बिहिबार, १४ अगस्ट २०२५

सम्बन्धन नपाउँदै दुर्गा प्रसाईंले थाले एमबिबिएस अध्यापन तयारी, प्रिन्सिपल नियुक्त

News Image
• • •

अनुमति नपाउँदै झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापनको तयारी थालेको छ। 

कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आगामी मंसिर १ गतेदेखि एमबिबिएस अध्यापन सुरू हुने भन्दै सम्बन्धन नपाउँदै तयारी थालेका हुन्।

एमबिबिएस पढाइ तयारीका लागि भन्दै प्रसाईंले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को महाराजगञ्जस्थित कलेजका प्रोफेसर डा. रामप्रसाद उप्रेतीलाई प्रिन्सिपल नियुक्त गरेका हुन्।

बिएन्डसीको प्रिन्सिपल बन्न उप्रेतीले सरकारी सेवाबाट राजीनामा दिएको आइओएम स्रोतले जनायो।

‘उहाँले राजीनामा दिनुभएको छ, सरकारी सेवा छोडेको जनाउनुभएको छ,’ आइओएम स्रोतले भन्यो।

उनको राजीनामा प्रक्रियामा भने गएको छैन। क्याम्पसले डिन कार्यालयमा राजीनामा पत्र पठाएको छैन। डिन कार्यालयले त्रिविलाई पठाएपछि मात्र राजीनामाले पूर्णता पाउने छ।

‘उहाँको राजीनामा क्याम्पसबाट डिन कार्यालयमा आइसकेको छैन,’ आइओएम डिन डा. जगदीश अग्रवालले भने।

उप्रेती पूर्वमाओवादीनिकट मानिन्छन्। प्रचण्डसँग निकट प्रसाईंको उप्रेतीसँग सुमधुर सम्बन्ध छ।  

सेतोपाटीसँग कुरा गर्दै प्रसाईंले आगामी मंसिर १ गतेदेखि एमबिबिएस सुरू गर्न सकिने आधारकै साथ आफूले क्याम्पस प्रमुख नियुक्ति गरेको दाबी गरे।

‘मंसिर १ गतेदेखि पढाइ सुरू गर्छु भन्नु स्वाभाविक नै हो,’ प्रसाईंले भने, ‘अनुमति पाउने भएपछि विद्यार्थी पढाउने आश राखेर तयारी थाल्नु नौलो भएन।’

सम्बन्धन नपाउँदै कसरी पढाइ सुरू हुन्छ? भन्ने प्रश्नमा प्रसाईंले भने, ‘चार-पाँच दिनभित्र चिकित्सा शिक्षा आयोग उपाध्यक्षको नियुक्ति सकिन्छ, त्यसपछि सम्बन्धन पाउँछु।’

आयोगलाई पूर्णता दिन उपाध्यक्षमा दरखास्त आह्वान गरिएको छ। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन भएको समितिले उपाध्यक्ष छनोट गरी सरकारलाई सिफारिस गर्न बाँकी नै छ।

समितिले दोस्रो पटक असार ३१ गते दरखास्त आह्वान गरेको छ। त्यसमा ११ जनाले उपाध्यक्षका लागि आवेदन दिएको स्रोतले बतायो। तर, समितिले दोस्रो पटक प्राप्त दरखास्तबारे निर्णय गरिसकेको छैन।

आइतबार, श्रावण १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)