मङ्गलबार, २९ जुलाई २०२५

बिमा कम्पनीसँगको संघर्षमा किसानको जित, तर अझै सुधार आवश्यक

News Image
• • •

 

महेश चैलागाईं

जुम्लाका किसानहरूले महिनौं लामो संघर्षपछि कृषि बिमा रकम भुक्तानी पाउने पक्का भएको छ।

बेमौसमी हिउँ, असिनापानी, पहिरो र कीरा रोगका कारण क्षति बेहोरेका सयौं किसानले बिमा दाबी गरे पनि लामो समयसम्म रकम नपाएपछि जिल्ला भर आन्दोलन चर्किएको थियो।

कृषकहरूले विभिन्न चरणमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मा ध्यानाकर्षण पत्रदेखि बिमा कम्पनीको शाखासम्म धर्ना र ज्ञापनपत्र  बुझाउँदै आएका थिए। 

गत चैत  महिनादेखि सुरु भएको विरोध कार्यक्रम असार महिनामा आएर झनै व्यापक बनाइएको थियो। किसानहरूको प्रतिनिधिमण्डलले काठमाडौं पुगेर बिमा बोर्ड, कृषि मन्त्रालय र बिमा कम्पनीका उच्च पदाधिकारीहरूसँग वार्ता पनि गरेको थियो।

व्यवस्था भए पनि कार्यान्वयनमा चरम लापरवाही

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै कृषि बिमा कार्यक्रम लागू गरेको झण्डै एक दशक बितिसकेको छ। तर, जुम्लाका किसानहरूले भने व्यवहारमै यसको लाभ लिन नसकेको गुनासो गर्दै आएका छन्। बिमा गरिएका बाली नष्ट हुँदासमेत समयमै क्षतिपूर्ति नपाउँदा उनीहरूको आक्रोश रहेको बिमा पहल समितिका उपसंयोजक महानन्द चौलागाईले जानकारी दिए।

कृषक महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक खड्गबहादुर सेजुवालका भन्छन्, ‘सरकारले बिमा गर भन्छ, हामीले गर्‍यौं पनि, तर संकट पर्दा पैसा पाउन महिनौं धाउनुपर्छ। बिमा कम्पनीले बाली जाँच गर्न पनि समयमै मान्छे पठाउँदैनन्।’

बिमा कम्पनीले माने जिम्मेवारी, भुक्तानी प्रक्रिया सुरु हुने

कृषकहरूको दबाब र प्रशासनको पहलपछि अन्ततः बिमा कम्पनीहरूले किसानहरूको बिमित क्षतिपूर्तिको रकम ११ बुँदे सहमति वितरण गर्न सहमति जनाएकाे छ। सहमतिअनुसार भुक्तानी प्रक्रिया एक हप्तामा  पूरा गरिनेछ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदरनाथ शर्मा भन्छन्, ‘कृषकहरूको माग उचित थियो। हामीले बिमा कम्पनीसँग समन्वय गरी तुरुन्त भुक्तानी प्रक्रिया अघि बढाउने सहमति जनाएका थियौं।’

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका, पातरासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, सिंजा गाउँपालिका, कनका सुन्दरी गाउँपालिका, तिला गाउँपालिका र  हिमा गाउँपालिका ५ हजार ३६९ कृषकले स्याउ खेतीको बिमा गरेको स्याउ बिमा पहल समिति समितिका उपसंयोजक चौलागाईले जानकारी दिएका छन्। भने  उनका अनुसार कृषकहरूले १२ लाख १२ हजार ९६० वटा स्याउको बोटको बिमा गरिएको थियाे।

कृषकको जित- तर अझै पनि सुधार आवश्यक

यस घटनाले देखाएको छ कि कृषि बिमाको व्यवहारिक कार्यान्वयनमा अझै ठूलो चुनौती छ। किसानहरूले समयमा क्षतिपूर्ति पाउन नसक्दा बालीको पुनः लगानी, ऋण भुक्तानी, परिवारको जीवनयापन जस्ता आधारभूत पक्षमा असर परेको अनुभव बिमित अबिराज चैतागाईको छ।

कृषक महिला  सुनमाया देवकोटा भन्छिन्, ‘हामीले खेतीलाई जीवन बनाएर बसेका छौं। बिमाको भरमा लगानी गर्‍यौं, तर समयमै पैसा नपाउँदा बच्चाको पढाइदेखि लिएर घरको खर्च टार्न मुस्किल पर्‍यो।’

अब बिमा रकम प्राप्त हुने खबरले कृषकहरूमा आशा पलाएको छ। यद्यपि, आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन सरकारी संयन्त्र, बीमा कम्पनी र कृषकबीच पारदर्शी र जवाफदेही प्रणाली आवश्यक छ भन्ने स्पष्ट देखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!