बिएल संवाददाता
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागू हुने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।
नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ।
यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो। बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ।
प्रि–ओपन सेसन र सर्किट ब्रेकरमा परिवर्तन
नयाँ विनियमावलीले बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ।
यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ। यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ।
अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ। कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ।
यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि ४, ५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो।
नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ।
लगानीकर्तालाई के फाइदा हुन्छ?
नेप्सेका अनुसार मूल्य दायरा बढेसँगै सेयरको वास्तविक माग र आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत पुग्नेछ।
यसले कृत्रिम रूपमा मूल्य रोकिने समस्या हटाउनुका साथै लगानीकर्तालाई छिटो प्रवेश र बर्हिगमनको अवसर प्रदान गर्नेछ। कारोबारको मात्रा बढ्ने र बजार थप गतिशील हुने विश्वास गरिएको छ।
नियामक निकाय सेबोनले बजारलाई आधुनिक र लचिलो बनाउन यो कदम चालेको भए पनि, बढेको मूल्य सीमाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लगानीकर्ताले सतर्कतापूर्वक लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव विज्ञहरूको छ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया