राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ।
जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ।
भिडियो-
000
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतमा महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेको कुरालाई नगर प्रमुख पाण्डेले इन्कार नगरेको भन्दै सुविधा र सन्तुलनको दृष्टिकोणमा जाँचबुझ समितिको काम कारबाही अघि बढाउन उनलाई निलम्बन गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ।
000
विशेष अदालतले सर्लाहीकाे बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।
न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।
अख्तियारले २०८२ जेठ ३ गते बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो।
000
हेटौंडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ।
भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाको समूहले उनलाई कार्यकक्षमै आक्रमण गरेको हो।
उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापि दिएका छन्।
000
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
मंगलबार राति दुबईबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं उत्रिएकी भारतीय नागरिक मिना सुर्जित सिंह खेमानीलाई उक्त सुनसहित विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
ती महिलाले कालो प्लास्टिकमा बेरेको तीन डल्ला पोका सुन मलद्वारमा लुकाएर ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।
000
सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरूको नामावली संकलन सुरु गरेको छ।
इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन्।
000
इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।
युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै समाजले बुधबार इजरायली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेकाे हाे।
इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् भने इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका छन्।
000
नेपाल राष्ट्र बैङ्कले बुधबार एकै दिन बैङ्किङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाएको छ।
पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको हाे।
यसअघि पनि एकै दिन ८० अर्बसम्म रकम बैङ्कहरूबाट उठाएको थियो।
राष्ट्र बैङ्कले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ। जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।
000
सरकारले रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
हाल कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहिन छन।
उपकुलपतिमा आवेदन दिने उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरिएको छ।