
ईश्वरी राई (इशु)
बजारमा चिनी अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बेच्न थालेको छ। त्यही पनि प्रतिव्यक्ति दुई किलोको दर।
‘नहुनु मामाभन्दा कानो मामा’ ठिक भनेझैँ हाहाकार दुई किलो चिनी किन्ने उपभोक्ताहरूको भीड नै लागिरहेको छ। त्यही चिनी किन्नेहरूको लाइनमा थिए, ओखलढुङ्गाका ६८ वर्षका देवीबहादुर अधिकारी।
बिहानको ११ बजेदेखि लाइनमा उभिरहेका उनी दुई किलो चिनी किन्नकै लागि ओखलढुङ्गाबाट काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनमा आएका हुन्।
एक दिनअघि काठमाडौँ छिरेका उनी भन्छन्, ‘गाउँतिर चिनी पाउने भए किन यहाँसम्म आउनुपर्थ्यो र! यसो २ केजी चिनीले पाहुनालाई चियामा घोलेर दिनुहुन्छ भनेर काठमाडौँ आएँ। के गर्नु चिनीबिना त फिक्कै हुन्छ दसैँ।’
चाडपर्वमा चिनी नभई नहुने भएकाले लामो दुरीको यात्रा तय गर्नु बाध्य भएकाे उनी बताउँछन्।
०००
ओखलढुङ्गाबाट चिनी किन्नकै लागि राजधानी आएको उनी मात्र होइनन्, उनीसँगै गाउँले सीता अधिकारी पनि घण्टौँदेखि लाइनमा छिन्। सीता भन्छिन्, ‘हामी ४–५ जना उताबाट आएका छौँ, सँगै गाउँ फर्किन्छौँ।’
चाडपर्वको मुखैमा आएर चिनीको अभाव हुनुमा सरकारको दोष रहेको उनको ठम्याइ छ। यसले सर्वसाधारणलाई दुख दिएको सीताको गुनासो छ।
‘एक त दसैँमा गाडी पाइँदैन, त्यसैमाथि लामो यात्रा। हामीलाई दुख छ नि’, बिएल नेपाली सेवासँग दुखेसो पोख्दै उनले भनिन्, ‘अब गाडीमा झुण्डिएर भएपनि गाउँ त पुग्नैपर्याे नि!’
देवीबहादुर र सीतासँगै ज्येष्ठ नागरिककाे लाइनमा उभिरहेका थिए, धादिङका ७० वर्षका रामप्रसाद पौडेल। साल्ट ट्रेडिङले चिनी बेचिरहेको थाहा पाएर उनी आजै धादिङबाट काठमाडौँ आइपुगेका हुन्।
एक त थलिएको शरीर, त्यहीमाथि काठमाडौँको टन्टलापुर घाम। उनी भन्छन्, ‘सबै छोराछोरीहरू काममा व्यस्त छन्। आफूलाई चिया नभई हुँदैन, त्यसैले म आफैँ काठमाडाैँ आएँ।’
एक घण्टादेखि चिनीकाे पर्खाइमा रहेका पाैडेल चिनी किनेर आजै धादिङ फर्कने तयारीमा छन्।
त्यसैगरी कञ्चनपुरका डिल्लीप्रसाद अधिकारी पनि चिनी किन्न काठमाडौँ आइपुगेका छन्। पाँच दिनअघि काठमाडौँ आएको बताउँदै ७२ वर्षका उनी भन्छन्, ‘चिनीकै लागि काठमाडौँ आउनु मेरो रहर होइन, बाध्यता हो। यदि उतै चिनी पाइन्थ्यो भने यो बुढो शरीरले किन दुख पाउँथ्यो होला र!’
जाँड–रक्सी खाने आफूहरूको चलन नभएको कारण चिनी अमूल्य रहेको उनी बताउँछन्। ‘हामीलाई मर्दा र पर्दा पनि चिया नै चाहिन्छ, त्यसको लागि चिनी जरुरी छ’, चिनीको महत्वबारे उनले सुनाए।
कञ्चनपुरका डिल्लीप्रसादकै लाइनमा थिइन्, नयाँ बानेश्वरकी सीता श्रेष्ठ। उनी सरकारसँग रूष्ट छिन्। चाडपर्वमा सरकारकै कारण उपभोक्ताहरूले दुख खेप्नुपरेको उनको आरोप छ।
‘बजारमा चिनी प्रशस्तै छ तर व्यापारीहरूले बेचिरहेका छैनन्। कालोबजारी गरिरहेको छ। तर सरकार हातमा हात जोडेर बसिरहेको छ’, उनी रिसाउँदै भन्छिन्, ‘यो सबै पैसाको चलखेल हो।’
के भन्छ साल्ट ट्रेडिङ कर्पोरेशन?
सरकारले भदौ २७ गते साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी दिने निर्णय गर्याे। तर भारतले चिनी निर्यातमा रोक लगायो। जसकाे प्रत्यक्ष असर नेपालमा पर्याे। बजारमा चिनीकाे हाहाकार नै भयाे।
नेपालमा करिब ५० प्रतिशत चिनी भारतबाट आयात हुन्छ। त्यहीँबाट आयात हुने चिनीले उपभाेक्ताहरूकाे माग धानिरहेकाे हुन्छ। तर अचानक भारतले चिनी राेक्दा यसकाे अभाव भएकाे साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले बताए।
तत्कालका लागि सरकारले आफूहरूलाई उपलब्ध गराएकाे ७० टन चिनी भएसम्म उपभोक्ताहरूलाई निराश नबनाउने उनकाे भनाइ छ। उनका अनुसार २ केजी चिनीले पनि उपभाेक्ताहरूलाई सहज बनाउँछ।
अहिले काठमाडौँका ८ वटै आउटलेटबाट ९७ रुपैयाँ प्रतिकेजीको दरले २ केजी चिनी बिक्री भइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया