
बिएल संवाददाता
विश्व आदिवासी दिवस २०२५ को अवसरमा ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जमा आदिवासी जनजाति आन्दोलनकी अग्रणी नेतृ, सामाजिक अभियन्ता, लेखक तथा संस्कृतिविद बमकुमारी बुढामगरद्वारा लिखित ‘मौला ल घोन’ (स्तम्भको काख) पुस्तकको औपचारिक समिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकका विषयवस्तु, ऐतिहासिक सन्दर्भ तथा साहित्यिक महत्वबारे गहन समीक्षात्मक प्रस्तुति र सुझावहरू प्रदान गरिएका थिए।
समीक्षकका रूपमा डा. लालबहादुर पुन मगर, डा. बालकृष्ण माबुहाङ र सह–प्रा. धनकुमारी थापा बुढाथोकीले फरक–फरक दृष्टिकोणबाट आफ्नो विचार राख्दै पुस्तकले मगर समुदायको सांस्कृतिक पहिचान, सामाजिक चेतना र ऐतिहासिक दस्तावेजीकरणमा पुर्याउने योगदानबारे प्रकाश पारे।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापा मगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगर, त्रिभुवन विश्वविद्यालय किर्तिपुरका पूर्व डिन चित्र बुढाथोकीलगायत विभिन्न संघ–संस्था, भातृ संगठनका प्रतिनिधिहरू, सल्लाहकार, संचारकर्मी तथा साहित्य–साँस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
साहित्यकार नवीन बिभास, उप–प्रा. झकेन्द्र घर्ती मगर तथा अमेरिका निवासी दिपु श्रीस लगायत कार्यक्रममा सहभागी भई पुस्तक र लेखकप्रति आफ्नो शुभकामना व्यक्त गरे।
कार्यक्रमको विशेष क्षणमा आयोजक संस्थाले लेखक बमकुमारी बुढामगरलाई मगर समुदायको संस्कृति, इतिहास र पहिचान संरक्षणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै बधाई तथा सम्मान प्रदान गर्यो।
साथै, कार्यक्रममा उपस्थित सबै अतिथि, समीक्षक र सहभागीहरूलाई हार्दिक आभार व्यक्त गर्दै यस प्रकारका साहित्यिक, सांस्कृतिक र चेतनामूलक क्रियाकलापहरू आगामी दिनमा निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरियो।
‘मौला ल घोन’ पुस्तकलाई समीक्षकहरूले मात्र एक साहित्यिक कृति नभई मगर समुदायको सामाजिक इतिहास, सांस्कृतिक धरोहर र आन्दोलनको जीवन्त अभिलेखका रूपमा लिएको बताउँदै यसको अध्ययनले नयाँ पुस्तामा चेतना जगाउने विश्वास व्यक्त गरे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया