तेजन खड्का
भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता। फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ।
२०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
उनी अभिनित कुसुमे रुमाल, चिनो, नेपाली बाबु, सम्झना, म तिमी बिना मरिहाल्छु जस्ता फिल्महरू नेपाली फिल्म इतिहासकै माइलस्टोन मानिन्छन्। तर जब उनीसँग ‘तपाईंलाई मनपर्ने पाँच नेपाली फिल्म कुन–कुन हुन् ?’ भन्ने प्रश्न गरिन्छ, उनी केही छिन गम्भीर हुन्छन् । ‘फिल्म छनोट गर्नु भनेको इतिहासका पानाहरू पल्टाउनु हो’, उनी भन्छन् – ‘तर, म केही त्यस्ता फिल्मको नाम लिन चाहन्छु, जसले मलाई कलाकार मात्र नभएर नागरिकका रूपमा पनि छोएको छ।’
कन्यादान– परम्पराभित्रको विद्रोह
त्यो फिल्मले मलाई र आम दर्शकलाई पनि झस्कायो। बाल विवाह, विधवाको पुनर्विवाहजस्ता मुद्दालाई उठाएर बनेको फिल्म ‘कन्यादान’ सामाजिक क्रान्तिको ज्वालामुखी जस्तै थियो। निर्देशक प्रकाश थापाको संवेदनशील निर्देशन र कलाकारहरूको गम्भीर अभिनयले फिल्मलाई कालजयी बनाएको हो। व्यापारिक हिसाबले पनि हिट, र सामाजिक दृष्टिले पनि गम्भीर। त्यसैले कन्यादान मलाई विशेष लाग्छ।
नुमाफुङ– मौलिकताको सुगन्ध
लिम्बू संस्कृति, परम्परा तथा पहिचानलाई नयाँ नजरबाट हेरेको फिल्म ‘नुमाफुङ’ मेरो मन छोएको अर्को फिल्म हो।
गीत बिनाको शुद्ध कथा, वास्तविक परिवेश तथा निर्देशक नविन सुब्बाको समर्पणले यो फिल्मलाई कलात्मक बनाएको छ। कलाकार भएकोले म मौलिकपनामा झल्किने संवेदना महसुस गर्छु, नुमाफुङ त्यसको उत्कृष्ट उदाहरण हो।
बुलबुल– विदेशको सपना र घरको पीडा
बुलबुल सस्तो ड्रामाभन्दा फरक छ । यहाँ कथा छ, चुपचाप बोल्ने पीडा छ । वैदेशिक रोजगारीमा गएकाहरूको मनोदशा, उनीहरूको सपना र घरेलु चित्तबुझाइ फिल्मको मेरुदण्ड हो । कहिलेकाहिँ सादा देखिने फिल्मले गहिरो असर गर्छ, बुलबुल त्यस्तै हो।
पशुपति प्रसाद– आर्यघाटभित्रको जीवन
यो फिल्मले मरेका मात्रै होइन, बाँचेका मानिसहरूको संघर्ष पनि देखायो । पशुपति प्रसादले नेपाली समाजको नीतिगत असमानता, गरीवी, संघर्ष, र आशालाई फिल्मको पर्दामा बाँच्न सक्ने शैलीमा देखाएको छ। बागमतीको छेउमा चिता बालिँदा देखिने त्यो जीवनको मूल्य, त्यसमा बोलिएका संवाद तथा कलाकारहरूको आत्मीय अभिनय म सधैं सम्झिन्छु।
जेरी– युवाका आँखाबाट फिल्म
पुरानो पुस्ताका अभिनेता भए पनि म नयाँ पुस्ताको स्वाद र चाहना बुझ्ने प्रयास गर्छु । फिल्म जेरीलाई मैले युवा दर्शकलाई सिनेमा हलतिर फर्काएको उदाहरणका रूपमा लिन्छु। नेपाली सिनेमा हेर्दैनन् भन्ने युवालाई आकर्षित गर्न जेरी सफल भयो। नयाँ कलाकारहरूको कामले आशा जगाएको छ।
भुवन केसीको यो फेहरिस्तले देखाउँछ– उनी मात्र स्टार होइनन्, संवेदनशील दर्शक पनि हुन् । वास्तवमा अभिनेता केसीलाई कुनै फिल्म अभिनयका लागि मन परेको छ, कुनै विचारका लागि, त कुनै सामाजिक असरका लागि । यी पाँच फिल्महरू उनले छनोट गरेका छन्– अभिनेताको आँखाबाट, नागरिकको मनबाट।
भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया