महानगरमा मनपरी- बालेन कर्मचारी तर्साउने, प्रहरी मान्छे पिट्दै हिँड्ने

उमेश थापा

काठमाडौं

चर्चा अनि आलोचना काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका सुरुवाती पहिचान नै हुन्। नक्सा पासबिनाका घरहरूमा डोजर हान्नेदेखि पुरिएका खोलाहरू खोतल्दासम्म बालेनको राम्रै चर्चा परिचर्चा भयो।

त्यसपछि उनी सडकपेटीका व्यापारी उठाउन लागे। आफ्ना सिपाही(नगर प्रहरी) लगाएर ठेलागाढा खोस्नेसम्मका हर्कत गर्न थालेपछि उनको फेरि आलोचना हुन थाल्यो।

सँगै उनले यो काममा प्रशंसा भने नपाएका होइनन्, तर साइकलमा चटपटे बेच्नेदेखि तरकारी बेच्नेहरूसम्मलाई उनका सिपाहीले लछारपछार गर्न थालेपछि भने उनको प्रशंसाभन्दा धेरै आलोचना हुन थाल्यो।

जसरी उनले महानगर सुधार्न आफ्ना ‘महानगर सेना’ खटाइरहेका छन्, सामाजिक सञ्जालमा उनको बचाउ गर्ने दस्ता पनि सुरुवातदेखि नै तयार छ। जसले उनका आलोचना गरिएका हरेक ‘कन्टेन्ट’हरूमा गालीको वर्षा गरिदिन्छन्।

केही न केही गरेर चर्चा र आलोचनामा छाइरहने मेयर बालेन साह बुधबार एकैचोटी धेरै कारणले चर्चामा आए। एकाबिहानै उनकै महानगरमा काम गर्ने एकजना कर्मचारीले उनीमाथि आर्थिक बिचलनको गम्भीर लगाएर सामाजिक सञ्जालमा एउटा सन्देश छोडे।

उनैले हटाएका महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले मेयर बालेनमाथि महानगरवासीले तिरेको अर्बौं करको दुरुपयोग गरेको आरोप लगाए।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेयर बालेन साहले नियुक्ति गरेका १६६ जनाले अहिलेसम्म महानगरको १ अर्बभन्दा बढी पैसा खर्च गरेका छन्। उनले त्यो पैसा फिर्ता गर्नुपर्छ। त्यो १६६ जनाले खाएको पैसा नगरवासीले तिरेको कर हो।’

दिउँसोपख फेरि अर्को एउटा ‘काण्ड’मा बालेन छाए। महानगरकै अर्की एकजना महिला कमर्चारीले उनीमाथि ‘मानसिक यातना’ गरेको आरोप लगाएर एउटा लामो सन्देश फेसबुकमा लेखिन्। दिनभरिजसो उनको त्यही स्टाटस जस्ताको त्यस्तै टाँसेर मेयर बालेन साहको त्यो ‘हर्कत’ नेपाली मिडियामा ‘हेडलाइन’ बनिरह्यो।

उनी महानगरमा कार्यरत वरिष्ठ कानुन अधिकृत (आठौँ तह) हरिमाया (सस्मिता) घिमिरेले मेयर साहको प्रशासनले लामो समयदेखि विनाकारण जिम्मेवारीविहीन बनाएको आरोप लगाइन्।

उनले बिना कारण आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै अब कानुनी लडाइँ सुरु भएको घोषणा पनि गरेकी छिन्।

‘मलाई काम गर्न किन नदिएको त्यस्को लिखित जवाफ दिनुहोस् भन्दा त्यो पनि आजसम्म दिइएको छैन। तलब दिएको छ घरमा टिकटक बनाएर बस्नुहोस् भन्ने जवाफ सोभन्दा अगाडि प्रसासन प्रमुखबाट पाएको थिएँ’, उनले लेखेकी छन्।

त्योसँगै उनले मेयर बालेनमाथि अर्को गम्भीर आरोप पनि लगाएकी छिन्। घिमिरेले आफ्ना नजिकका वकिलहरूलाई मोटो रकम दिएर महानगरको कानुनी मामिला हेर्ने जिम्मेवारी सुम्पेको पनि बताएकी छिन्।


बालेनले मानसिक यातना दिएकाे कर्मचारीकाे आरोप, कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत दिइएन


‘अहिले कामपामा कानुनमा दरबन्दी खाली राखिएको छ। कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोली मेयरले करारमा नियुक्त गर्नुभएको छ। जसको प्रशासनिक खर्च वार्षिक लाखौँ हुन्छ’, उनले लेखेकी छिन्, ‘आफ्नो स्थायी कर्मचारीचारीको स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला?’

दिनभरि यो समाचारले चर्चा पाइरह्यो। बालेनको आलोचना अनि चर्चाले सामाजिक सञ्जाल र सञ्चारमाध्यमका भित्ताहरू बाक्लिइरहेका थिए।

साँझपख फेरि अर्को एउटा भिडियो सामाजिक सञ्जालमा एकैछिनमा भाइरल हुन थाल्यो। सुन्धारा क्षेत्रमा व्यापार गरिबसेकाहरूसँग नगर प्रहरी लछारपछार गरिरहेका थिए। उनीहरूले ती व्यापारीमाथि लाठीसमेत वर्षाइरहेका थिए।

त्यो झडपमा आधा दर्जनभन्दा धेरै व्यापारी घाइते भएका छन्। बालेन र महानगर प्रहरीको फेरि आलोचना हुन थाल्यो। सडक र फुटपाथ व्यापारीमाथि हाबी हुँदै गएको महानगर प्रहरीले उनीहरूमाथि अब लाठी पनि चलाउन थालेपछि त्यो आदेश कसले दियो भन्ने बहस र चर्चा चल्न थालेको छ।

आलोचनाले थिचिन थालेपछि बालेनले त्यो घटनामाथि छानबिन गर्ने भनेका छन्। तर त्यस घटनाबारे उनी बोलेका छैनन्। महानगर प्रहरी सञ्चालन ऐन २०७२ले कहिँकतै नगरप्रहरीलाई त्यसरी ‘बल’ प्रयोग गर्ने अधिकार दिएको छैन।

यसअघिमात्रै मेयर बालेनले महानगरका केही कर्मचारीहरूलाई निलम्बन गरेका थिए। ती कर्मचारीहरूसँग मिलेर ‘कीर्ते’ गरेको भन्दै उनले तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी चढ्ने गाडी पनि खोसिदिए। उनको कार्यकक्षमै ताला लगाएर उनलाई कार्यालय छिर्नै दिएनन्। त्यसपछि उनी बिदामै रहँदै मन्त्रालयबाट सरुवा भए।

उनको स्थानमा प्रदीप परियार प्रशासकीय अधिकृत महानगर छिरे। कर्मचारीहरूलाई ‘आफूखुसी’ कारबाहीको डन्डा चलाएको भन्दै यसअघिको नगरसभा बैठकमा सदस्यहरूले बालेनको चर्को आलोचना पनि गरेका थिए।

अहिले पनि महानगरको कर्मचारी प्रशासनमा ‘बालेन डर’ व्यापक फैलिएको छ। आफैँले हटाएका कर्मचारीले आफूमाथि आरोपहरू लगाउन थालेपछि बालेनको सचिवालय अदालतमा मानहानीको मुद्दा लिएर जाने तयारीसमेत गरेको छ।

श्रीमतीसँग ‘सोर्स’ लगाएको भन्दै कर्मचारी निलम्बन

केही समयअघि महानगरमा कार्यरत एकजना स्वास्थ्य कर्मचारी दमन नेगी बालेनकी छोरीलाई खोप लगाउन उनकै घरमा पुगेका थिए।

नेगीकी श्रीमती पनि स्वास्थ्यकर्मी हुन्। उनी काठमाडौँ बाहिर अर्को पालिकामा छिन्। गर्भवती आफ्नी श्रीमतीलाई पनि नेगीले काठमाडौँ महानगरमै ल्याउन खोजेका थिए। तर उनको कुरा बालेनले सुन्दै सुनेनन्।

बालेनकी छोरीलाई खोप लगाउन उनकै घरमा पुगेका बेला नेगीले बालेनकी श्रीमतीलाई आफ्नी श्रीमतीको सरुवाका लागि भनिदिन आग्रह गरेका थिए।

त्यही निहुँमा बालेनले नेगीलाई निलम्बन नै गरिदिए। पछि फेरि नेगी हाजिर भएका छन्। कर्मचारी स्रोतका अनुसार नेगी पनि पौडेलसँगै कारबाहीमा परेका हुन्। 

प्रकाशित मिति: : 2024-02-29 21:28:00

प्रतिकृया दिनुहोस्