काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

केन्द्रीय अधिवेशनपछि पार्टी जीवनमा महत्वपूर्ण मानिने ‘महासमिति’ बैठकको पूर्वसन्ध्यामा नेपाली काँग्रेसभित्र गुट र समूहका आवाजहरू सल्बलाइरहे। 

पार्टीभित्र लामो रस्साकस्सी र विवादहरूपछि टुङ्गो लागेको महासमिति बैठक पनि पुसबाट फागुनमा सारिएको थियो। यो बैठकलाई भव्य र अर्थपूर्ण बनाउनका लागि नेपाली काँग्रेसले लामो तयारी थालेको थियो। 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। 

बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

समूहहरूको सक्रियतामात्रै होइन, यो समितिमा पेश हुने प्रस्तावहरूको विषयमा पदाधिकारीबीच विवाद पनि सतहमा आएका छन्। 

सोमबार (फागनु ७ गते)देखि हुने बैठकमा छलफलका लागि पेश गर्न तयार पारिएको महामन्त्रीको प्रस्तावमा सभापति शेरबहादुर देउवाले प्रश्न उठाएका छन्। 

गठबन्धन र कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिका विषयमा छलफल प्रस्ताव भएपछि त्यस विषय हटाउनु पर्ने देउवाले अडान लिएका छन्। 

विवाद यसमा मात्र कहाँ हो र? महासमितिको बैठकको तयारी भइरहँदा काँग्रेसीहरू विभिन्न विषय सतहमा ल्याएर बहस गरिरहेका छन्। एउटा समूह हिन्दु राष्ट्रको विषय उठाउँदै महासमित बैठकमा छलफल हुनुपर्ने माग गरेको छ। 

२२ जना केन्द्रीय सदस्यले सभापित देउवालाई बैठकमा हिन्दुराष्ट्रको विषयमा छलफल हुनुपर्ने हस्ताक्षर नै बुझाइसकेका छन्। हिन्दुराष्ट्र र राजतन्त्रको माग राप्रपाको जस्तो देखिदै आएको छ। 

तर काँग्रेसमा पनि विस्तारै हिन्दुराष्ट्रको आगो सल्किदैछ। कुनै समय हिन्दुराष्ट्रको माग गर्नेमा काँग्रेसभत्रि स्वर्गीय खुमबहादुर खड्काको नाम आउँथ्यो। उनको २०७२ चैतमा १६ गते मृत्युपछि काँग्रेसमा हिन्दु राष्ट्रको काँध थाप्ने माथिल्लो तहको नेतामा पूर्व महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी थिए। 

अहिले शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान’ (फागुन ५ गते) नै घोषणा भएको छ। यो महाअभियान त्यसै घोषणा भएको होइन। जसमा देउवाको पनि हात छ। 

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेर निस्केपछि त्यो बेला खड्कासँग अरु कुनै राजनीतिक एजेन्डा थिएन। पार्टीभित्रको राजनीति एक हिसाबले समाप्त भइसकेपछि खड्काले राजनीतिमा फेरि आफूलाई बलियो बनाउन एउटा बाटो रोजेका थिए- हिन्दु राष्ट्र नेपाल। 

करिब १० वर्षपछि काँग्रेसीहरूले ब्यूँताएको त्यो ‘महाअभियान’लाई अहिले नेतृत्व गर्ने र त्यसमा लाग्नेहरू पनि त्यो बेला खड्काकै पछि लाग्नेहरू नै छन्। 

हिन्दुराष्ट्रका विषयमा काँग्रेमा दुई धार छ। संविधानमा व्यवस्था भएको धर्मनिरपेक्षको विकल्प सोच्न नसकिने एउटा धार र अर्को संविधान परिवर्तन गरेर हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने धार छ। हिन्दुराष्ट्रका विषयमा सकारात्मक भएजरी देउवा अभिव्यक्ति दिँदै हिडेका छन्।

संविधान बनेर कार्यन्वयनमा गएको ८ वर्षसम्म हिन्दुराष्ट्रका विषयमा नबोलेका देउवा अहिले हिन्दुराष्ट्रका विषयमा छलफल गर्न सकिने अवस्थामा किन पुगे? त्यो उनले खुलाएका छैनन्। 

तर उनले मंसिरको दोस्रो साता नवलपरासीमा काँग्रेको जिल्ला महाधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए– ‘गणतन्त्र र संघीयतामा प्रश्न उठाउन पाइँदैन। तर धर्म निरपेक्षताको विषयमा बहस गर्न सकिन्छ।’ यसैपछि हो काँग्रेसमा हिन्दुराष्ट्रको विषयमा थप छलफल बलियो बन्दै गएको। 

भण्डारीको नेतृत्वमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा भएको छ। यसले संविधान संशोधन गर्न पार्टीलाई दबाब दिने र हिन्दुराष्ट्रका विषयमा पार्टीमा बलियो मत तयार गर्ने नीति लिएको छ। 

शनिबार काठमाडौँको थापागाउँमा घोषणा गरिएको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महाअभियानकी सल्लाहकार पुष्पा भुसालले हिन्दु राष्ट्र निर्माणमा काँग्रेसले नेतृत्व लिनुपर्ने माग गरिन्। 

‘हिजो नेपाल विश्वभर हिन्दुराष्ट्रका रुपमा परिचित थियो। आज धर्मनिरपेक्षका रुपमा हिन्दुराष्ट्रको परिचय गुमेको छ। अब गुमेको त्यो परिचय पुन: बनाउन काँग्रेसले नेतृत्व लिनुपर्छ’, पूर्व सांसदसमेत रहेको भुसालले भनिन्।

काँग्रेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले त लोकतन्त्र शब्दप्रतिनै प्रश्न उठाए। ‘संविधानमा लोकतन्त्र र धर्मनिरपेक्षता भन्नेछ। यो हुन सक्दैन’ उनले भने, ‘लोकतन्त्रको ठाउँमा प्रजातन्त्र र धर्मनिरपेक्षको ठाउँमा हिन्दुराष्ट्र राख्नुपर्छ।’

काँग्रेका केही व्यक्ति हिन्दुराष्ट्रका विषयमा वकालत गरिरहँदा भने पार्टीमा मतैकता छैन। पार्टीसभाति देउवाले यस विषयमा छलफल गर्न सकिने ढोका भने खोलिदिएका छन्। जसले एउटा समूह अभियान लिएर हिडेको छ।

महासमिति बैठकमा यो छलफलको विषय बन्ने वा नबन्ने भन्नेमा काँग्रेसले केही भनेको छैन। केही नेताहरू छलफल नहुने बताउँछन्। काँग्रेका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल यस विषयमा कुरै गर्न चाहँदैनन्। 

हिन्दुराष्ट्रको माग एउटा समूहले उठाइहँदा काँग्रेको सधैंको गुट शेखर कोइराला पक्षले भने काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने गरी महासमिति बैठकमा छलफल गर्नुपर्ने माग गरेको छ। 

जसको भेटघाट स्वरुप आइटबार पुरानो बानेश्वरको एक होटेलमा छलफल तथा चियापानसमेत गर्‍यो।

देशभरिबाट आएका आफ्ना पक्षका महासमिति सदस्यहरूलाई बोलाएर काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गठबन्धनले गर्दा काँग्रेसको मौलिकता हराउँदै गएको बताए। 

‘विपी कोइराला, कृष्णप्रसाद भट्टराईले हामीलाई छाडेर गएको काँग्रेसको मौलिकता गठबन्धनले हराउँदै गएको हो कि भनेर मलाइ चिन्ता लागेको छ’, उनले आइतबार भएको चियापान कार्यक्रममा भने, ‘यसका विषयमा महासमित बैठकमा तपाईहरूले कुनै करकाबविना विचार राख्नुहुनेछ भन्ने सोचेको छु।’

उनले नेपाली काँग्रेस कहिलेसम्म कम्यूनिस्टहरूको पछि लागिरहने? भनेर प्रश्न पनि उठाए। उनीसँगै रहेका महामन्त्री गगन थापालगायतका नेताहरूले पनि काँग्रेसको ‘गठबन्धन’ मोहका बारेमा पटक–पटक प्रश्न उठाइरहेका छन्।  

‘जिल्ला जिल्ला घुम्दा धेरै साथीहरूले नेपाली काँग्रेस कहिलेसम्म कम्युनिस्टको पछि लागिरहने? भनेर प्रश्न गर्नुहुन्छ’, कोइरालाले भने, ‘गठबन्धनमा लागेर केही सिट जितेका हौंला तर काँग्रेसको भोट प्रतिशत निरन्तर घटिरहेको छ। हामी एक्लै लड्नसक्ने कहिले हुन्छौं? महासमितिको बैठक यसबारेमा पनि टुङ्गोमा पुग्नुपर्छ।’

महासमितिको बैठकको पूर्वसन्ध्यामा संस्थापनइतरपक्षका नेताहरूले छलफल गरेर काँग्रेस गठबन्धनले गर्दा कमजोर हुँदै गएको बताएपछि बैठकमा यसविषयमा छलफल हुने देखिन्छ। सांसद डा. सुनिल शर्मा सरकारका विषयमा गहन छलफल गर्नुपर्ने बताउँछन्। 

‘सरकार जनताका पीडामा मलहम लगाउन सकेको छैन। जनतलाई सुशासन दिन सकेको छैन। काँग्रेस देशकै ठुलो पार्टी भएकाले पनि जनताका मुद्धामा काँग्रेस जिम्मेवार हुनुपर्नेबेला आएको छ। यस विषयमा महासमिति बैठकमा छलफल हुन जरुरी छ’, उनले बिएल नेपाली सेवासँग भने।  

प्रकाशित मिति: : 2024-02-18 20:45:00

प्रतिकृया दिनुहोस्