मन्दिरा अधिकारी
दिनभर खेतमा काम गरेर फर्किएकी कान्छिमायाँलाई एक्कासी सुत्केरी व्यथाले च्याप्यो। दुई दिनको व्यथापश्चात ‘लक्ष्मी’को रुपमा ‘ईश्वरी’लाई नयाँ संसार ल्याइन। कान्छिमायाँ ‘ईश्वरी’लाई हेर्दै मख्ख परिन्। अनि ‘ईश्वरी’लाई ‘संसार’ देखाउने सपना बुन्न थालिन्।
तर, बिडम्बना ईश्वरीले संसार अनि आमा दुबैलाई देख्न सकिनन्। किनकी उनी जन्मदा नै दुबै आँखा संसार नदेख्ने भइसकेका थिए।
वि.स. २०७० ‘भाईटिका’ को त्यो दिन। दोलखाकी ६१ वर्षीया ईश्वरी घिमिरे खाना खाएर नारायणटारस्थित खगेन्द्र नवजिवन केन्द्रमा आराम गरिरहेकी थिइन्। ‘दिपावली’को समय भएकाले बाहिरको होहल्ला, जोडजोडले पट्कीएको पटकाले उनी निदाउन सकिरहेकी थिइनन्।
पटकाको चर्को आवाज अनि दुई साँझदेखि बिथोलिएको निन्द्रा। ईश्वरी पटक–पटक निदाउन कोसिस गर्थिन्। तर निन्द्रा पटक्कै परिरहेको थिएन।
जन्मजातै दृष्टिविही भएपनि कोठामा मुसो छिरेकोसमेत थाहा पाउने उनले त्यसदिन भने कोठामा मान्छे छिरेको भने पत्तो पाइनन्।
बिछ्याउनामा बसिरहेकी उनलाई पछिबाट कसैले अंगालो हाल्यो। ईश्वरीले ‘को हो, के गरेको यो’भनिन्। तर, मदिराले मात्तिएका एक पुरुषले उनलाई ‘केही हुन्न, चुप बस’ भन्दै काखमा राखेर चुम्बन गरे। अर्थात यौन दुर्व्यवहार गरे।
ईश्वरीको कोठामा उनी जस्तै (दृष्टिविहीन) अरू दुई जना थिए। उनीहरुले पनि ती पुरुषले ईश्वरीमाथि गरेको दुव्र्यवहार थाहा पाए। कोठामा दुर्व्यवहारको हल्ला भएपछि छिनभरमा केन्द्रका सबै कोठामा पुगे। चर्काचर्की भयो।
ती दुव्र्यवहार गर्ने पुरुष त्यस ठाउँबाट उम्कन अनेकन प्रयत्न गरे। तर, रिसले चुरिएका खगेन्द्रका आश्रितहरुले ती पुरुषलाई प्रहरी चौकी पुर्याए। उनी थिए। सेही केन्द्रकै कर्मचारी यज्ञराज उप्रेती।
चौकीमा दुबैजनालाई राखेर सोधपुछ भयो। ईश्वरीले आफूमाथि भएको वृतान्त प्रहरीलाई सुनाइन्।
प्रहरीमा पुगेपछि कुरा मिल्यो। तर, ईश्वरीको मनको डर भने मिलेन। एउटै जिल्लाको भएर आफूले भाई मानेको व्यक्तिले यौन दुव्र्यवहार गर्दा ईश्वरीलाई पहाडले थिचेजस्तै भयो।
भित्रभित्रै एक किसिमको डर पैदा हुन थाल्यो। उनले आफूलाई ‘असुरक्षित’ ठान्न थालिन्। एकातिर दृष्टिविहीन अर्कोतिर वृद्ध हुदैँ गएको शरीर। ईश्वरीलाई ‘के गरुँ के गरुँ’ भयो।
केन्द्रको नाम अनि त्यँहाकै कर्मचरी त्यसमाथि आफूले भाई मानेको मान्छे। कुरा बाहिर गए सबैको बदनामी हुने डर। यज्ञराज उप्रेतीले ‘रक्सी’को तालमा बिराएको भन्दै ईश्वरीसँग माफी मागे। ईश्वरीले पनि आउने दिनहरुमा यस्ता हर्कत नगर्न सुझाउँदै माफ गरिन्।
त्यसदिन ईश्वरीलाई समाजले छुटाईदिएको लैंगिक भिन्नता र पुरुषार्थदेखि रिस उठेर आयो। अनि उनलाई पहिलोपटक दृष्टिविहीन भएर बाँच्नु बेकार जस्तै लाग्यो। जिन्दगीबाट आश मर्यो। आफूलाई संसारकै अभागी मानिन्। अनि दैवसँग ‘छिटो लिन आउ’ भन्दै बिलौना गर्न थालिन्।
विगतका घटनालाई सम्झँदै उनले भनिन् ‘सायद म जस्तो अभागी कोही छैनन् होला।’ उनले बिएल नेपली सेवासँग भनिन्,‘गाउँकै भाई भनेर विश्वास गरेकी थिए। तर, मेरो कर्म नै उस्तो। नियतिले त ठगेको हामीलाई मान्छेले किन नठग्नु। म बुढी भईसकेकीलाई त यस्तो हुन्छ भने अरुलाई के ठान्छन् होला यी पुरुषहरुले।’
ईश्वरीले कल्पना समेत गरेकी थिइनन्, जीवनमा यतिसम्म भोग्नुपर्ला भनेर।
एक अविहाहित महिला। त्यसमाथि दृष्टिविहीन । समाजको हेर्ने नजर नै छुटै हुने। उनलाई कसैले दयाभाव देखाउँथे त कसैले पूर्वजन्ममा पाप गरेकोले यस जन्ममा ‘आँखा नदेख्ने’ भएको भनेर गाली गर्थे।
यतिमात्रै होइन बुबाआमालाई समेत यसको केही काम छैन, सानैँमा कतै छाडिदिएको भए सहज हुन्थो भनेर चिताउँथे। तर, सन्तान जस्तो भएपनि बाआमाका लागि ‘प्यारा’ नै हुन्छन्।
छोरी जस्तो भएपनि उनको मायामा रमाउन जानिसकेका बाआमाले गाउँले कुरा किन सुन्थे र? उसै हावामा उडाईदिन्थे। तर, गाउँलेका त्यस्ता कुरा सुनेपछि भने ईश्वरी मनमनै ‘यसरी जिन्दगी कसरी कट्ला? बाआमा रहुन्जेल सजिलो हुन्छ, त्यसपछि के गर्ने’ भनेर कल्पिरहिन्थन्।
उनले भनिन्, ‘उज्यालो कस्तो हुन्छ पनि थाहा पाइँन। पहिला त यति लामो जिन्दगी आँखाविहीन कसरी काटिएला जस्तो लाग्थ्यो, तर, खै के गरेर यती वर्ष कटाए।’
कसरी पुगिन् खगेन्द्र नवजीवन केन्द्र?
घरका छ दाजुबहिनी मध्येकी माइली छोरी हुन्, ईश्वरी। जन्मजातै दृष्टिविहीन भएपनि ईश्वरीले घरका सबै काम गर्थिन्। दिनभर घरका सबैजना बाहिरी काममा जान्थे, उनी भने भाई–बहिनीलाई लिएर घर रुगेर बस्थिन्।
बाआमा काममा गएपछि गाईवस्तुको स्याहार अनि भाई–बहिनी रेखदेख र घरको सबै काम गर्थिन्। दाई विवाह गरेर पहिल्यै छुटिएर बसिसकेका थिए। हुर्किदैँ गएका बहिनी सबैको बिस्तारै विवाह भयो।
उनको खेल्ने साथी छुट्यो, मनभरिको व्यथा बाड्ने दौतरी टाढिए। ईश्वरी एक्लै भइन्। ‘आफैँले हुर्काएको भाई–बहिनीको बिहे भएपछि घर नै शून्य लाग्ने रहेछ,’ उनले आफ्नो विगत सुनाउदैँ भनिन्,‘घर बस्नै मन लाग्न छाड्यो। मामाघर गएर बसे। केही महिना बसेपछि त्यँहा पनि बस्न मन भएन। फेरि घर फकिए।’
ईश्वरी सानैदेखि भजन गाउन निकै सिपालु थिइन्। खाना बनाउँदा, होस् या अरु काम, उनी हरपल भजन गाइरहिन्थन्। लाग्थो, ईश्वरीको प्रेमिल सम्बन्ध छ भजनसँग।
गाउँमा सप्ताह लगाउँदा होस् या कुनै पूजा खोजी ईश्वरीकै हुन्थ्यो। भजन गाउँन घरसम्मै लिन र पुर्याउन आईपुग्थे। र भजन गाएबापत उनलाई कसैकसैले पैसा दिन्थे।
केही समय उनले यसरी नै बिताइन्। तर, फेरिपनि उनलाई घर शून्य झैँ लाग्न थाल्यो। त्यसपछि उनी गाउँकै ‘काकी’ नाता पर्नेसँग काठमाडौं आइन् र विभिन्न ठाउँमा भजनकिर्तन गर्न लागिन्।
‘शुरुशुरुमा त एक्लै हिड्न सक्दिन थिएँ, धेरै अफठ्यारो हुन्थो। कि त उनीहरु नै लिन आउथे। नभए साथी लिएर जानुपर्थे,’ उनले भनिन,‘पछि–पछि चाहि ठाउँ सोधेर आफैँ जान थाले।’
भजन किर्तन जाने क्रममा उनले ‘अपाङ तथा दृष्टिविहीन’ हरुलाई गैरसरकारी संस्था ‘राइडर चेसार’ ले साहारा दिने थाहा पाइन्। त्यसपछि उनी ‘काकी’ को माध्यमबाट ‘राइडर चेसार’ मा आश्रित हुन थालिन्। जुन हाल खगेन्द्र नवजीवन केन्द्रको स्वामित्वमा रहेको छ।
०००
उमेरले छ दशक पार गरिसकेकी विगतमा घटेको उक्त घटनाले ईश्वरीलाई अहिले पनि बेलाबेलामा झस्काईरहन्छ। उनलाई कतिबेला फेरि पुरानै घटना दोहोरिन्छ कि भन्ने डर लाग्छ।
उनी दिनभर केन्द्रमा यताउता गरिरहन्छिन र रात परेपछि उहीँ कोठामा थकाई मार्न पुग्छिन्। विगत ४० वर्षदेखि उनी त्यही केन्द्रमा आश्रित छिन्।
‘अब त मलाई यो मेरो घर भन्दा प्यारो लाग्छ। त्यही भएर भदाहरुले घर लैजान्छु भन्दा पनि जान मन लाग्दैन,’ उनले भनिन्,‘त्यँहा गएपनि मर्नु हो यँहा पनि मर्नु हो। मलाई यही मर्नु मन छ।’
(नोट: पीडितको नाम उनकै सहमतिमा खुलाइएको हो।)
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया