मिर्गौला प्रत्यारोपण र प्लाज्मा फेरेसिसबारे अपोलो अस्पतालका चिकित्सक के भन्छन्?

तस्बिरः देशसञ्चार

काठमाडौँ– करिब १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक सिंगापुरमा उपचार गरेर शुक्रबार मात्रै स्वदेश फर्किएका छन्।

मिर्गौला प्रत्यारोपण गरेपछि अनेक समस्या झेले पनि समयमै स्तरीय स्वास्थ्य सेवा सुविधाको पहुँचमा पुग्ने हैसियतका कारण उनको जीवन लम्बिरहेको सत्यलाई अस्वीकार गर्न मिल्दैन।

प्रत्यारोपित उनको मिर्गौलालाई शरीरको एन्टिबडीले असर गर्न थालेपछि पछिल्लो पटक सिंगापुरको १४ दिने बसाइमा उनले प्लाज्मा फेरेसिसको कोर्स पूरा गरेर फर्किएका छन्। योसँगै अब उनको स्वास्थ्य अवस्थाको ग्राफ उक्लिन्छ कि तल झर्छ भन्ने अनुमान र बहस दुवैले ठाउँ पाएका छन्, खासगरी नेपाली राजनीतिक वृत्तमा।

ओलीले मृगौला प्रत्यारोपण गरेको दिल्लीस्थित अपोलो अस्पतालका किड्नी ट्रान्सप्लान्ट सर्जन प्रोफेसर डा.सन्दीप गुलेरियाले देशसञ्चारको अन्तर्वार्तामा मिर्गौला प्रत्यारोपण, प्लाज्मा फेरेसिस र दोस्रो पटक गरिने मिर्गौला प्रत्यारोपण अनि त्यसको शुल्कबारे आफ्नो अनुभव र अस्पतालमा उपलव्ध सेवाबारे खुलेर बताएका छन्।

प्रस्तुत छ उनीसँग लिएको संक्षिप्त अन्तर्वार्ता:

मुख्यतया: के कारणले मिर्गौला फेल भइरहेका छन्?
-मिर्गाैला फेल हुनुमा दुई मुख्य कारण छन्, मधूमेह र उच्च रक्तचाप। यदि यी दुवै रोगलाई नियन्त्रण गर्न सकियो भने र नियमित रुपमा स्वास्थ्य जाँच गराउन सकियो भने मिर्गौला फेल हुनबाट जोगिने छ।

-फेल भएको मिर्गौलाको सबै भन्दा उत्तम उपचार के–के हुन सक्छ ?
सबैभन्दा उत्तम उपाय प्रत्यारोपण नै हो। यदि सय मानिसको डायलेसिस गर्न थालियो र त्यति नै बेला सय जनामा मिर्गौला प्रत्यारोपण गरियो र १० वर्षपछि त्यसको नतिजा हेरियो भने पक्कै पनि प्रत्यारोपण गरिएका मानिस बढी समय बाँचेका हुने छन्। अर्थात प्रत्यारोपण गरेको बिरामी बढी बाँच्छन् र स्वस्थ पनि हुन्छन्।

तस्बिर: बर्षा शाह

-प्रत्यारोपणले जीवन कति लम्याउँछ ?
यसबारे भन्न अलि कठिन नै हुन्छ। तर, सामान्यतया प्रत्यारोपण गरेको मिर्गौलाले १० देखि १४ सालसम्म काम गर्छ। यद्यपि कोही मानिस २०–२५ साल पनि बाँच्न सक्छन्। यो बिरामीले खाइरहेको औषधिको प्रकार, त्यसको समयावधि, संक्रमण र रिजेक्सन अनि उसको जीवनशैलीमा भर पर्छ।

-प्लाज्मा फेरेसिसले प्रत्यारोपित मिर्गौलाको काममा कति सहयोग गर्छ ?
प्लाज्मा फेरेसिस सामान्य उपचार प्रक्रिया हो। शरीरमा उत्पादन हुने एन्टीबडीले कहिलेकाहिँ प्रत्यारोपित मिर्गौलालाई असर गर्न सक्छ। यो निकालियो भने मिर्गौलाले काम गर्न सक्छ। तर यो सबै कुरा तपाईँको बायोप्सीमा निर्भर गर्छ।

प्रकाशित मिति: : 2019-09-07 08:23:11

प्रतिकृया दिनुहोस्