घट्यो थोरै रोप्ने जमिन तर फल्यो धेरै धान

नेपालमा धान रोप्ने जमिन घटिरहेको छ। तर यसपालि भने अघिल्ला सालहरूभन्दा धेरै धान फलेको छ। सरकारी तथ्याङ्कले यसलाई धान उत्पादनमा ‘रेकर्ड ब्रेक’ भनेको छ। धान धेरै फले पनि नेपाल भने चामलका लागि आयातमै निर्भर छ। भारतले आफ्नाे देशबाट चामल निर्यात राेकेकाे छ। यसअघि नेपालले भारतसँग धान किनेर आफैं चामल उत्पादन गर्न खाेजेकाे थियाे। तर भारतले धान दिन मानेन। 


नेपालमा यो वर्ष धान उत्पादनको ‘रेकर्ड ब्रेक’ भएको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा नेपालमा अहिलेसम्मकै धेरै धान उत्पादन भएकाे हाे। 

यस वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङकले देखाएको छ।

अघिल्लो वर्षको तुलनामा यसपटक ४.३३ प्रतिशतले धान वृद्धि भएको हो। यसअघि २०७७–७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम हुँदा पनि उत्पादन भने बढेको मन्त्रालयले जनाएको छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले घटे पनि उत्पादन भने बढेको छ।

यस पटकको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढेको तथ्याङकमा उल्लेख छ।

आर्थिक वर्ष आव २०७६–७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, जसबाट ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो।

यस्तै, आव २०७७–०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।

२०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन भएकाे थियाे।

त्यसैगरी २०७९/ ८० मा १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन उत्पादन भएको थियाे भने यस वर्ष भने १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान राेपिएकाे थियाे। जसबाट अहिलेसम्मकै धेरै धान उत्पादन भयाे।

मन्त्रालयले जारी गरेको तथ्याङक अनुसार यस वर्ष सबभन्दा धेरै धान कोशी प्रदेश र मधेस प्रदेशमा उत्पादन भएको छ भने सबभन्दा कम कर्णालीमा भएको छ।

कोशी प्रदेशमा यस वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन हुँदा मधेशमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ।

सबैभन्दा कम धान फलेको कर्णालीमा भने एक लाख ४५ हजार ६३ मेट्रिक टन मात्रै उत्पादन भएको छ।

त्यसैगरी बागमती प्रदेशमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ धान उत्पादन भएको छ।

उत्पादकत्वको हिसाबले पनि कोशी प्रदेश सबैभन्दा अगाडि छ। कोशीमा यसपटक एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ भने सबैभन्दा कम उत्पादकत्व भने मधेस प्रदेशमा छ। मधेशमा एक हेक्टर जग्गामा औसत ३.४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार यस वर्ष सबैभन्दा धान उत्पादन हुनुको मुख्य कारण उन्नत बिउको उपलब्धता, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा कम नोक्सानी, मलखाद र कृषि औजारको सहज उपब्धता हो।

‘चामलकाे छैन अभाव’

नेपालमा हाल २५ हजार मेट्रिक टन चामल बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विवरणमा उल्लेख गरिएको छ। जसमध्ये धेरै चामल काठमाडौंमा छ भने सबैभन्दा कम पोखरामा छ।

खाद्य संस्थानको विवरण अनुसार काठमाडौंमा १० हजार, विराटनगरमा तीन हजार, धनगढीमा तीन हजार, नेपालगञ्जमा २ हजार पाँच सय, वीरगञ्जमा २ हजार पाँच सय, सुर्खेतमा २ हजार, लहानमा १ हजार पाँच सय र पोखरामा मात्र पाँच सय मेट्रिक टन चामल बाँकी छ।

त्यही माैज्दात चामलले नेपालकाे माग धान्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरकाे विश्वास छ। उनका अनुसार भारतबाट चामल आर्यात नहुँदा नेपालमा भाेकमरी लाग्दैन।

गत साउन–४ गते भारत सरकारले चामल निर्यातमा रोक लगायाे। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनअघि नेपालले वार्षिक १५ लाख टन चामल आर्यात गरिरहेकाे थियाे।

देशभित्र आवश्यक पर्ने चामलको करिब २१ प्रतिशत हिस्सा ओगटेको भारतले प्रतिबन्ध लगाएपछि अन्याेलमा परेकाे नेपाल सरकारले १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनीकाे माग गर्दै एउटा पत्र पठायाे।

तर पत्रमा लेखिएअनुसारकाे खाद्यानकाे माग पूरा भएन।

‘हामीले मगाएको जस्तो सामान पाएनौं’, उनी भन्छन्, ‘हामीले मागेकाे सामानमध्ये २५ हजार मेट्रिक टन चिनी र ९५ हजार मेट्रिक टन चामलको कोटा मात्रै पायौं तर धान पाएनाैं। त्याे सामान पनि आउने प्रक्रियामा छ।’

भारतबाट आर्यात गर्न खोजिरहेको धान भने ‘एनसेल’ मार्फत किन्न भनिरहेको छ। तर यता नेपाल सरकार भने एनसेलबाट सामान किन्न हिचकिचाइ रहेको छ। ‘बजारको मूल्यभन्दा २० प्रतिशत महँगो हुन्छ सामान एनसेलमार्फत किन्नु पर्दा। त्यसैले हामी अन्योलमा छौं’, उनले बताए।

भारतबाट चामलभन्दा पनि धान ल्याउन खोजिरहेको प्रवक्ताको भनाइ छ। उनका अनुसार भारतबाट धान आर्यात गर्दा चामल मात्र होइन भुस पनि बन्छ। जसले उद्योगहरूलाई टेवा पुर्याउँछ।

‘हाम्रो उद्देश्य भनेको भारतबाट धान ल्याउनु हो। चामल मागेको भए त दिइहाल्थ्यो तर हामीलाई चामलसँगै भुस पनि चाहिएको छ’, देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने बताउँदै उनी भन्छन्, ‘हामीले धान ल्यायौं भने चामल त पाइन्छ नै त्यहाँ निस्किएको भुस पनि काम लाग्छ। यसले उद्योगहरूलाई टेवा पुग्छ। उद्योगलाई राम्रो हुनु भनेको सरकारकै भलो हुनु हो। तर भारतले पनि धानकाे लाेभ गरिरहेकाे छ।’ 

प्रकाशित मिति: : 2024-01-21 21:50:00

प्रतिकृया दिनुहोस्