रहेनन् चलचित्र ‘माइतीघर’ का नायक सीपी लोहनी

नेपालको पहिलो व्यवसायिक चलचित्र माइतीघरका नायक सीपी (चिदाम्बरप्रसाद लोहनी) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

उनी विगत ६ वर्षदेखि पार्किन्सन र अल्जाइमरले थलिएका थिए। गत साता फोक्सोमा निमोनिया भएपछि उनलाई काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

सोमबार दिउँसो १ बजेर २५ मिनेटमा उनको निधन भएको जानकारी अस्पतालले दिएको भतिजा दिपक लोहनीले बिएल नेपाली सेवालाई बताए।

माइतीघरमा अभिनय गर्ने क्रममा उनको बलिउड नायिका माला सिन्हासँग प्रेम सम्बन्ध बढेको थियो। लगत्तै उनले माला सिन्हासँग विवाह गरेका थिए। यो जोडीबाट एक छोरी प्रतिभा सिन्हा लोहनीको जन्म भएको थियो। छोरी प्रतिभाले पनि बलिउडमा अभिनय गरेकी थिइन्।

माला सिन्हाको फिल्मी करिअरका कारण लोहनी लामो समय मुम्बईमा बसेका थिए। पछिल्लो समय उनी श्रीमतीसँगै डिल्लीबजारस्थित आफ्नो घरमा बसोबास गर्दै आइरहेका थिए।

सीपी झ्याउरे गीत गायनका लागि पनि चर्चित थिए। उनको स्वरको तारिफ भारतका चर्चित संगीत निर्दैशक जयदेवले समेत गरेका थिए। माइतीघरमा उनले गीत पनि गाएका थिए।

प्रकाशित मिति: : 2024-04-29 16:43:00

प्रतिकृया दिनुहोस्