पुरानाहरूको मति बिग्रियो; अति गरे । लोकतन्त्रको नाममा दलतन्त्र अझ त्यो पनि तीन दलले सिन्डिकेट नै चलाए । दलको पनि के भन्नु र ? खासगरी तीन ठूला सुप्रिमो ओली, देउवा र प्रचण्डको म्यूजिकल चियर नै चल्यो । अझ गजबको कुरा त यी तीनमध्ये जो कुर्सीमा पुगे पनि प्रधानमन्त्रीको बालुवाटार खोपीमा पुग्ने बिचौलियाको अनुहार उही भयो । देशमा मेरिटोक्रेसीको कत्लेआम गरियो । त्यसको चिहानमाथि उभियो, बिचौलियातन्त्र ।
यो अति थियो । अति भएपछि हुने त उही खती नै हो । त्यही खती हुनु थियो, जेनजी आन्दोलन भयो । जन, धन, सम्पदा, संविधान, मूल्य, मान्यता, आदर्श– सबै सबैको खती भयो ।
त्यसपछि भयो के ?
पुरानो सरकार ढल्यो । रातारात नयाँ नागरिक सरकार बनाउनुपर्ने भयो । संविधान आधा मारियो । संविधानले नै नचिन्ने सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । सरकारले प्रतिनिधिसभा भंग ग¥यो । र, घोषणा ग¥यो, प्रतिनिधिसभाको नयाँ चुनावको ।
चुनावको मिति तोकियो, फागुन २१ गते । नभन्दै तोकिएकै दिन चुनाव भयो । चुनावमा पुरानाको घण्टी बज्ने त निश्चित थियो नै । तर, नयाँका नाममा रास्वपाकै घण्टी यति गजबले बज्छ भन्ने चाहिँ अनुमान बाहिरको कुरा थियो । अरूको त के कुरा भयो र?, स्वयं घण्टी सुप्रिमोलाई यो अनुमान थिएन ।
मतदाताले टिनीनी हैन, टनन नै बजाए, रास्वपाको घण्टी । रास्वपाको घण्टी भन्नु मात्रै, वास्तवमा यो बालेनको घण्टी थियो । यसो भन्दा रैथाने रास्वपालाई बढी लाग्न सक्छ । तर, के चाहिँ सत्य हो भने घण्टी रास्वपाकै भए पनि यसपटकको रालो चाहिँ रवि थिएनन्, बालेन थिए ।
परिणामतः पुराना बिदा भए, नयाँ आए । रास्वपा त बडेमाको भएर आयो नै, हर्क साम्पाङको माटो पनि कोशीमा गजबले मलिलो भयो । कोशीकै मलले श्रम शक्ति पनि राष्ट्रिय पार्टी बन्यो ।
अर्थात्, सबै पुराना नमज्जाले चाउरिए । यसअघि देशको दक्षिणमा फैलिएका सारा मधेशवादी पार्टीको त नामो निशाना पनि रहेन । ती सबैको ठाउँमा एउटै पात्र आए, बालेन । उनलाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्नुपर्छ, मधेशका मतदाताले जानेको कुरा यही मात्र थियो । त्यही गरे ।
त्यसो गर्दा हुने भनेको आजको रास्वपाको साइज हो । रास्वपा २१ बाट १८२ मा पुग्यो । मुसोबाट हात्ती बनेको भन्दा पनि हुन्छ यसलाई ।
यो भनेको के हो ?
एकै शब्दमा भन्दा यो भनेको परिवर्तन हो ।
मतदाताले चाहेकै यही थियो, परिवर्तन । यसका लागि उनीहरूले मन मात्र बदलेका थिएनन्, मत नै बदलेका थिए । लामबद्ध भएर परिवर्तनको पक्षमा उभिए । नभन्दै, परिवर्तनले अभूतपूर्व मतादेश पायो ।
यो भनेको के हो ?
देश जसरी चलेको थियो, त्यसरी नै चलोस् भनेको हो ?
मेरिटोक्रेसी मारेर बिचौलियातन्त्र नै हाबी होस् भनेको हो ?
विधिको शासनको कत्लेआम होस् भनेको हो ?
भ्रष्टाचार दुबो सरी मौलावोस् भनेको हो ?
सुशासनको तेजोबध होस् भनेको हो ?
घुसखोरी, ढिलासुस्ती होस् भनेको हो?
नातावाद, कृपावाद, फरियावादको राज होस् भनेको हो ?
हैन, यी केही पनि होस् भनेको हैन ।
जनताले यी सबैको अन्त्य होस् भनेको हो ।
त्यसका लागि के हुनुपथ्र्यो ?
सबै पुराना दलको राजनीतिक पत्तासाफ हुनुपथ्र्यो ।
पुराना दलका सुप्रिपो पार्टीबाट गलहत्याइनुपथ्र्यो ।
सत्ताको म्युजिकल चियरमा घुम्ने देउवा, ओली र प्रचण्डको बनिबास हुनुपथ्र्यो ।
जेनजी आन्दोलनका सारा हत्याराहरू जेलमा सडिनु पथ्र्यो । त्यो भनेको ओली, उनका गृहमन्त्री, सचिव, प्रहरीका हाकिम र काठमाडौँका सीडीओ त यतिबेला जेलमा हुनुपथ्र्यो ।
के त्यसो भयो त ?
जनताले गर्ने काम त तमाम गरे । तर उनीहरूले मतादेश दिएको सरकारले त्यसो गर्न सकेन ।
सरकारले पहिलो क्याविनेट बैठकबाटै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेर जनतामा आशा जगायो । गृहमन्त्री सुदन गुरूङ एक्सनमा उत्रिए । ओली र उनका गृहमन्त्री लेखक अर्को दिनको घाम पनि देख्न नपाई पक्राउ परे ।
प्रहरीले अदालतसँग हिरासतमै राखेर अनुसन्धान गर्ने समय माग्यो । अदालतले पनि पटक–पटक समय दियो । तर, सर्वोच्च अदालतमा पुरानैबाट भर्ना गरिएकाहरूलाई आफ्ना मालिक धेरै दिन अस्पतालमा बसेको चित्त बुझेन । उनीहरूले अनुसन्धान गर्न पाउने समय हुँदाहुँदै पनि छिटो सक्न ताकेता गरे । अदालतले दिएको समयमा ज्यानमारा भनिएका ओली र लेखकविरुद्ध प्रहरीले मुद्दा नै दर्ता गर्न सकेन ।
ओली टिचिङ अस्पतालको बेडमै बसेर घर फर्के । उल्टै सरकारी पैसामै आफ्नो उपचार पनि गराए । भनाइ नै छ, पापीले मरेपछि पनि दुःख दिन्छ । कार्की आयोगले ज्यानमारा भनेका ओलीले पक्राउ पर्दा पनि जनताले तिरेको करकै पैसा पचाइ दिए ।
बालेन सरकारले देउवा दम्पतीलाई पनि पक्राउ पुर्जी जारी गर्न भ्यायो । एकातिर ओली प्रहरी हिरासतमा, अर्कोतिर देउवालाई पक्राउ पुर्जी, सरकार ठिकै लयमा थियो । यसबाट जनता पनि खुशी थिए । खासगरी बालेन सरकारका गृहमन्त्री सुदन गुरूङको त हाइहाइ भइरहेको थियो ।
यही बीचमा गृहमन्त्री गुरूङको स्रोत बिनाको बतासे सम्पत्ति मात्र सार्वजनिक भएन, उनी पनि पुरानो सत्ताका तरमारा विचौलियाहरूकै संगतबाट लाभान्वित भएका समाचार बाहिरिए । त्यसपछि गुरूङको पद नै गयो । सरकार पनि एकाएक आक्रमकबाट रक्षात्मक गियरमा आइपुग्यो ।
सुदनको मात्र हैन, सरकारका तमाम मन्त्रीहरूको सम्पतिको स्रोत न भरपर्दो देखियो, न पारदर्शी । तर, सुदनको मात्र पद गएको छ, मिडिया ट्रायल नभएका बाँकी बचेकै छन् ।
तर, कतिञ्जेल ?
ढिलोचाँडो बालेन सरकारका लगभग सबै मन्त्रीहरू बतासे अकुत सम्पतिको भरपर्दो र पारदर्शी स्रोत देखाउन नसकेरै जान्छन् । यसले सरकारको छविमाथि गम्भीर क्षति त पुगेकै छ, विश्वसनियतामाथि पनि प्रश्नचिन्ह लागेको छ । जनता भन्न नै थालिसके, ‘आखिर यी नयाँ भनिएका पनि पुराना जस्तै त रहेछन् । जुन जोगी आए पनि कानै चिरेको !’
सरकारको पहिलो महिना बित्यो । यही महिनामा गरिसक्ने भनिएका कतिपय क्यालेण्डर कामहरू पूरा हुने त कुरै छोडौं, सुरु पनि भएका छैनन् । सुरु भएकाहरू पनि सुचारु छैनन् ।
यसो हुनुको पछाडि यो सरकारको काम गराईसँग थुप्रै असङ्गतिहरू छन् । जोस छ, प्रतिशोध छ तर अनुभव छैन । उनीहरूले चाहे अनुसार गर्न सहयोगी नियम, कानुन छैनन् । कर्मचारीतन्त्र छैन । अदालत छैन । प्रहरी प्रशासन छैन । उल्टै चौतर्फी असहयोग बढेको छ, घेराबन्दी बढेको छ ।
सरकारले विश्वविद्यालयमा पेशेवर विद्यार्थी राजनीति बन्द गर्न स्वतन्त्र विद्यार्थी युनियन बन्द गर्ने भन्यो । सिद्धान्ततः स्ववियु विद्यार्थी हकहितका लागि भनिए पनि व्यवहारमा यो संयन्त्रले त्यस्तो काम गर्न सकेको छैन । उल्टै स्ववियु पुराना राजनीतिक दलका विद्यार्थी भातृसंगठनको अखडा बनेका छन् । भ्रष्टाचार र गुण्डागर्दीको जक्सन बनेका छन् ।
क्याम्पसहरूबाट यो रूपको स्ववियु हट्नैपर्छ । जोखिम लिएरै भए पनि सरकारले राम्रो निर्णय गरेको हो । तर, विद्यार्थी संगठन र तिनका माउ पार्टीहरू यसको विरोधमा उत्रिएका छन् । आन्दोलनकै धम्की दिइसके । सरकारले शिक्षकहरूलाई पार्टीगत राजनीतिबाट अलग राख्ने निर्णय ग¥यो ।
सरकारको यो निर्णय धेरै राम्रो निर्णय हो । आज नेपालको सरकारी विद्यालयको गुणस्तर माटोमा मिल्नुको मूलकारण राजनीतिक पार्टीको झोला बोक्ने शिक्षक नै हुन् । पढाउने योग्यता नभए पनि राजनीतिक आडमा नियुक्ति पाउने र नपढाएर पार्टीको झोला बोके पुग्ने अवस्था छ । यस्तो टिठलाग्दो अवस्थामा गुणस्तरीय शिक्षाको गुञ्जायस नै हुँदैन ।
सरकारले कर्मचारीतन्त्रलाई पार्टी राजनीतिबाट मुक्त राख्ने दिशामा पनि महत्त्वपूर्ण निर्णय गरेको छ । निर्णयमा कुनै पनि कर्मचारी पार्टीको संगठित सदस्य हुन नपाउने र कर्मचारी संगठन पनि खोल्न नपाउने भनिएको छ ।
यो पनि स्वागतयोग्य निर्णय हो । दलगत राजनीतिकरणको अतिसिकार भएको नेपालको निजामती कर्मचारीतन्त्रलाई निष्पक्ष, जनमुखी र कामकाजी बनाउन ट्रेड युनियनको काउसोबाट बाहिर निकाल्नपर्छ ।
तर, राजनीतिक दलहरूकै कर्मचारीसम्बन्धी भातृसंगठनहरू यो निर्णयको विरोधमा छन् । उनीहरू एक भएर सरकारलाई निर्णय फिर्ता लिन भनिरहेका छन् । संयुक्त प्रेस विज्ञप्ति नै निकालेर फिर्ता नगरे ठीक नहुने चेतावनी दिइसके ।
सरकारले वर्षौँदेखि किचल्टिएको सुकुमबासी समस्या समाधान गर्न प्रयास ग¥यो । यसका लागि उसले हुकुमबासी र सुकुमबासी छुट्याउन अलि कडा अपरेशन नै चलायो । तत्कालका लागि सुकुमबासीलाई मर्का परे पनि प्रकारान्तरमा यसले उनीहरूकै हित गर्ने हो । यसबाट वर्षौँदेखि राजधानीका महत्त्वपूर्ण सम्पदा कब्जा गरेर बसिरहेका हुकुमबासीले सजाय पाउनै पर्छ ।
सरकारको यो निर्णय पनि विरोध गर्नुपर्ने निर्णय हैन । तर, यसको पनि बिरोध भएकै छ । विरोध गर्नेमा पुराना पार्टीका सुकुमबासी संगठन नै अगाडि छन् । एम्नेष्टी इन्टरनेशनललगायतका संस्थाले मानवअधिकारसँग जोडेर पनि यो विषयको उठान गरेका छन् । यसलाई अन्यथा भन्न मिल्दैन । सरकारले आधारभूत बाससँग जोडिएको यस्तो संवेदनशील निर्णय लागु गर्दा मानवअधिकारको कोणबाट हेर्नैपर्छ ।
सरकारले आर्थिक भ्रष्टाचारमा जोडिएका निजी क्षेत्रका केही डन र बिचौलियालाई पक्राउ गरेको छ । भाग्ने सम्भावना भएका र कतिपय त भागिरहेकालाई नै पक्राउ गरिएको समाचार बाहिरिएको छ । यसबाट निजी क्षेत्रमा एक किसिमको त्रास फैलिएको छ । तर, सही काम गर्नेहरूले डराउने बेला हैन यो । यो त गलत काम गर्नेहरू दण्डित हुँदा सही काम गर्नेलाई सुनौलफ अवसर प्राप्त हुने बेला हो ।
सरकारको यो काम स्वागतयोग्य काम हो । खैरो सूचीमा रहेको नेपाललाई पार लगाउने हो भने यसो नगरी धरै छैन । तर, यो निर्णयको पनि विरोध नै भएको छ । सारा निजी क्षेत्रका संघ–संस्थाहरू एक हुल बाँधेर उनीहरूका डनहरूलाई छुनै पाइन्न भनिरहेका छन् । अरू क्षेत्रका संदिग्धलाई चाहिँ कानूनी प्रक्रिया अगाडि बढाउने क्रममा पक्रन मिल्ने तर धनवानहरूलाई चाहिँ पक्रनै नहुने, यो कस्तो लङ्गडो तर्क हो ?
यसले त सिंगो निजी क्षेत्र नै खराब गर्नेहरूको पक्षमा उभिएको भनेर अप्ठ्यारोमा पर्न सक्छ । त्यसो हैन भने उनीहरूले बढीमा भन्न सक्ने भनेको ‘निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रिया’ मात्र हो । तर विडम्बना निजी क्षेत्र चोरको खुट्टाको कथा दोहोराएर आफ्नै शाख दाउमा लगाइरहेको छ ।
यति मात्र हैन, सरकारले परिवर्तनको गर्न खोजेका अरू पनि थुप्रै कामहरूको सूची बनाउन सकिन्छ । उसले केही नयाँ गरेकै छैन, सबै चुनावी घोषणापत्रमै गर्छु भनेर गरेका वाचा र करारकै काम गरिरहेको छ । उसले गर्नुपर्ने काम पनि यही हो । यसो गर्दा अरू कसैको निहित स्वार्थ पूरा हुन्छ वा हुँदैन, त्यो उसको सरोकारको विषय हैन र हुनु पनि हुँदैन ।
यसरी नै हुने हो, नेपालमा यथास्थितिको अन्त्य र परिवर्तनको सुरुवात । यसैका लागि नै रास्वपा र बालेन सरकारलाई मतादेश प्राप्त भएको हो । त्यो पनि चानचुने हैन, दुई कम दुई तिहाइको । यसको प्रस्ट हेक्का रास्वपालाई त हुनुपर्छ नै, अरूले पनि बिर्सन मिल्दैन ।
तर, सत्य के पनि हो भने यो मतादेश आवधिक हो, मात्र पाँच वर्षको । यही अवधिभित्रै सत्तारूढ रास्वपाले आफ्ना वाचा र करार पूरा गर्नैपर्छ भने विपक्षीले त्यसमा व्यवधान खडा गर्न मिल्दैन । उसले गर्ने भनेको रचनात्मक प्रतिपक्ष धर्म निर्वाह गर्ने मात्र हो । आआफ्नो भूमिकामा को खह्रो उत्रिए, त्यसको मूल्यांकन पनि जनताले नै गर्ने हुन् । त्यसका लागि पाँच वर्षपछि हुने अर्को चुनाव पर्खनै पर्छ, अरू विकल्प हुँदैन ।
सत्तापक्ष होस् वा प्रतिपक्ष, अहिले दुवै पक्षले बुझ्नुपर्ने सत्य के हो भने देश यथास्थितिमै चल्दैन । जनताले आफ्नो निर्णय सुनाइसके । त्यसैले यथास्थितिको मलामी हैन, परिवर्तनको जन्ती हिँडौँ । यसैमा सबैको भलो छ ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया