शुक्रबार, २४ अप्रिल २०२६

‘अब मैले बाबाको मन जित्नुछ’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

‘फूपाजु बित्नुभएको १३ दिन भएको थियो। त्यही कामको लागि आमा र म घर जाँदै थियौं। तर दुभाग्र्यबस् हाम्रो गाडीको दुर्घटना भयो। म गम्भीर घाइते भएँ। तर  मैले आँखै अगाडि आमालाई गुमाएँ’,डेढ दशकअघिको दुर्घटना सम्झिएर सुनिता भावुक भइन्। 

म्याग्दी जानेक्रममा आमालाई गुमाउनु परेको पीडा सम्झदा अहिले पनि उनको मन भारी हुन्छ। गहभरि आँसु बनाउँदै सुनिता सुनाउँछिन्, ‘त्यतिबेला मैले मेरो संसार गुमाएँ।’

२० वर्षको उमेरसम्म सुनितालाई केही कुराको कमी भएन। बुबाआमा र दाइको मायाले पुलपुलिएर हुर्किएकी थिइन्। अनि पढाइमा पनि अब्बल। 

उनलाई लाग्थ्यो, यसैगरी बित्नेछ जिन्दगी, पीर–चिन्ताबिनै। तर सोचेको जस्तो कहाँ हुन्छ र जीवनमा। भइदिन्छ विपरीत। 

२१ वर्षको उमेरमा आमालाई गुमाएपछि उनी छँटाह भइन्। पढाइ बिगारिन् र, दुर्व्यसनकाे बाटाे राेजिन्। 

‘आमालाई गुमाएपछि म डिप्रेशनको सिकार भएँ। औषधि लिन थालें। त्यही औषधि कहिलेदेखि मेरो आदत बन्यो पत्तै पाइनँ’, अहिले उनलाई लाग्छ, ‘त्यो औषधि खाँदाखाँदै म दुर्व्यसनी भएँ।’

आमाको मृत्युले शोकमा डुबेकी सुनिताले दुःख भुलाउन नशा गर्न थालिन्। तर, त्यही नशाले बुबासँगकाे उनकाे सम्बन्भ पनि टाढिदैं गयाे। 

तर, धन्न!

आफन्तले नै उनलाई सुध्रिने माैका दियाे। सुनितालाई सुधार केन्द्रमा राखियाे। त्यसपछि फेरियो ७ वर्ष कुलतमा बिताएको सुनिताको जीवन। 

अहिले उनी ४ वर्ष नशाबिहिन जीवन बिताइरहेछन्। र, लागुऔषध प्रयोगकर्ताहरूलाई नशाबिनाकाे जिन्दगीमा डाेर्याउँदैछिन्।

उनी भन्छिन्, ‘हिजोको दिनमा मैले पनि नशा खाएर हिँडे। मैले के पाएँ? यसले दुःखबाहेक केही दिँदैन। तर आजको दिन म नशा नखाएरै जीवन बिताउन पाउँदा खुसी छु। र, अरूलाई सुधार्ने कोसिस गरिरहेकी छु।’

विगतमा आफूले गरेका गल्तीहरूलाई सच्याएर अघि बढिरहेकी सुनिताको अबको इच्छा भने बुबाको मन जित्नुछ। 

‘मैले गरेको गल्तीको कारण बुबा मसँग रिसाउनुभएको छ। बोलचाल छैन। तर अब मलाई बुबासँग माफी माग्नुछ। उहाँको मन जितेर देखाउनुछ’, सुनिता सुनाउँछिन्, ‘अब मलाई जिन्दगीमा केही गरेर देखाउनुछ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!