सोमबार, २२ डिसेम्बर २०२५

यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?

News Image
• • •

हाम्रो मातृभूमिमा अचम्म छ आजकल। जे हुनुपर्ने हो त्यो हुन सकेको छैन र जे नहुनु पर्ने हो त्यो चाहिं निरन्तर भइरहेको छ। खासमा जेनजी पुस्ताका युवाहरूले देशमा व्याप्त भ्रष्टचार विरुद्ध गर्न खोजेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर नेपाली अनुहार भएका नेपाल विरोधीहरूले जुन अराजकता र आतंक मच्चाए त्यसपछि देशमा जे जस्ता घटनाहरू भइरहेका छन् त्यसले सुनौलो बिहानीको हैन कहाली लाग्दो रातकै संकेत गरेको छ।

भइरहेका घटनाक्रमहरूलाई गम्भीर भएर नियाल्ने हो भने नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेलमा परेर अहंकारी, ठग, भगौडा, अराजक र आतंककारीहरूको क्रीडास्थल बन्नेतर्फ अगाडी बढीरहेको स्पष्ट देखिन्छ भने त्यस्ता पात्र र प्रवृतिहरू प्रती धावा बोल्दै राष्ट्रियता, लोकतन्त्र र कानुनी राज जोगाउनु पर्ने दायित्ववोध गर्नु पर्ने आम समाज रमिते बनिरहेको छ। 

आउनुस भइरहेको के छ? हुनुपर्ने के थियो? र के भइरहको छैन? भन्ने प्रश्नको वरिपरी रहेर केही विचार विमर्श गरौँ।

सबैभन्दा पहिला कुरा गरौँ, देशमा भ्रष्टचार नियन्त्रण गर्दै सुशासन कायम गर्न पटक पटक अवसर पाउँदा पनि त्यसको सदुपयोग गर्न असफल भएकोले आम असन्तुष्टि र जनआक्रोश सृजना गराउन भूमिका खेल्ने पुराना दलहरूका नेताहरू आफ्ना कमजोरी स्वीकार गर्दै सच्चिनेभन्दा पनि आफ्नो कमजोरीहरूको जगमा सृजित असन्तुष्टिको जगमा भएको प्रदर्शन र त्यसमा भएको घुसपैठले सृजना गराएको अप्रिय घटनालाई देखाएर आफू उम्कन खोज्दै छन्।

हो जेनजी युवाहरूको आन्दोलनमा घुसपैठ गर्दै जुन आतंककारी घटना भयो त्यो राम्रो भएन। त्यस्तो कर्तुत गर्नेहरूलाई जनताले माफी दिने छैनन् तर त्यसको मतलव जनताले पुराना दलका केही भ्रष्ट नेताहरूलाई चाहिं अब यसै सुनपानी छर्कने छन् भन्ने विल्कुल हैन। तर यो सत्यलाई जानाजान इन्कार गर्दै आफूहरूले ठिक ठाक गरेको थियौं, अब पनि आफूहरू आएर के के नै ठिक गर्ने छौं भन्ने शैलीमा जसरी अहंकार प्रदर्शन भइरहेको छ त्यो अत्यन्त खतरनाक छ।

राज्य संचालनमा रहेर जनताको मनोभावना नबुझ्ने, आफूहरू प्रती जनतामा आक्रोशको आगो बलिरहेको र त्यसलाई दन्काएर देशलाई ध्वंश गर्ने खेल हुन सक्छ भन्ने बुझेर आफूले छोडेर पनि देश जोगाउन समयमै मार्ग प्रशस्त समेत गर्न नसक्नेहरूको दम्भ र अहंकारपूर्ण रफ्तारलाई कहीं कतैबाट वाहवाही हुनु बेठिक हो तर, त्यही भइरहेको छ।

त्यसपछि कुरा गरौँ जो चोर उसैको ठुलो स्वर शैलीमा चलिरहेको अर्को भद्दा मजाकको। विगतमा जसलाई प्रतिस्थापन गर्न भन्दै चुनाव लडेको हो त्यसैसंग चुनाव लगत्तै सरकार बनाउने, एकपटक हैन पटक–पटक त्यसो गर्ने गर्दै गर्दा अनेकन सहकारी ठगीको आरोपहरू छोप्न असमर्थ भइसकेपछि विभिन्न अदालतबाट दोषी ठहर भएर जेल पुगेको सत्य छोप्दै त्यसलाई राजनीतिक रङ्ग दिने, आफू मात्रै राम्रो ठान्ने तर जेल बस्दा पनि पार्टी सत्ता छोडन नसक्ने अनि शान्तिपूर्ण आन्दोलनको दौरान कैयौं युवाहरूले सहादत प्राप्त गरेको समयमा देशमा भयङ्कर आतंककारी हमला भएको मौका छोपेर जालझेल गर्दै जेलबाट भाग्ने पात्र आफूलाई सकारात्मकता र सुशासनको पर्याय दाबी गर्दै हिँडेका छन्।

आफूले अर्कालाई जे आरोप पनि लगाउन पाइन्छ तर आफूप्रती कहीं कतैबाट प्रश्न उठदैन वा उठाउन पाइन्न भन्ने शैलीको यो प्रवृती पनि कम खतरनाक चाहिं छैन। आरोप लागेको मात्रै नभई विभिन्न अदालतले अभियुक्त ठहर गरको सत्य भुलेर धरौटीमा छुटनुलाई चोखिएको ठान्दै डुक्रने प्रवृतिलाई पनि रातो बत्ति बाल्नु पर्ने हो, त्यो पनि हुन सकेको छैन।

अब कुरा गरौँ स्वार्थबाट निर्देशित भगौडा प्रवृतिको जसले पनि हाम्रो समाजलाई दिशाहिन बनाउन भूमिका खेली रहेको छ। मन छोएर सत्य बोल्ने वा लेख्ने जोसुकैले पनि मान्छ र मान्नै पर्छ कि भाद्र २३ गते भ्रष्टचारको विरोध गर्दै सुशासनको पक्षमा माइतिघरमा भेला भएका नव युवाहरू ( जेनजीहरू)को साथमा सिंगो देश थियो। उनीहरूले अगाडी सारेको माग र त्यसलाई पूरा गराउन शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको निर्णयमा आम जनताको समर्थन थियो। 

तर विडम्वना आन्दोलनमै घुसपैठ गर्दै आतंक मच्चाउन चाहने आतंककारीहरूको खेल र त्यसको खेल बुझ्न नसकेकोले उत्पन्न परिस्थितिमा संयनता गुमाएर राज्यले गरेको झेलको कारण धेरै नव युवा युवतीहरूले जीवन गुमाउँदै गर्दा ती बहादुर युवायुवतीलाई सडकमा आउन आव्हान गर्ने एक पात्र चाहिं आफ्नो सुरक्षाको चिन्ताले आन्दोलनमा आएका थिएनन्। उनी कहीं सुरक्षित स्थानमा रहेर कोहोराम हेरिरहेका थिए। उनी एक भगौडा थिए। तर आज तिनै भगौडा केही अरु मानिसलाई साथमा लिएर आफूले भाग नलिएको आन्दोलनको आफूलाई मसिहा ठान्दै अनेकन रोइलो गर्दै छन्।

हुँदा हुँदा उनी त त्यही आन्दोलनको जगमा बनेको सरकारलाई काम चोर भन्ने, आन्दोलन सम्पन्न हुँदै गर्दा भएको सहमती अनुसार चुनाव गराउन सरकार बनेको सत्य भुलेर चुनावको विपक्षमा निरन्तर लागेका छन्। थाहा छैन ती भगौडा जे गर्दै छन् र भन्दै छन् त्यो आफैं गर्दैछन् वा कोही कसैको इशारामा गर्दै छन् तर जे गर्दै छन् त्यो गलत गर्दै छन्। आफूले छोडेर भागेको आन्दोलनको आफूलाई हिस्सेदार मान्नु र सो अनुसार अधिकार खोज्नु जस्तो अनैतिक काम गर्ने भगौडा कदमलाई पनि दुत्कारिनु पर्ने हो तर त्यो पनि त्यत्ति सहि रुपमा हुन सकेको छैन।

अत्यमा चर्चा गरौँ राज्यनै आफ्नो हो कि जस्तो गर्दै अनेकन हुङ्कार गर्दै हिंडेको दृश्य अदृश्य अराजक आतंककारीहरूको। माथि नै लेखेको छु कि विगत सत्तामा रहनेहरूले ठिक ढंगले काम नगरकोले नेपाली जनतामा असन्तुष्टि थियो, जनतामा आक्रोश थियो त्यसैले भ्रष्टचारको विरोध र सुशासनको पक्षमा जो जसले आवाज उठान गर्दा पनि जनता त्यसको साथ हुने अवस्था थियो। त्यसैले जनताको भावना अनुसार जेनजी युवाहरूले गरेको आन्दोलनमा जनताको समर्थन थियो। तर त्यस आन्दोलनमा घुसपैठ गर्दै जुन अराजक र आतंककारी कामहरू गरिए त्यसप्रति जनताको साथ किमार्थ छैन र हुने पनि छैन।

तर यो सत्यका बावजुद पनि जेनजी युवाहरूको आन्दोलनको परिणामको आफूलाई हिस्सेदार बनाउने वा बताउने कतिपय अराजकहरू आज अनेकन हिसाबले आफूलाई शक्तिशाली देखाउन लागेका छन्। त्यसो गर्नेहरू मध्ये कतिपयले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रकै गला घोट्ने सपना देखेका छन् त कतिपयले कानुनी राज हैन जंगली राजको वकालत गर्दै प्रहरी प्रशासनदेखि सरकारको नेतृत्वलाई समेत धम्क्याउने काम गर्दै आएको छ। 

त्यस्तै मध्ये केहीको धम्कीकै कारण जननिर्वाचित संसद भंग हुन गएर आजको संवैधानिक संकट आएको तथ्य पनि भुल्न हुँदै हुँदैन। राज्यलाई संविधान, नियम, कानुनको दायरामा रहेर चलाउनुको साटो आफ्नो डर, धाकधम्कीमा चलाउनुपर्छ भन्ने पात्र र प्रवृती दुवैको व्यापक भण्डाफोर हुनुपर्ने हो तर त्यो पनि हुन सकेको छैन।

समग्रमा भन्नु पर्दा आजको नेपालको यथार्थ के हो भने एकातिर जेनजी युवाहरूले गर्न खोजको शान्तिपूर्ण आन्दोलनको अगुवा भनाउँदा भए पनि आफैं सुरक्षाको कारण देखाउँदै भाग्ने भगौडा फेरी आन्दोलन गर्ने भन्दै हिँडेका छन्। अर्कोतर्फ अनेकन ठगी, जालझेलदेखि गैरकानुनी कामका मसिहा भएर जेल बस्दै गरेको अवस्थामा देशमा नव युवाहरूको निर्मम हत्या भए पश्चात भएको आतंककारी हमलाको मौका छोपेर उल्लास मनाउँदै, हात हल्लाउँदै जेलबाट भागेका पात्र सुशासनको पाठ पढाउन हिंडेका छन्।

अनि अर्कोतर्फ आफ्नो दम्भ, घमण्ड, अहंकारको कारण देश र पार्टीलाई समेत समस्याको भडखालोमा हाल्ने पात्र भएका त्रुटी कमजोरी सुधार्दै अगाडी बढन तयार हुनुको साटो अझै पनि समस्या बल्झाउने ढंगले अभिव्यक्ति दिनमै व्यस्त छन्। त्यसमाथि एकथरि अराजकहरू चाहिं आफूलाई जेनजी आन्दोलनको प्रमुख हिस्सेदार दाबी गर्दै प्रहरी प्रशासनदेखि सरकार प्रमुखलाई समेत धम्क्याउँदै आइरहेका छन्।

कुनै बेला संसद विगठन नभई हुन्न भन्ने आदेश तामेली गर्न मैदानमा खटेका तिनै पात्रहरू आज संसद पुनर्स्थापना गर्दै आफूलाई पनि हिस्सा दिए ठिकै छ भन्दैछन् अर्थात उनीहरू हिजो पनि संविधान समाप्त पार्न खोज्दै थिए र अहिले पनि त्यही फिरादमा छन्। अनि यस्तो सत्यताहरूको बीचमा पनि सबै खाले नकारात्मकता माथि प्रहार गर्दै देशलाई वास्तविक लोकतन्त्र, असली सुशासन र यथार्थपरक कानुनी राजमा फर्काउन सम्पूर्ण जनता जगाउन पर्ने दायित्व छोडेर आफूलाई वुद्धिजिवी र जिम्मेवार नागरिक ठान्नेहरू चाहिं के गर्दै छौं?

अराजक, ठग, अपराधी र अहंकारीहरूकै गतिविधि र खारेजभागी अभिव्यक्तिहरूलाई यो वा त्यो ढंगले ग्लोरीफाई गर्नमै व्यस्त छौं। के यसो गरेर हामीले देशलाई अहंकारी, ठग, भगौडा र अराजक र आतंककारीहरूको क्रीडास्थल बन्न दिन खोजेको हो? हैन भने अब त अती भएन र?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!