ओली सरकारको मनोमानी करका कारण महंगी बढ्याे- प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन्। करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए।

दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक वस्तुमा कर आतंक मचाएको टिप्पणी गरे।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ। हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गइरहेको छ। सँग सँगै हरेक वस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, अध्यक्ष साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनैपनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने? भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो।’

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले निजि करछलीको नाममा निजी सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए।

शान्ति सुरक्षा कायम गर्न असफल भएको भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको बताए। सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको बताउँदै उनले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए।

‘अहिले सरकारी आतंक मचिएको छ। सरकारले सत्तारुढ दलका अपराधि, भ्रष्टलाई जोगाउने काम मात्रै गरेको छ। सत्तारुढ दलका नेताहरु नाँगै हिँड्दासमेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दु:ख दिने काम गरिरहेको छ’, साहले भने, ‘गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ। प्रहरी प्रशासनदेखि सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दु:ख पाइरहेका छन्।’

प्रकाशित मिति: : 2024-11-04 14:25:00

प्रतिकृया दिनुहोस्