बिहिबार, १४ अगस्ट २०२५

उर्लाबारी आगलागीः उपचाररत थप एक जनाको मृत्यु 

तस्बिरः सांकेतिक
• • •

मोरङको उर्लाबारी नगरपालिका–७ मा भएको आगलागी परी घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। 

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको गएराती साढे १० मृत्यु भएको अस्पतालको जलन विभागका प्रमुख डा. किरण नकर्मीले जानकारी दिए।

आगलागीमा परेर गम्भीर घाइते भएका दाहालको आइसियुमा उपचार भइरहेको थियो। उनको मृत्यु भएसँगै उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ। 

यसअघि उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो। 

कार्तिक २६ गते लक्ष्मी पुजाको दिन उर्लाबारीका दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट आगलागी भएको थियो।

आगो निभाउन गएको समयमा ग्याँस सिलिण्डर विस्फोट भएपछि ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। 

घाइतेमध्ये २६ जनाको मोरङमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइएको थियो। जसमध्ये हाल गम्भीर घाइते ६ जनाको आइसियु (सघन उपचार कक्ष)मा उपचार भइरहेको छ।

दुई जनाको मृत्यु हुँदा एक जना निको भएर घर फर्किएका छन्। उपचाररत अन्यको अवस्था सुधार हुँदै गएको अस्पतालले बताएको छ।

बिहिबार, मंसिर ०७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)