राष्ट्रपति सीको भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुन्छ: सांसद बस्नेत

फाइल तस्बिर

सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाइ राखे।

उनले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गरे । उनले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गरे ।

गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-12 13:51:47

प्रतिकृया दिनुहोस्