आइतबार, २६ अक्टोबर २०२५

पहिलो तीन महिनामै अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब नाघ्यो

News Image
• • •

चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो। गत वर्ष असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो।

त्यस्तै, निर्यात व्यापारमा समेत उल्लेखनीय सुधार देखिएको छ। यस वर्ष असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।

आयात–निर्यात दुवै बढे पनि निर्यातको उच्च वृद्धि दरका कारण व्यापार घाटाको वृद्धिदर केही नियन्त्रणमा आएको छ। यस वर्ष असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो। गत वर्ष यो घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो।

निर्यातको योगदान बढ्दै

अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको भन्सार विभागले जनाएको छ।

केवल असोज महिनामा मात्र १ खर्ब ६३ अर्ब रुपैयाँको आयात र २५ अर्ब रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।

विश्लेषकहरूका अनुसार चाडबाडको सिजनका कारण उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक सामानहरूको माग बढ्दा आयातमा वृद्धि भएको हो भने कृषिजन्य र उत्पादनमूलक वस्तुको निर्यातले व्यापार सन्तुलनमा आंशिक सुधार ल्याएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!