हजार सपनाहरु १० सेकेन्डमा ध्वस्त भए

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती हक्की स्वभावका छन्। हरघडी जनताको सेवामा तल्लीन रहने हुनाले २०७४ सालमा निर्वाचित उनी २०७९ को निर्वाचनमा पुन: निर्वाचित भए।

प्रष्ट वक्ता नगर प्रमुख घर्तीको समाजलाई हेर्ने, बुझ्ने दृष्टिकोणसमेत भिन्न छ। बोली र व्यवहारमा भिन्नता हुनु हुँदैन भन्ने मान्यता राख्छन्।

पहिलो कार्यकालको आधाउधी समय कोरोना महामारीसँग जुत्दै गयो। बाँकी रहेको समयमा उनले धेरै काम गरे। अपेक्षाकृत कामहरु गर्न सकेकै कारण जनताले उनलाई पुन: निर्वाचित गरे।

तत्काल परिणाम दिने गरी काम गर्ने उनको चर्चा कम छ। मिडियामा पनि उस्तो छाउँदैनन्। तथापि उनले अघिल्लो कार्याकालमै जनताको मन जित्ने गरी काम गरेका थिए।

द्रुत गतिमा विकास निर्माणका कामहरु अगाडि बढाएका उनले समाजमा व्याप्त विकृतिको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।

उनको अगुवाइमा नगरका सबै वडा सडक सञ्जालमा जोडिएका थिए भने तिनको स्तराेन्नति गर्ने काम पनि उनकै कार्यकालमा भएको थियो।

सबै वडा कार्यालयमा कर्मचारी व्यवस्थापन, सम्पत्ति कर ऐन पारित गरी कार्यान्वयन, केन्द्र सरकारसँगको सहकार्यमा नगरका सबै वडामा विद्युत विस्तार, खलंगा सहलगानी बृहत खानेपानी आयोजना सम्पन्न, तल्लो थाप्ले बसपार्क व्यवस्थापन, बृहत कुदु खानेपानी आयोजना सम्पन्न गर्न उनले आफ्नो तर्फबाट सबै किसिमका प्रयत्नहरु गरे।

विद्यालयमा शिक्षक समायोजन, नगरका १३ वटै सामुदायिक विद्यालयहरुको प्रभावकारी व्यवस्थापन, सामुदमयिक विद्यालयहरुको अनुगमन गरि समस्या बुझ्ने समाधान गर्ने गरेका थिए।

प्रत्येक वर्ष प्रथम मेयर घुम्ती स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य चौकीमा कर्मचारी व्यवस्थापन, औषधि व्यवस्थापन र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गराउनमा महत्वपूर्ण भूमिका खलेका मेयर घर्तीले ६ वटा महत्वपूर्ण आयोजनाको व्यवस्थित डीपीआरसमेत गरेका थिए।

नगरप्रमुख घर्तीले नगरपालिकामा रहेको बडामालिका धार्मिक स्थलको डीपीआर निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने योजना बनाएका थिए। अभियान सञ्चालन गरी नगरलाई सरसफाइयुक्त घोषणा गरे।

भेरी नगरपालिका बालबालिकामैत्री नगर घोषणा गर्ने, भेरी नगरपालिका-५ डाप्कामा प्रदेश स्तरीय अत्याधुनिक खेलकुद रंगशाला निर्माण गर्नेलगायतका महत्वाकांक्षी योजनाहरुको कार्यान्वयमा उनको भूमिका उल्लेखनीय छ।

'पहिलो कार्यकाल कोरोना महामारीसँग जुध्दै गयो। यो कार्यकालको सुरुवाती दिनमा भुइँचालोले दु:ख दियो। जनप्रतिनिधि जीवन नै विपत्तिसँग जुत्दै जाला जस्तो छ', उनले भने, 'कर्णालीको कठिन भूगोलमा काम गर्नुका कयौँ कठिनाइहरु छन्। तथापि हामी कोसिस गरिरहेका छौँ।'

कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौँ संस्करणमा 'संकट र सेवा' सत्रमा भाग लिन सुर्खेत पुगेका उनले कर्णालीमा धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन साह आए पनि फ्लप हुने बताए।

'बरु हामी काठमाडौँ गयौँ भने सफल हुन्छौँ,' उनले भने, 'हाम्रा भौगोलिक सीमितता र आन्तरिक आम्दानी नहुँदाका बाबजुद पनि हामीले सकेको गरिरहेका छौँ। संकटमा सेवा गर्न सक्यौँ।'

कार्तिक १७ गते राति ११ बजेर ५७ मिनेटमा गएको भूकम्पबाट भेरी नगरपालिका निकै प्रभावित बन्यो। भेरी नगरपालिकाका ४६ जनाको मृत्यु भयो। नगर प्रमुख घर्तीको भाषामा भन्ने हो भने हजार सपनाहरु १० सेकेन्डमा ध्वस्त भएका थिए।

यतिका जनाले ज्यान गुमाउँदा हरेस खाएको खण्डमा सेवाका गतिविधि सञ्चालन गर्न कठिन हुनेवाला थियो। त्यसैले मन दह्रो बनाएर काममा लागेको उनले बताए। 'एक/दुई जना मर्दा कठिन थियो। त्यतिका जना मरेपछि विस्तारै हामीलाई बानी पर्‍याे', उनले भने।

उनका अनुसार नलगाढ नगरपालिकाकी उपप्रमुखको सरिता सिंहको मृत्यु पनि भेरी नगरपालिकामा भएको थियो। उनले भावुक हुँदै भने, 'चार/पाँच घण्टा अगाडिको उपमेयर भूकम्प लगत्तै लास भइसक्नुभएको थियो।'

उनले आफू जनप्रतिनिधि भएको हुनाले आँट र आत्मविश्वासको लेभललाई बढाउन जुरूरी ठानेर लागेको बताए।

'२४ घण्टाको अवधिमा हामीले खोज र उद्दार कार्य पूरै सकेका थियौँ। मैले कठिन समयमा पनि राज्यको शासकीय संरचनालाई सम्झेँ र संघीयताको सुन्दर पक्ष भनेको यही हो भन्ने ठानेँ,' उनले भने, 'तर राहतको सवाल हाम्रो बसमा थिएन। त्यसैले कयौँ नागरिकका आवश्यकता पूरा गर्ने सवालमा हामी चुक्यौँ।'

दक्षिण एसियालीहरु भावुक हुन्छन्। यो कुरा विपतको बेला पुष्टि हुन्छ। जसलाई मेयर घर्तीले प्रत्यक्ष देखे। 'विपतको बेला हामी एक्ला थिएनौँ। हामीसँग दायालुहरु धेरै थिए,' उनले भने, 'हामीले धेरैजसो राम्रा मान्छे मात्रै देख्यौँ। राम्रा मान्छेको कारण पीडितले छिटो खानेकुरा पाए।'

मेयर घर्तीले देखेको सुन्दर संघीयतामा अहिले पनि तमाम नीतिगत समस्याहरू छन्। सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा पालिकाका प्रमुखहरुको मर्यादा प्रमुख जिल्ला अधिकारीको भन्दा अगाडि छ। तर जिल्लामा हुने विपत व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी र पालिका प्रमुखहरु सदस्य हुन्छन्। यसले संकटको बेला केही समस्याहरु सृजना हुने गरेका छन्।

यही व्यवस्थामा स्थानीय विपत व्यवस्थापन समितिको अधिकार मिचिएको छ। संविधानले स्पष्ट रुपमा विपत व्यवस्थापनको अधिकार स्थानीय तहलाई नै दिएको अवस्थामा समेत आफ्नै हातले राहत दिन नसक्दा पालिका प्रमुखले जनताको गाली खानु परेको उनको अनुभूति छ।

'अब विपत प्रतिरोधात्मक कर्णाली बनाउने परिकल्पना हुन जरुरी छ,' उनले भने, 'हामीले जाजरकोट भूकम्प र यसका असर ४ महिनामै बिर्सना थालिसक्यौँ। यसलाई बिर्सियौँ भने आगामी दिनमा आउने ठुला विपत्तिबाट ठुलो मात्रामा क्षति व्यहोर्नुपर्ने हुन सक्छ।'

कर्णालीमा अनेक विपत छन्। विपत प्रतिरोधात्मक कर्णाली बनाउने आँट सबै तहका सरकारको हुनुपर्ने र सबैभन्दा बढी समुदायलाई संकटका कक्षाहरु दिनुपर्ने नगर प्रमुख घर्तीको भनाइ छ।

प्रकाशित मिति: : 2024-02-23 14:23:00

प्रतिकृया दिनुहोस्