शनिबार, १६ अगस्ट २०२५

'सुसाइड नोट अनुसार छोराबुहारी र नातिनीलाई एउटै चिहानमा राखिदियौं'

News Image
• • •

काठमाडौं– सेतो कमिज-सुरुवाल। सेतो टोपी अनि सेतै फ्रेम भएको पावरदार चस्मा। निराश अनुहार बोकेर एक वृद्ध बबरमहलबाट लुखुरलुखुर औषधि लिमिटेड नजिकैको वैदेशिक रोजगार बोर्डतर्फ पाइला चालिरहेका छन्।

बोर्डको एक तल्लामाथि जान्छन् र कुर्सीमा थचक्क ज्यान बिसाउँछन्।

हाँसो गायब भइसकेको उनको अनुहार यताउता चलमलाउँछ। 

यतिकैमा कसैले प्रश्न तेर्स्याउँछ, 'बुबाको चाहिँ यहाँ के काम थियो?' 

'खै कसरी भन्नु…?' यति भनेर फेरि उनी मौन रहन्छन्। 

मेरो चासो पनि एकाएक उनीतिर तानिन्छ। र, सँगसँगै दिमागमा प्रश्नहरु उम्रन्छन्– को होलान् उनी? वैदेशिक रोजगार बोर्डमा के कामले आए? किन बूढो रुखझैं उदास देखिन्छन् उनी?

म उनीसँग बिस्तारै कुरा गर्न थाल्छु। 

उनी रहेछन्– हर्कराज लिम्बू। उमेर- ७० वर्ष। घर- मोरङको सुन्दरहरैचा-५। उनी छोराको मृत्यु भएपछि क्षतिपूर्ति रकमका लागि बोर्ड आएका रहेछन्। वैदेशिक रोजगारीका क्रममा करार अवधिमै ज्यान गुमाएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराउने गर्छ।

तीनै जनाको एकैचिहान! 
–ललितलाई सामुद्रिक छालले लपेटेर लग्यो रे… 
–सास छालले नै खोसेछ… 
–लास भेटियो रे…  

एकाबिहानै निकै अपत्यारिलो खबर आयो लिम्बू परिवारमा। त्यो दिन थियो  साउन २६ गते आइतबार। 

त्यो छोरा ललितबहादुरले सधैंझैं पठाउने सुखदु:खको खबर जस्तो थिएन। घर आउँदैछु भनेर खुसीपूर्वक पठाएको सन्देश पनि थिएन। थियो त केवल एक जवान छोराले धर्ती छाडेको मुटु चिरिने खबर।

'सुरुमा त पत्यारै लागेन, केही समयपछि परिवारमा रुवाबासी चल्न थालिहाल्यो,' हर्कराज त्यो क्षणलाई एकै वाक्यमा समेट्छन्, 'छोराको मृत्युको खबरपछि बुहारी बेहोस् भएर ढलिन्, झन्डै २ घन्टापछि होस खुल्यो।'

परिवार र आफन्तहरुको आशा आँसुसँगै बगेर अर्थहीन बनिसकेको थियो।

'कसले कसलाई सम्झाउने र सबै बेसुरमा थियौं,' उनी सुनाउँछन्, 'यो खबरपछि आफ्नै सुरकी भएकी थिई बुहारी। हामीसँग केही बोलिन, पानीसमेत मुखमा हालेकी थिइन।'

परिवार शोकमग्न थियो। सहानुभूति दिने साहस कसैलाई जुटेन।

बिहिबार, भाद्र १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!