मङ्गलबार, २९ जुलाई २०२५

बाघ कि मान्छे ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विश्व बाघ दिवस

नेपालमा विशेषगरी पाटे बाघ पाइन्छ। यिनीहरु पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा गरी पाँच स्थानमा संरक्षित छन्। यी स्थानको वरपरको क्षेत्रमा पनि बाघ पाइन्छ। तर नेपालमा रहेका बाघहरुको संरक्षण र सुरक्षामा स्थानीय निकायदेखि सरोकारवालाहरुको सहभागितामा मिलेर काम गरिरहेका छौं। जसका कारण अहिले उल्लेखनीय रुपमा बाघको संख्यामा वृद्धि भइरहेको छ। २०१० मा १२१ को संख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ। आँउदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरि अन्य विवरण निकाल्ने प्रयासमा छौं। 

गणना विधि
बाघको गणना निकै चुनौतिपूर्ण छ। हाल क्यामरा ट्रयाप विधिबाट गणना गरिरहेका छौं। बाघ पाउने सम्भावित बासस्थललाई  घना वनजंगल क्षेत्र भएकाले जंगललाई दुई वाई दुईको ग्रिडमा विभाजन गरेर काम गरिरहेका छौं। बाघ हिड्ने पाइलादेखि गन्धसम्मको आधारमा उपयुक्त ठाँउ पहिचान गरि एक जोडी क्यामरा दुइ हप्ता भन्दा बढी समय एकै स्थानमा राखेर काम गर्ने गर्छौ। त्यस्ता क्यामराले निरन्तर र स्वचालित रुपमा बाघ आउने वित्तिकै फोटो खिच्छ। एउटा बाघको शरीरको पाटो अर्को बाघसँग नमिल्ने भएकाले सोही अनुसार गणना गरिरहेका छौं। र बाघको शरीरको एका पट्टीको पाटो अर्को पट्टीसँग मिल्दैन। मान्छेको हातको फिङ्गर प्रिन्ट अर्को पट्टीसँग नमिलेजस्तै सोही आधारमा पहिचान गरि गणना गर्ने गरेका छाँै। हरेक चारदेखि पाँच बर्षमा बाघको सर्वेक्षण गरी तथ्यांक निकाल्ने गरेका छौँ। 

पर्यटनमा चासो 
नेपालमा पाइने बाघलाई संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा पहिचान गरिरहेका छौं। बाघको संख्या दोब्बर होइन तेब्बर बनाउने लक्ष्यका साथ काम पनि गरिरहेका छौं। बाघले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ। नेपाल भ्रमण गर्ने विदेशीहरु जति छन् खासगरी वन्यजन्तु अवलोकन गर्न आउने गरेका छन्।

प्रकृतिसँग रमाउनको लागि नै विदेशीहरु पर्यटकको रुपमा नेपाल आउने गरेका छन्। नेपालमा आएका पर्यटनहरु मध्य ६० प्रतिशत निकुन्ज घुम्न आउने गरेको तथ्यांकमा उल्लेख छ। त्यसमा पनि पाटे बाघ हेर्न आउनेहरुको संख्या बढी छ। उनीहरु बाघ हेर्न पाउँदा नै खुसी छन्। त्यसैले संसारबाट लोप हुन लागेका वन्यजन्तुहरुको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो। संसारका १४ वटा मुलुकमा मात्र बाघ पाइने गरेको छ। 
विश्वका अन्य देशको तुलनामा बाघको संख्या वृद्धि हुँदै गएको छ। बाघको संख्या वृद्धि हुँदा धेरै हौसिनु पनि हुँदैन। हुन त यसका चुनौति धेरै छन्। चुनौतिको सामना गर्नका लागि पनि हाम्रो क्षमताको विकास गर्न जरुरी छ तर बाघको संख्या वृद्धिले नेपालको पहिचानलाई अभिवृद्धि गरेको छ र पर्यटकहरुको आर्कषकको रुपमा रहेको छ।

संरक्षणको प्रयास
बाघ आफ्नै क्षेत्राधिकार भित्र बस्छ। त्यो क्षेत्राधिकार भित्र अर्को बाघ आयो भने द्वन्द्व हुन्छ। र जसले जित्छ त्यो क्षेत्रमा उसैले राज गछ्र्र। बाघको स्थान भनेको एकदमै फरेस्ट एरियामा मात्र हो। वास्तवमा बाघलाई जंगलमा बस्दा चाहिने भनेकै आहारा हो। बाघको आहारा भनेको मृग प्रजाती नै हो। आहारा पर्याप्त बनाइदिनको लागि घाँसे मैदान सुधार गर्ने, पानीको प्रर्वद्धन गरिदिने, पानीको मुहान बनाइदिने, सरसफाइको काम गरिदिने र बाघको बासस्थानलाई  चोरी शिकारी हुनबाट बचाउनलाई सुरक्षणको लागि नियमित रुपमा गस्ती अर्थात पेट्रोलिङ गर्ने  गरिरहेका छौं। त्यसमा नेपाली सेनादेखि खटिएका सबै कर्मचारीहरुले नै गस्तीका कामहरु गर्ने गर्छन्। चोरी शिकारी भएर गैर कानुनी रुपमा विक्री वितरण हुनसक्ने सम्भावनालाई पनि निस्तेज गर्नका लागि विभिन्न समन्वयात्मक संयन्त्र निर्माण गरेका छौँ। जसमा बाहिर ओसारपसार रोक्नदेखि भित्रको सुरक्षासम्ममा नेपाल प्रहरी, नेपाली सेनालगायतका अरु सुरक्षा निकायहरु पनि आवद्ध गराइ संरक्षण गराएका छौं। 

आयाआर्जनमा जोड 
स्थानीय स्तरमा निकुन्ज आसपास बसोबास गर्नेहरुलाई मध्यवर्ती क्षेत्रको अवधारणामा ल्याएर समूह एवम समितिमार्फत संरक्षणमा  सचेतनामुलक काम गर्दै आइरहेका छौं। समुदायको विकासका लागि ३० देखि ५० प्रतिशत रकम चाहीं स्थानीय समूदायको सामुदायिक विकास जनचेतनाको वृद्धि, जैविक विविधता, प्रजाती संरक्षणका गतिविधि जस्ता कार्यक्रमहरु संचालन गर्न सरकारले कानुनी व्यवस्था गरेको छ।
सोही मोडालिटिमा समुदायदेखि सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रुपमा सहयोग गरिरहेको छ। सबैले मिलेर समूदायको हितको विषयलाई लिएर काम गर्ने, आयआर्जनको विषयलाई पनि विशेष जोड दिने गरेको छ। साथै समुदायलाई वनजंगल भित्र प्रवेश गर्न नदिने कार्यक्रम पनि साथै अघि बढाएका छौं। किनकि समुदाय जंगलभित्र प्रवेश गर्दा बाघसँग द्वन्द्व हुने गरेको छ।  

गाउँमा किन पस्छ बाघ? 
सामान्य अवस्थामा बाघ गाँउमा पस्दैन। बाघ सकभर मानव बस्ती भन्दा पर नै बस्छ। यदि जंगलमै हिडेको अवस्थामा, नजिकै छ भने या जम्काभेटमा पनि बाघ मान्छेसँग झम्टि हाल्दैन। ऊ लसक्क लस्किने, लुक्ने, धेरै गतिविधि त्यहाँ नदेखाउने स्वाभावको हुन्छ। अध्ययनको आधारमा भन्नुपर्दा जति बाघ र मान्छेबिचको द्वन्द्व छ ती घटना यस्ता छन् कि घाँस काट्न जाँदा, दाउरा संकलन गर्न जाँदा आक्रमणमा परेको देखिन्छ।

धेरथोर सानो संख्यामा बाघ कहिलेकाहीं बाहिर निस्कछ। त्यस्तो बेला कस्तो किसिमको बाघ बाहिर निस्कन्छ भन्ने कुरा ध्यानमा राख्न जरुरी देखिन्छ। सामान्यतः प्राकृतिक स्थलमा बाघ जो आफ्नो आवश्यकता पूरा गर्न सक्छ, ऊ शिकार गर्न सक्षम छ भने त्यस्तो किसिमको बाघ गाँउमा प्रवेश गर्दैन। त्यसभित्र अरु बाघ पनि हुन्छन्। तिनीहरूबीच द्वन्द्व हुन्छ र लडाई हुँदा एउटा घाइते हुन्छन्। उसलाई चोट लाग्छ र घाइते हुन्छ। घाइते भएको बाघले जंगलमा शिकार गर्न नसक्ने हुँदा उ गाँउमा पस्छ। र उ गाँउमा पसेपछि त्यहाँ मानिसको समिपमा आँउछ। यदी गाईबस्तु छ भने गाइबस्तुलाई आक्रमण गर्छ, या त मानिसलाई आक्रमण गर्छ। 

मान्छेलाई आक्रमण गर्नुको कारण 
खासगरी मान्छेलाई आक्रमण गर्ने बाघको स्वभाव हुँदैन। तर उसले आफ्नो सुरक्षाको लागि आक्रमण गर्छ। बाघले आफनो बच्चादेखि नै सिकेको हुन्छ, कस्तो किसिमको शिकार गर्ने, कसरी गर्ने भनेर। र बाघ ठूलो भएपछि मात्र माउले सिकाएअनुसारको शिकार गर्छ। बाघले कहिलेपनि दुई खुट्टे मानिस तेरो शिकार हो भनेर सिकाएको हुँदैन। उसलाई चार खुटटे मात्र शिकार गर्न सिकाएको हुन्छ। यदि झुक्किएर शिकार गर्‍यो भने मात्र उसले मान्छेको शिकार गर्छ। त्यस्तो किसिमको बाघलाई नरभक्षी बाघ भन्छौँ। र नरभक्षी बाघलाई उचित व्यवस्था गर्ने गरिएको छ। बाघले एकचोटि मान्छे खाइसकेपछि पुनः दोहोर्‍यायो भने त्यो खतराको संकेत हो। त्यस्ता बाघलाई समातेर खोरमा हाल्ने काम गरेका छौँ। बाघको बच्चा आरामसँग बसेको छ भने त्यसबेला पनि मानिससँग जम्काभेट भयो भने आक्रमण गर्छ। मानिस निहुरिरहेको अवस्थामा पनि बाघ चारखुट्टे प्राणी हो भनेर झुक्किन सक्छ। त्यो बेला पनि पनि बाघले आक्रमण गर्न सक्छ। बाघ जन्मिन्छ हुर्कन्छ र बुढो हुन्छ। बाघ बुढो भएपछि शारीरिक रुपमा अशक्त हुँदा शिकारका लागि दौडन सक्दैन र उ गाँउ पस्ने गर्छ।

अध्ययनले पनि के भन्छ भने बढीमा चार प्रतिशत बाघ मात्र द्वन्द्वमा आउने गर्छ। सबै बाघ द्वन्द्वमा आँउदैन। त्यस्ता किसिमका बाघलाई क्यामरा ट्रयापबाट पहिचान गरी उसलाई कैदगरि खोरमा राख्ने गरेका छौं। बाघ र मान्छेबीच मात्र द्वन्द्व होइन गैंडा, हात्ती, चितुवासँग पनि द्वन्द्व हुन्छ। हाम्रो नीति, नियम, कानुन यस्तो छ कि सुकुम्बासीलाई लगेर जंगलमा लगेर बसोबास गर्न लगाउने, लालपुर्जा दिने गरिन्छ। यस कुरालाई व्यवस्थित बनाउन आवश्यक छ। 

बाघ दिवसको सान्दर्भिकता 
जुलाई २९ लाई संसारभर बाघ दिवस मनाउने गरिन्छ। बाघ संसारको १४ वटा देशमा पाउँछ। बाघ पाउने हिसाबले पनि नेपालले हरेक बर्ष बाघ दिवस मनाउने गरिएको छ। यस बर्षको नारा ‘सहअस्तित्व र  आया आर्जन बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने छ। पृथ्वीमा बाघलाई पनि बाँच्न पाउने अधिकार छ। मान्छेको पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ। सहअस्तित्व कायम गरेर दुबै समान हिसाबले बाँच्न पाउनुपर्छ भन्ने नाराले समेटेको छ।

अर्को आयआर्जन, पर्या–पर्यटनका गतिविधिहरु जतिपनि छन् बाघ पाउने ठाँउहरु वा निकुन्जहरुमा होटल व्यवसाय चलेको छ। जंगल सफारीदेखि जिप सफारी चलेको छ। बाघका कारण जति पनि पर्यटन व्यवसायहरु चलेको छ बाघको फ्लो पनि बढेको हो। जती पनि रोजगारीका अवसरहरु छन् पर्यटन व्यवसाय बढेको छन्। त्यसको मुल जड त बन्यजन्तु नै हो। आकर्षण त बन्यजन्तु नै हो। आयआर्जनसँग अझ बढी जोड्दै, सहअस्तित्व कायम गर्दै होटल व्यवसायीले आम्दानी बृद्धि भएको छ।

यसो भनिरहँदा बन्यजन्तुबाट पीडित समुदायलाई पनि सहयोग गर्न जरुरी छ। यस बर्ष राष्ट्रिय स्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुन्ज भित्र गर्ने तयारी गरिएको छ। स्थानीय सरकारदेखि सरकारी निकायसम्म मिलेर एक दिने कार्यक्रम आयोजना गरेका छौँ। त्यहाँ विशेषत बाघको अहिलेको अवस्थादेखि चुनौती अवसरलाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ। छलफलदेखि प्यानल डिस्कसन जस्ता कार्यक्रम पनि राखेका छौँ। 
(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ ईकोलोजिष्ट एवम सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानीमा आधारित)
  
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!