कृष्ण उदाशी
बेलुकैदेखि मन अस्थिर थियो। सडकमा मर्ने केटाकेटी थिए, सत्र अठार वर्षका। झोला भिरेका, टाई, विद्यालय पोसाक र परिचयपत्र लगाएका। ती सबै हाम्रा छोराछोरीका उमेरका। मन अतालियो, बेचैन भयो। बेचैनी हरेक भान्छामा थियो। हरेक ओछ्यानमा थियो। मेरो ओछ्यानमा मसिना नानीहरू थिए, सायद त्यसैले छटपटी अझ धेरै थियो।
‘नहेरूँ’ भन्दा भन्दै पनि मोबाइल हेरिँदै थियो, फेसबुक स्क्रोल हुँदै थियो। समाचारका साइटहरू खोलिँदै थिए। यो पनि हरेक ओछ्यानको कथा थियो। त्यही बेला एकजना एक्काइस वर्षे विद्यार्थी एकातिरको आँखामा र छातीमा पनि पट्टी बाँधेर रगताम्य गन्जी देखाउँदै जोसका साथ बोलिरहेका थिए। उनले बोल्दाबोल्दै गोजीबाट गोली निकालेर देखाउँदै भने, ‘यो मेरो छातीबाट भरखर निकालिएको गोली हो।’ ती विद्यार्थी भाइको आत्मविश्वास अद्भूत थियो। त्यो कति सत्य हो त्यसबारेमा पनि रिभर्स विमर्श गरूँला। तर अहिलेलाई यति।
बिहान ओछ्यानमा नानीहरू निदाइरहेका थिए। अनुहार हेरेँ, अघिल्लो दिन सडकमा गोली लागेर ढलेका विद्यार्थीहरू दिमागमा घुमिरहे। लाग्यो ‘केही वर्ष पहिला त ती पनि यी नानीहरू जस्तै मसिना र निर्दोष थिए होलान्।’ आफ्नै नानीहरूका टाउकामा गोली लागेको महसुस भयो। कुन चैँ बाबुले आफ्नो छाती बचाएर सन्तानको टाउकोमा गोली लागेको सहन सक्छ ? मैले सडकमा उत्रिने निर्णय गरेँ।
‘कदम थिएटर’को नेतृत्वमा दमक चोकमा सडक नाटक देखाउने कुरा भइसकेको रहेछ। दधि अज्ञातले मलाई जानकारी दिए। छिमेकी भरत कार्की भाइ र म रिक्सा चढेर दमक पुग्यौँ। पन्ध्र सय÷दुई हजार जति मान्छे भेला भइसकेका थिए। नाराबाजी भइरहेको थियो। मैले दधिलाई नारा लेखिएको प्लेकार्ड मागेँ। उनले एउटा ल्याएर दिए, लेखिएको थियो ‘शासकको हातमा रगतको छिटा छ’। अघिल्लो दिनका घटनामै पुग्यो दिमाग, ‘एउटा विद्यार्थी टाउकामा गोली लागेर लडिरहेको, उसको साथीले गोली लागेका ठाउँबाट बगेको गिदीसहितको रगत टिपेर पुलिसलाई देखाउँदै गरेको।’ ओहो ! फेरि मन झस्कियो। प्लेकार्ड कस्तो ठ्याक्कै बोल्नुपर्ने नै बोलेको।
नाराबाजी चलिरहेको थियो। सुबास खरेल दाइ आकाशेपुलमाथि लिङ्गे पिङ लगाउने डोरी लिएर जानुभयो। उहाँलाई कदम थिएटरका साथीहरूले सघाए। त्यो पिङको रुपमा तल झर्यो। तल सिजन दाहाल, दधि अज्ञात, सुमन लिम्बूलगायत हामीहरू थियौँ।
सिजन दाहाल पिङमा बसे र बाँसुरी बजाउन थाले। कदम थिएटरका साथीहरूले पिङ हल्लाए। नारा लगाउनेले भने ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’। यो कति सुन्दर र आलङकारिक आन्दोलन अथवा विद्रोह थियो। बाँसुरी बजाउने मान्छे र नारा लगाउने मान्छे फेरिँदै थिए। केपी ओलीको अनुहारको मखुण्डो बन्यो। बाँसुरी बजाउनेले त्यो मखुण्डो लाए। बाँसुरी बजाउने मान्छे केपी ओली जस्ता देखिए, उनी प्रधानमन्त्री थिए। मानौँ आन्दोलनको ज्वालामा जलिरहेको देश ‘रोम’ हो, र आँखा चिम्लेर बाँसुरी बजाइरहेको ‘निरो’ केपी ओली हो। बिचमा जिन्दावाद र मुर्दावाद बराबरी चलिरहेका थिए।
केहीबेर यसरी नै आन्दोलन भइरह्यो। हामीले बिच सडकमै बसेर नारा लगाउने निर्णय गर्यौँ र पलेँटी कसेर बस्यौँ। बसेरै नाराबाजी गरिरहेका थियौँ। एकैछिनमा ओठमा भरखर जुँगा पलाउँदै गरेका सोह्र÷सत्र वर्षका विद्यार्थी केटाहरू चारैपट्टिबाट त्यहाँ भेला भए। त्यही उमेरका छात्राहरू पनि थिए। सबै आवेशमा देखिन्थे, कुद्न एकदमै तयारी भएका खरायो जस्ता। तिनीहरू भेला भएपछि हामी बसिरहेकाहरू उठ्यौँ। यिनीहरू भन्न थाले “यसरी पनि आन्दोलन हुन्छ, सरकारले विद्यार्थी मारिरहेको छ, हामी रमिता हेरेर बस्ने ? आगो लगाउनुपर्छ।”
एकैछिनमा माहोल अर्कै भयो। बाटाका पल्लापट्टि निक्कै पर पन्ध्र÷बिस जना सशस्त्र प्रहरी उभिरहेका थिए। त्यो भिड त्यता मोडियो र तिनीहरूसँग विवाद गर्न थाल्यो। उनीहरू पछि हट्दै गए। हामीलाई निक्कै डर लाग्यो। त्यो भिडले तिनीहरूलाई जे पनि गर्न सक्थ्यो। त्यहाँ कसैले कसैलाई सम्झाउन सक्ने अवस्था नै थिएन। भरत भाइ र म भिडको एकदमै पछाडि उभियौँ।
एकैछिनमा त्यो भिड पहरामा ठोकिएको बाढीजस्तो सर्लक्कै फर्कियो। नारा लगाउँदै दमक चोकबाट राजमार्गको बाटो पश्चिम लाग्यो। हामी अब बाढीको मुल्कोभित्र परेका थियौँ। भरत र म निक्कैबेर त्यहीँ उभियौँ। एकछिनबाट हामी पनि पछि पछि लाग्यौँ।
खरायोजस्ता जेनजीहरू बुरुक्क उफ्रिँदै कहाँ पुग्थे, एकैछिनमा प्रहरीका बिट भत्किन्थे। सगरमाथा पेट्रोलपम्पपश्चिम बाटामास्तिर कांग्रेसको दमक नगर कार्यालय रहेछ। हामी त्यहाँ आइपुग्दा त्यो दनदनी बलिरहेको थियो।
म सडकका मान्छे हेरिरहेको थिएँ। मलाई श्याम तमोटको ‘गाउँ गाउँबाट उठ’ गीत याद आइरहेको थियो। ‘हातमा कलम हुनेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, हातमा औजार हुनेहरू औजार लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ’। त्यहाँ माहोल नै त्यस्तै थियो। कसैले भोजमा सब्जी चलाउने फलामको पुन्यु बोकिरहेका थिए। कसैका हातमा हथौडा थियो। कसैको हातमा डण्डी थियो। अझ गजपको कुरा त दमकका सडकमा पन्ध्रहजार भन्दा धेरै मानिस धुलो उडाउँदै हिँडिरहेका थिए तर बाटो दायाँबायाँ आन्दोलनकारीलाई पानी पिलाउनका लागि काटनका काटन पानी लिएर सयौँ मान्छेहरू उभिएका थिए। आन्दोलनकारीलाई पानी दिन्थे अनि उनीहरू पनि त्यही माहोलमा मिसिएर आन्दोलनकारी बन्थे र नारा लगाउन थाल्थे। अवस्था यस्तो थियो कि, त्यो माहोलमा मिस्सिने हो भने बुद्ध पनि विद्रोही हुन्थे।
म पनि नारा लगाइरहेको थिएँ। अगाडि भट्याउनेले के भन्छ त्यसैलाई साथ दिइरहेको थिएँ। त्यतिकै भित्रैबाट जोश आफैँ छछल्किरहेको थियो। भट्याउनेले माइकमा भट्याइसकेपछि जब सबै एकसाथ कराउँथे, स्वाँ... गरेको आवाज माथि उठ्थ्यो र आकाश उचाल्थ्यो। सायद त्यही होला, ‘एक युगमा एकदिन एकचोटि आउँछ...।’
खरायोजस्तो कुद्ने युवाहरू कांग्रेस पार्टीकार्यालय जलाएर अगाडि बढिसकेका थिए। हामी हिँडिरहेका थियौँ। दमक बजारको बिच भागतिर आइसकेपछि भिड राजमार्ग दक्षिण लाग्यो। मलाई त त्यहाँ केपी ओलीको घर छ भन्ने पनि थाहा थिएन। बाटो दक्षिण लाग्ने बित्तिकै आन्दोलनकारीलाई पानी दिनेहरू सडक किनारामा निस्किएर तयारी हुन्थे। बाँड्न तयारी गरेको पानी दिइसकेपछि उनीहरू पनि त्यही भिडमा मिसिन्थे र नारा लगाउँन थाल्ने ‘केपी चोर – देश छोड’।
हाम्रा पछाडि हजारौँ थप्पिइसकेकाले हामी भिडको बिचतिर परेका थियौँ। अगाडि जानेले केपी ओलिको घरमा आगो लगाइसकेका थिए। धुवाँको मुस्लो उठ्यो। घरभित्रका सामान निकाल्दै जलाउँदै थिए खरायोजस्ता छरिता आन्दोलनकारीहरू। कोही वरिपरिको कम्पाउण्ड भत्काउँदै थिए। कोही फलामका फलैँचाहरू भत्काउँदै थिए। ‘त्यस आन्दोलनमा सामेल भएकाहरू केपी ओलीलाई कति घृणा गर्छन्’ म महसुस गरिरहेको थिएँ।
सकेसम्म सबैले त्यो घरलाई लात हानिरहेका थिए। कम्पाउण्ड भत्केर झरेको एउटा एउटा इँटालाई लात हानिरहेका थिए। फलामको बार भत्किएको थियो। भत्किएको बारका प्रत्येक रडलाई पालैपालो सबैले लात हानिरहेका थिए। फलामको एउटा फलैँचा रहेछ, गोलो आकारको। त्यसको माथि रातो टिनको छानो थियो। त्यसलाई त मान्छेहरूले जुरुक्कै उचालेर बाटामा फ्याँकिदिए। त्यो बाटामा पछारिन पाउँदा नपाउँदै कुनै एउटा आततायी राक्षसलाई लामो सङ्कटपछि परास्त गरेको जस्तो सबैले लात्तैलात्तले हान्न थाले। केपी ओलीप्रति कति धेरै घृणा, ओफ् ! त्यसलाई मान्छेहरूले आफूसँग जे छ त्यसैले हानेर यसरी किच्याए कि, मानौँ त्यो एउटा विषालु सर्प हो र गाउँलेहरूले त्यसलाई पालै पालो टाउकामा किच्याइरहेका छन्।
केपी ओलीका घरप्रति भिडको आक्रोस सकिएकै थिएन। अलि तलतिर एउटा विशाल धुवाँको मुस्लो उठिसकेको थियो। अघि माथि सडकछेउमा कांग्रेसको पार्टीकार्यालयमा लागेको आगो उसरी नै धुवाँ फालिरहेको थियो। केपी ओलीलाई गाली गरेका नाराहरू अनवरत सुसाइरहेका थिए।
त्यही बिचमा अर्को एउटा अनौठो दृश्य देखियो। गेट र पर्खाल भत्किसकेकाले गेटबाटै भित्र छिर्दा पनि हुने बाटो थियो। तर एकजना बिस÷बाइस वर्षको युवा उत्तर पट्टिको तल इँटा र माथि फलामको काँडावाला पर्खाल चढेर घरको उत्तर–पश्चिमतिर रहेको एउटा टुङ्सीमा पुग्यो। सायद त्यो गर्मीमा हावा खाँदै आनन्द लिने ठाउँ थियो। बाहिरबाट हेर्दा त्यसको डिजाइन सानदार देखिन्थ्यो। त्यहाँ एउटा पलङ रहेछ। ओड्ने ओछ्याउने पनि रहेछन्।
त्यो टुङ्सी युपिभिसीले छाएको थियो। लाछी पनि युपिभिसीकै थियो। त्यो भाइ एक हातले झ्याको बिट समातेर त्यही लाछीमा उभिएको थियो। त्यो भाइले झ्यालबाहिरबाटै डसना तान्यो। गोजीबाट लाइटर निकालेर निक्कै मिहेनतले त्यसलाई सल्कायो। लाछीको भिरालो छानामा ऊ निक्कै मिहेनतले भियो र दुवै हात आकाशतिर फर्कायो, आकाश तिरै हेर्यो र सक्दो करायो। के भन्यो हल्लाले सुन्ने कुरै भएन। बल्ल लाइटर गोजीमा हाल्यो। अर्को गोजीबाट चुरोट निकाल्यो, चुरोटको फिल्टरपटिको भाग मुखमा हाल्यो र थोरै निहुरिएर त्यही जल्दै गरेको डसनाबाट सल्कायो। त्यही बरण्डाको छानामा भित्तापट्टि अडेस लागेर बस्यो र देब्रे घुँडामाथि दाहिने खुट्टा राख्यो र खुट्टा हल्लायो। चुरोटको लामो सर्को तानेर आकाशतिर उडायो। त्यसलाई देखेर मलाई चैँ यस्तो लाग्यो, ‘त्यहाँ उसले चुरोट होइन सन्तुष्टी पिइरहेछ।’
यो दृश्यले कवितामा सोच्नेलाई कविताका अलङ्कारहरू देखाइरहेको थियो। कथामा आख्यानको गहिराइ बुनिरहेको थियो। निबन्धमा भावहरूको मचान बनाइरहेको थियो। आखिर किन यति पागल थिए सबका सब मान्छेहरू ? सायद उनीहरू वर्षौंदेखिको अपमान सम्झिरहेका थिए। त्यो भाइ पनि त्यही काँडा निकालेर फालिरहेको थियो। हुन पनि नेताहरूले जनतालाई गर्न सक्ने जति अपमान गरिसकेका छन्।
त्यहाँ सबथोक अकस्मात भइरहेको थियो। त्यो डसनाबाट चुरोट सल्काउने भाइले आन्दोलनमा जाँदा ‘त्यसरी नै कम्पाउण्डबाट चढेर त्यहाँ पुग्छु, त्यहाँ डसना हुन्छ, त्यसलाई जलाउँछु र त्यसैबाट चुरोट सल्काउँछु’ भन्ने सोचेको थिएन। आँधी अचानक आउँछ र आँधीमा हरेक क्रियाहरू अचानक हुन्छन्। आँधीले उडाउनुपर्ने मात्रै उडाउँदैन, नउडाउनुपर्ने पनि उडाउँछ। फोहोर बढारिएपछि दृश्यहरू सुन्दर बन्छन्। तर सुन्दर चिज पनि बढारिए दृश्यहरू कुरुप बन्छन्। आँधीले फोहोरसँगै सुन्दरता पनि उढाउँछ।
केपी ओलीको घर दनदनी बलिरहेको थियो। भत्काउनेहरू भत्काइरहेका थिए। घरमा ढुङ्गा हान्नेहरू हानिरहेका थिए। मेरो छेउमै उभिएका भरत कार्की भाइ अचानक कराए ‘ढुङ्गाले भित्र भएका मान्छेलाई लाग्छ है।! उनको आवाज मैले त सुनेँ तर अरु कसले सुने होलान् ?
त्यतिबेला मेरो मनमा बजिरहेको थियो गोपाल योञ्जनको आवाज, ‘म आगो सहन्छु, अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न.......’।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया