यसरी ह्यारी (एच.बी.) भए हिरा भण्डारी

प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेसमेन)का लागि उम्मेद्वारी घोषणा गरेसँगै नेपाल र नेपालबाहिर रहेका नेपालीमाझ उहाँको चर्चा सुरू भएको छ।

चर्चासँगै विभिन्न जिज्ञासा र प्रश्नहरू पनि उठेका छन्। प्रश्नहरू, खासगरी धेरैले उहाँले जित्ने हो कि हैन? अमेरिकामा पनि चुनाव जित्नका लागि पैसा चाहिन्छ र? नेपालको हरि अमेरिका पुगेर ह्यारी भएछ? ह्यारीले जितेर हामीलाई के हुन्छ? भन्ने लगायतका छन्।

सबै प्रश्नहरू जायज छन्। र, ती सबै प्रश्नको बारेमा समय क्रममा लेख्ने नै छु।

यस अंकमा भने उहाँको नामका सन्दर्भमा उठेका प्रश्नहरूको सम्बोधन गर्न यो सानो सामग्री सम्प्रेषण गरेको छु।  

उहाँको वास्तविक नामका बारेमा कमैलाई मात्र थाहा छ। तर, पनि उहाँको नामलाई लिएर नेपालको हरि अमेरिका गएर ह्यारी भयो भनेर सतहीमा उडाउनेहरू धेरै भेटिन्छन्।

भनाइ छ, सूचना शक्ति हो। तर, त्यो सही छ भने मात्र। उहाँको नामका बारेमा पनि सही सूचना भएर लेख्न सकियो भने अर्थ हुने हो। तर, उहाँको नामका बारेमा केही थाहा नै नभई अन्टसन्ट लेखियो भने एक छिनलाई मनको लड्डु त घ्युसँग खाइएला तर जसलाई थाहा छ, उसको नजरमा नराम्ररी गिरिन्छ। र, आफूलाई पनि यथार्थ थाहा भएपछि एक किसिमको ग्लानी हुन्छ।

त्यही भएर धेरैका लागि जानकारी होस् भनेर डेलिगेट डा. ह्यारी भण्डारीको नामका बारेमा केही लेख्नैपर्ने भए जस्तो लागेर यो सामग्री तयार पारेको हुँ। 

उहाँको अफिसियल नाम अहिले पनि ह्यारी (एच.बी.) भण्डारी नै हो। एच.बी. को पूरा रूप हो हिर बहादुर। अमेरिकामा नाम हिर बहादुर थर भण्डारी, यो नाम शुद्धसँग उच्चारण गर्न पनि गाह्रो छ। यस्तो नाम राखेर चुनावमा जाँदा त झन् जोखिम हुन्छ। त्यसैले अमेरिकामा बोलचालमा निक नेम राख्ने प्रचलनको प्रयोग गरेर नै डेमोक्रेटिक पार्टीले उहाँलाई यो नाम सुझाव गरेको हो।

धैरै मान्छेले उहाँको नाम हरि हो, ह्यारी भयो भन्ने ठानेर सनातनी पाराले उडाएको पनि पाइन्छ। तर, उहाँको सन्दर्भमा त्यो सनातनी अनुमानले काम गर्दैन।

वास्तवमा उहाँको नाम हिरा थियो तर एसएसलसीको फर्म भर्ने क्रममा HIRA को A छुट्याएर HIR मात्र लेखिएछ। त्यसपछि नेपालीमा पनि हिर लेख्नुपर्ने भयो।

यसरी उहाँ हिरा बहादुरबाट हिर बहादुर (एच.बी.) हुँदै ह्यारी (एचबी) हुनुभएको हो। अहिले पनि उहाँको अफिसियल नाम ह्यारी (एच.बी.) भण्डारी नै हो।



वास्तवमा एउटा भनाइ छ, नाममा के हुन्छ र त्यस्तो ? अनि यसको उत्तर पनि छ, नाममा त्यस्तो केही हुँदैन यो त एक परिचय मात्र हो, जे छ काममा नै हुन्छ।
हिर बहादुर भने पनि एचबी भने पनि ह्यारी भने पनि उहाँ अमेरिकाको नेपाली समुदायको इतिहास हो, राजनीतिमा नेपाली मूलको पहिलो अमेरिकी राज्यसभा सांसद, शिक्षामा विद्यावारिधि त्यो पनि नेपालीकै विषयमा शोध गरेर। उहाँको विद्यावारिधि शोधको शीर्षक हो, ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’।
उहाँ फरक बाटो हिडेर फरक गन्तव्यमा पुग्नुभएको एक मानक नेपाली हुनुहुन्छ। हामी नेपालीले उहाँको नाम के हो भन्न छोडेर उहाँले बनाउनुभएको मानकतिर लागौं।

हामीले उहाँका बारेमा सही कुरा भन्यौं भने खासगरी अमेरिकामा रहेका हाम्रा छोराछोरीले पनि सगर्व भन्नेछन्, ' सफलता होस् त डा. ह्यारीको जस्तो, इतिहास होस् त डा.ह्यारीको जस्तो।

उहाँले अमेरिकाकै सबैभन्दा पुरानोमध्येको मेरिल्याण्ड राज्यको सांसदका  रूपमा गरेका काम ऐेतिहासिक छन्। बितेका ६ वर्षमा उहाँले २१ कानून बनाउनु भएको छ। त्यसमा पनि दशै विधेयक नेपाल र नेपालीका लागि बनेको एक ऐतिहासिक कानून हो। मेरिल्याण्डको राज्यको कानूनमै दशै नेपालमा पार्दुभाव भएको एक सांस्कृतिक चाड भएको र यसको मूल मर्म बसुधैव कुटूम्बकम हो भनेर रोमनमै लेखिएको छ। यही कानूनको आधारमा मेरिल्याण्ड राज्यमा हरेक वर्षको अक्टोबर ५ लाई दशै डेका रूपमा राज्यले नै मान्यता दिएको छ।

यस अतिरिक्त उहाँले मास सुटिङमा मारिएका एक नेपाली युवा सागर घिमिरेका नाममा विधेयक नै प्रस्तुत गर्नुभएको छ। जुन कानुन बन्ने प्रक्रियामा रहेको छ।

ह्यारीले अमेरिकामा एक नेपालीले गर्न सक्ने मानक काम गर्नुभएको छ। उहाँले अमेरिकाको मूलधारको राजनीतिमा नेपालीलाई सफलतापूर्वक प्रवेश गराउनु भएको हो। यस अतिरिक्त उहाँले हजारौ नेपाली विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था गर्नुभएको छ, बाल्टिमोरमा रहेका दुई नेपाली संस्थाका लागि लाखौं डलर सरकारी बजेट ल्याउनु भएको छ। अमेरिकामा दु:खद निधन भएका २०भन्दा बढी नेपालीका शव नेपाल पठाउनु भएको छ भने त्यतिकै संख्यामा शवदहनको व्यवस्था पनि अमेरिकामा गर्नु भएको छ। 

यिनै कामका लागि चिनिनु हुन्छ, डा. ह्यारी भण्डारी। नाम जे भए लेखिए पनि यी मानक काम गर्ने व्यक्ति अरू नभएर डेलिगेट डा.ह्यारी भण्डारी नै हुनुहुन्छ।

यसको अर्थ यो हैन कि उहाँको देवत्करण गर्नुपर्छ, त्यस्तो पनि हैन। तर, उहाँ जे हो, जे डिजर्भ गर्नुहुन्छ, त्यो चाँहि हामीले खुल्ला मनले भन्न सक्नुपर्छ।त्यसले उहाँलाई  राम्रो काम गर्न थप प्रेरणा मिल्छ।

यो लिंक पनि पढ्नुभए राम्रै हुन्छ।
https://breaknlinks.com/nepali/news/35172177

प्रकाशित मिति: : 2024-02-01 21:55:00

प्रतिकृया दिनुहोस्