आइतबार, १७ अगस्ट २०२५

बालेनप्रति एमालेकाे आक्राेश- यही व्यवस्थामा तपाईं मेयर हुनुभयाे, अनि नेताहरुको जेल बसाइलाई मजाक उडाउने?

File Photo
• • •

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिए।

‘निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो। किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो। बालेनले संयमता गुमाउँदै जानुभएको छ, उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु’ भट्टराईले भने।

उनले मेयर शाहले नेताहरु जेल बसेको विषयलाई मजाक उडाउने आरोप लगाए।

‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उडाउने?’, सांसद भट्टराईले भने।

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे।

उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए। ‘गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ’, सांसद भट्टराईले भने।

मंगलबार, जेठ २२, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)