रविको रफ्तार: गृहमन्त्रालयदेखि गृहमन्त्रालयसम्मै

जीवन डाँगी

काठमाडाैं
file photo via mysansar
file photo via mysansar

देशीय राजनीतिको छोटो समयमा सबैभन्दा धेरै विम्ब बनाइएका एउटा पात्र हुन्, रवि लामिछाने। जसले जति छोटो समयमा नेपाली राजनीतिक आकाशमा रवि उचालिए उति नै धेरै विवाद र आलोचनाका घेराहरूमा पनि उसैगरी घेरिए।

इस्लाममा एउटा खुब चल्तीको भनाइ छ- मुल्लाहका दौड मस्जिद तक…! राजनीतिमा निकै गड्गडाएका रविको रफ्तार पनि आखिरमा त्यही भयो, जहाँबाट उनको सिंहदरबार यात्रा सुरु भएको थियो- गृहमन्त्रालयदेखि गृहमन्त्रालयसम्मै।

६२ घण्टा लामो अन्तर्वार्ता चलाएर गिनिज बुकमा नाम लेखाएका रविको चर्चा एउटा पत्रकार(टेलिभिजन प्रस्तोता)का रुपमा जति उँचो भयो राजनीतिक यात्राका एकाध पलहरूमा उनका चर्चा र विवादहरू उसैगरी ओइरिन थालेका थिए।

असारमा पार्टी बनाएर मंसिरको चुनावमा होमिएको उनको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ २०७९ सालको चुनावमा एउटा अप्रत्यासित र चामत्कारिक भोट लिएर संसद छिर्न सफल भयो। कैयौँ पुराना दलहरूलाई पछारेर रास्वपाले कलिला अनुहारहरू संसदभित्र छिरायो।

‘लोकप्रिय’ मतका पेटी फुकाउनै हतार भो। एउटा अर्को त्यस्तै अप्रत्याशित गठबन्धन लिएर रवि स्वाट्टै सिंहदरबार छिरिहाले- त्यो पनि उपप्रधानसहित गृहमन्त्री बनेर। नेपाली राजनीतिमा उनी यस्ता एक दुर्लभ पात्र हुन्, जसले पहिलो संसदीय यात्रामै उपप्रधान अनि गृहमन्त्रालय पाए। मतको चमत्कारले चम्किएका रवि ३३ दिनमै निभे।

दोहोरो नागरिकताको मुद्दामा सर्वोच्चले उनको विपक्षमा फैसला सुनाउँदै उनको संसद पद नै ‘अयोग्य’ तुल्याइदियो।

तर, त्यसले मात्रै उनको राजनीतिक यात्रा रोकिनेवाला थिएन। भनेअनुसारको प्रक्रिया पुर्‍याएर रविले फेरि नागरिकता झिके अनि ‘उपचुनाव’को तयारीमा जुटिहाले। फेरि पार्टीको सभापति पनि भएर।

अर्थविज्ञका रुपमा चर्चा कमाएका स्वर्णीम वाग्लेको साथले एक कद उचालिएर फेरि उनी आफ्नै क्षेत्रमा चुनाव लडे। यो उपचुनावमा उनको मत झन् चुलियो। सुरुको चुनावमा उनले ४९ हजार २६१ मत पाएर संसद छिरेका रवि त्यसको लगभग पाँच महिनापछि भएको उपचुनावमा ५४ हजार १७६ मत ल्याइ फेरि फर्के।

टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाउने यी पत्रकार राजनीतिमा पनि त्यसैगरी सिधै जनतासँगै जोडिए। ‘न्याय’ नपाएका नागरिकले उनलाई जोडेका हजार हातहरूले बजाएको ‘घण्टी’ देशैभरि यसरी रन्कियो कि राजनीतिमा ‘नयाँ’ अनुभूतिको सञ्चार पनि भयो।

सरकारबाट बाहिरिएर फेरि ‘जनतामाझ’ नै झरेका रविले घण्टीघरकै आँगनमा पत्रकारहरू खेरेर मनका सारा भँडासहरू पोखेका थिए। त्यो बेला उनले पत्रकारहरूलाई पनि गाली गरे। वर्ष दिनपछि उनले त्यही कुरामा पत्रकारहरूसँग माफी पनि मागे।

पत्रकारिता अनि उनको आफ्नै निजी जीवनमा घेरिएका विवाद र चर्चाहरूले उनलाई राजनीतिमा पनि छोडेका छैनन्। एकपछि अर्को ‘मुद्दा’हरूमा जोडिएर आउने रवि लामिछाने दोस्रोपल्ट गृहमन्त्रालय छिर्दै गर्दा पनि आफैँमाथिको अर्को एउटा मुद्दा बोकेर छिर्दैछन्- सहकारी ठगठाग।

पत्रकार भएर टेलिभिजनमा कार्यक्रम चलाउँदा चलाउँदै रवि एकाएक टेलिभिजनकै ‘मालिक’ भए। उनको काँधमा हात राखिदिएका थिए- ब्यापारी जिबी राई। जसले देशका ठुल्ठूला सहकारीमा आम नागरिकले बचत गरेको अर्बौं रुपैयाँ ‘गोलमाल’ गरेका छन्।

मलेसियामा लुकिबसेका राई अनि रवि लामिछानेका साइनो र सम्बन्धका आयामहरू अहिले पनि छरपस्ट छन्। सहकारी पीडितहरू सडकमै छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा दिनका दिन रवि जोडिन्छन् जिबीसँगै जसलाई फर्काइल्याउन नेपाल प्रहरीले ‘इन्टरपोल’को गुहार लगाइरहेको छ।

चुनावताका रवि लामिछानेले हरेक भाषणमा एउटा आह्वान छुटाउँदैनथे- तपाईंहरूले पार्टी होइन, मत बदल्नुस्…।’

गत मंसिरमा चलेको त्यो मन्द चुनावी बतास परिणामसम्म आइपुग्दा हुरीजस्तै बन्यो। दुनियाँलाई छक्क पार्टी प्रतिनिधिसभामा रवि लामिछानेको पार्टीले सानदार स्थान बनायो।

भोटको त्यो हुरी, अहिले फेरि आँधी बनेको छ। त्यो बेला मतदाताको मत बदलियो। तर, जति नै आलोचना र विवादहरू भए पनि उनलाई चाहनेहरूको ‘मन’ भने बदलिएको छैन। बरु ती सारा विवादहरूले त्यही आँधीले उडाइलग्छ, जसले चुनावमा उनको ‘मत लहर’ ल्याएको थियो।

नेपालको राजनीतिक इतिहाससँगसँगै जन्मिएका दलहरूलाई मात खुवाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीतिर हुर्रिएको ‘मत’ अनि हुत्तिरहेका ‘मन’हरू नै हुन्, जसले रविलाई कहिल्यै निभ्नै दिएनन्। जति फुक्यो रवि उनै नै चम्किलो बनेर बले। बरू अरु दलहरूलाई पोलिरहेका छन् तर अँह निभ्दै निभेनन्। ‘गठबन्धन’ बनाउन अनि भत्काउनका लागि राजनीतिक दलहरूको कसरतभित्र रविको त्यही नै ‘ताकत’ बनिदिएको छ जसले बिना कोसिस सजिलै प्रतिफल चाखिरहेका छन्। रविको सिंहदरबार पुनरागमको यात्रा त्यसकै एउटा परिणाम पनि हो।

भलै उनले सरकार छोड्दा भनेका थिए- राष्ट्रिय स्वतन्त्र पार्टी अब मिसन- ८४ लाग्छ। सरकार तपाईंहरू नै चलाउनुस्। हामी प्रतिपक्षमै रहन्छौँ।

मिसन- ८४ अलि टाढै छ, उही हैसियत अनि उही रवाफकाबीच रविको रफ्तार फेरि गृहमन्त्री बनेर सिंहदरबारसम्मै छ।

प्रकाशित मिति: : 2024-03-06 21:22:00

प्रतिकृया दिनुहोस्