सोमबार, १७ अगस्ट २०२६

जुम्लामा कुटीरो रिसर्च सेन्टरको आयोजनामा ‘सीमान्त साहित्य सम्मेलन’ हुँदै

News Image
• • •

कर्णालीको इतिहास, समाज, संस्कृति, ज्ञान र सिर्जनालाई ‘सीमान्त’ भूगोलको दृष्टिबाट पुनःबहसमा ल्याउने उद्देश्यले कुटीरो रिसर्च सेन्टरले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गर्ने भएको छ।

गोर्खाली राज्य विस्तार अभियानपछि साबिकको सिंगो कर्णाली, राज्यको मूलधारभन्दा टाढाको भूगोलका रूपमा रहँदै आएको र भौगोलिक विकटता, राज्यको कमजोर उपस्थिति, अवसरको असमान वितरण तथा केन्द्रमुखी विकास दृष्टिकोणका कारण यहाँको समाज, संस्कृति, ज्ञान र सिर्जना लामो समयदेखि किनारामा परेको आयोजकको निष्कर्ष छ।

सम्मेलनले साहित्यलाई सिर्जनाको माध्यमका रूपमा नभई सीमान्तमा रहेका समुदायको अनुभव, ज्ञान, संघर्ष, पहिचान र जीवनपद्धति अभिव्यक्त गर्ने माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। सम्मेलनको मूल वैचारिक आधार ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ रहने आयोजकले जनाएको छ।

कुटीरो रिसर्च सेन्टरका अध्यक्ष महेश नेपालीले कर्णालीलाई सधैं समस्या, गरिबी, अभाव र विकटताको आँखाबाट मात्रै हेर्ने भाष्य परिवर्तन गर्न आवश्यक रहेको बताए।

‘कर्णालीलाई अध्ययन गर्ने भूगोल मात्र होइन, विचार निर्माण गर्ने भूगोलका रूपमा स्थापित गर्नुपर्छ। यहाँका मानिसले आफ्नो कथा अरूबाट व्याख्या गराउने होइन, आफ्नै अनुभव, ज्ञान र सिर्जनाका आधारमा आफ्नो कथा आफैँ लेख्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘सीमान्त साहित्य सम्मेलन त्यही बहसको सुरुआत हो।’

उनका अनुसार ‘सीमान्त’ भन्ने शब्द आफैंमा राजनीतिक, सामाजिक र बौद्धिक प्रश्न हो। कुनै भूगोल वा समुदाय कसरी र कसको नीतिका कारण सीमान्त बन्छ भन्ने विषयमा समेत सम्मेलनमा बहस गरिनेछ।

‘सीमान्त हुनु प्राकृतिक अवस्था हो कि राज्यको नीति, शक्ति संरचना र विकासको दृष्टिकोणले निर्माण गरेको अवस्था हो? केन्द्र र सीमान्तबीचको सम्बन्ध कस्तो हुनुपर्छ? अब सीमान्त केन्द्रमा पुग्ने हो कि केन्द्र नै सीमान्ततर्फ फर्किने हो?’ नेपालीले प्रश्न गरे।

कर्णालीलाई राष्ट्रिय विमर्शमा प्रायः गरिबी, अभाव, विकटता र पछौटेपनको पर्यायका रूपमा चित्रण गरिँदै आएको भए पनि यस क्षेत्रमा पुस्तौंदेखि विकसित भाषा, लोककथा, लोकसाहित्य, देउडा, लोकगीत, मौखिक इतिहास, स्थानीय मिथक, कला, हस्तकला, परम्परागत सीप र जीवनपद्धतिको समृद्ध परम्परा रहेको आयोजकको भनाइ छ।

तर ती ज्ञान र सिर्जनाको पर्याप्त दस्तावेजीकरण, अध्ययन र राष्ट्रिय बहस हुन नसकेको आयोजकको ठहर छ। सम्मेलनले यही रिक्ततालाई सम्बोधन गर्ने प्रयास गर्नेछ।

सम्मेलनमा ‘कुन समुदायको कथा लेखिन्छ?’, ‘कसको आवाज साहित्यमा आउँछ?’, ‘कसको ज्ञानलाई ज्ञान मानिन्छ?’ तथा ‘किन केही भूगोल र समुदायका अनुभव राष्ट्रिय विमर्शको केन्द्रमा पुग्न सक्दैनन्?’ जस्ता प्रश्नमाथि बहस गर्ने तयारी गरिएको छ।

त्यस्तै, गाउँघरमा पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका लोककथा, देउडा, लोकगीत, मिथक, मौखिक इतिहास, स्थानीय भाषा, कला तथा परम्परागत ज्ञानलाई नयाँ पुस्ताको सिर्जनासँग जोड्ने विषय पनि सम्मेलनको महत्वपूर्ण हिस्सा रहनेछ।

कुटीरो रिसर्च सेन्टरले सम्मेलनलाई एकदिने औपचारिक साहित्यिक जमघटमा सीमित नगरी कर्णालीमा अध्ययन, अनुसन्धान, चिन्तन, लेखन र विचार निर्माणको दीर्घकालीन अभियानका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।

सम्मेलनमा अनुसन्धानकर्ता, विद्यार्थी, लेखक, साहित्यकार, कलाकार, अध्येता, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार तथा युवालाई एउटै बौद्धिक मञ्चमा जोड्ने प्रयास गरिनेछ। आयोजकका अनुसार यसले कर्णालीमा क्षेत्रगत ज्ञान निर्माणका लागि नयाँ आधार तयार गर्न सक्नेछ।

परम्परागत कला, सीप र ज्ञानलाई संरक्षणको नाममा संग्रहालयमा सीमित गर्नुको सट्टा आधुनिक प्रविधि, बजार र नयाँ पुस्तासँग जोड्ने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राख्नेछ। कर्णालीका परम्परागत सीपलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने, स्थानीय कथालाई नयाँ साहित्यिक विधामा कसरी रूपान्तरण गर्ने, मौखिक इतिहासलाई कसरी अभिलेख गर्ने र स्थानीय भाषालाई डिजिटल माध्यममा कसरी विस्तार गर्ने भन्ने विषयमा समेत विमर्श गरिनेछ।

त्यस्तै, कर्णालीका सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसम्म पुर्‍याउने सम्भावना र चुनौतीबारे पनि छलफल गरिने आयोजकले जनाएको छ। अध्यक्ष नेपालीका अनुसार भौतिक पूर्वाधारले मात्र कुनै भूगोललाई केन्द्रमा ल्याउन सक्दैन।

‘सडक, सञ्चार र भौतिक पूर्वाधार आवश्यक छन्, तर विचार निर्माणको पूर्वाधार पनि उत्तिकै आवश्यक छ। कर्णालीमा अध्ययन गर्ने, प्रश्न गर्ने, लेख्ने र नयाँ विचार निर्माण गर्ने वातावरण बनाउन सके मात्र दीर्घकालीन रूपमा केन्द्र र सीमान्तबीचको दूरी घटाउन सकिन्छ,’ उनले भने।

सम्मेलनले कर्णालीका साथै देशका अन्य सीमान्तकृत समुदायका अनुभव र सिर्जनालाई समेत एउटै विमर्शमा जोड्ने लक्ष्य राखेको छ। साहित्यको केन्द्र र परिधिबीच रहेको दूरी घटाउँदै सीमान्त समुदायका सिर्जनालाई राष्ट्रिय साहित्यिक तथा बौद्धिक बहससँग जोड्नु सम्मेलनको प्रमुख ध्येय रहेको आयोजकले जनाएको छ।

कुटीरो रिसर्च सेन्टरका अनुसार सम्मेलनको मूल उद्देश्य कर्णालीको आवाजलाई कर्णालीमै सीमित नराखी राष्ट्रिय साहित्यिक तथा बौद्धिक विमर्शमा स्थापित गर्नु हो। पाका पुस्ताका अनुभवलाई अरूले मात्र व्याख्या गर्ने होइन, उनीहरू स्वयं आफ्नो इतिहास, वर्तमान र भविष्यबारे बोल्ने तथा लेख्ने वातावरण निर्माण गर्नु सम्मेलनको दीर्घकालीन लक्ष्य हुनेछ।

‘हामी सीमान्तलाई केन्द्रको दयामा निर्भर बनाउने बहस होइन, आफ्नै ज्ञान, सिर्जना र आवाजका आधारमा केन्द्रसँग संवाद गर्न सक्ने बनाउने बहस सुरु गर्न चाहन्छौं,’ नेपालीले भने, ‘कर्णालीको आवाज कर्णालीमै सीमित नरहोस् भन्ने नै सम्मेलनको मूल मर्म हो।’

सम्मेलनको मिति, स्थान, सहभागी तथा कार्यक्रमको विस्तृत विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!